काठमाडौं । दोस्रो संस्करणको ‘एभरेष्ट समिटर्स समिट–२०२६’ अन्तर्गत २६ देशका १७६ सगरमाथा आरोहीलाई सम्मान गरिएको छ ।
एभरेष्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा आज काठमाडौँमा आयोजित कार्यक्रममा विश्वका २६ देशका १७६ सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।
आरोहीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेल, मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, आयोजक संस्था एभरेष्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपाल, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलिया, ट्रेकिङ एजेन्सीस् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेलगायतले सम्मान गरेका हुन् ।
कार्यक्रममा पर्यटनमन्त्री पौडेलले सगरमाथा आरोहीहरूको साहस र दृढ सङ्कल्पको प्रशंसा गरे । उनले सुरक्षित र दिगो पर्वतीय पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताए ।
मन्त्री पौडेलले आरोहीको सुरक्षामा सुधार, आपत्कालीन उद्धार प्रणालीको सुदृढीकरण र स्थानीय हिमाली समुदायको आर्थिक सशक्तिकरणलाई विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । उनले हिमालय क्षेत्रमा देखिएका जलवायु परिवर्तनका गम्भीर असरप्रति चिन्ता व्यक्त गरे ।
उनले हिमनदी पग्लिने क्रम, जैविक विविधताको ह्रास र बढ्दो फोहोर व्यवस्थापनका चुनौती थपिँदै गएको बताए । हिमालयको संरक्षण नेपालको मात्र नभई सम्पूर्ण विश्वको साझा उत्तरदायित्व भएको उनको भनाइ थियो ।
कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथाको ३२औँ पटक आरोहण गरेर विश्व कीर्तिमान राख्ने कामीरिता शेर्पा, सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने महिला लाक्पा शेर्पालगायत विभिन्न देशका आरोहीलाई सम्मान गरिएको थियो ।




















