काठमाडौं । सहकारी ठगिसम्बन्धी मुद्दा खेपिरहेका गितेन्द्रबाबु (जीबी) राई र रास्वापा सभापति रवि लामिछानेले सञ्चालन गरेको ग्यालेक्सी फोरके टेलिभिजनका सामग्री लिलाम हुने भएकोछ । काठमाडौं महानगरपालिकाले मंगलबार (जेठ १२) महानगरले गोरखा मिडिया नेटवर्क प्रालिका नाममा १५ दिने सूचना जारी गरी लिलाम प्रक्रिया अगाडी बढाएको हो ।
घरधनीलाई बुझाउनुपर्ने बहाल रकम बुझाई टीभीका सामान लैजान सूचनामा भनिएको छ । ग्यालेक्सी फोरके रहेको घरका धनी काठमाडौं–३ का मृगेन्द्रप्रसाद मिश्रले भाडा असुलका निम्ति टीभीका सामान लिलाम गरी पाऊँ भनी महानगरमा निवेदन दिएका थिए । सोहीअनुसार महानगरले प्रक्रिया अघि बढाएको हो ।
गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई हुन् । सहकारी संस्थाको रकम ठगी प्रकरणमा मुछिएका उनी लामो समयदेखि सम्पर्कविहीन छन् । काठमाडौंको बालुवाटारस्थित ग्यालेक्सी टीभी यसअघि नै बन्द भइसकेको छ ।
महानगरले दिएको १५ दिनभित्र घरबहाल रकम बुझाई टीभीका सामान लैजान ‘अन्तिम’ सूचना प्रकाशन गरिएको हो । “यसबमोजिमको समयावधिभित्र कानुनबमोजिम सरसामान नलगेमा काठमाडौं महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५ को दफा ७० बमोजिम लिलाम भई जाने व्यहोरा समेत यसै सूचनामार्फत जानकारी गराइन्छ,” सूचनामा भनिएको छ ।





















