लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु भनेकै भविष्यको रक्षा गर्नु हो : अध्यक्ष ओली

लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु भनेकै भविष्यको रक्षा गर्नु हो : अध्यक्ष ओली

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न सकिए मात्र जनताको अवस्थामा परिवर्तन आउने बताएका छन् ।
गणतन्त्र दिवशको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले विभिन्न नाममा लोकतान्त्रिक संस्थाहरुलाई कमजोर पार्दा समाज बलियो नहुने उल्लेख गरेका छन् ।

अध्यक्ष ओलीले लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराका बीचको भिन्नतालाई समाजले तत्काल होइन जीवन भोगाइको नतिजामा बिस्तारै थाहा पाउने बताएका छन् । ‘जनताको निराशाबाट लाभ लिन संस्थामाथी अविश्वास रोप्ने र भावनालाई दुरुत्साहन गरेर लोकतान्त्रिक संरचनालाई कमजोर बनाउने प्रवृतिबाट लोकतान्त्रिक अधिकार कमजोर बन्ने तथा अधिनायक तन्त्र हुर्कने जोखिम रहन्छ’ अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।

‘संविधान,संसद,न्यायपालिका र स्वतन्त्र प्रेसको अधिकार क्षेत्रको अनतिक्रम्यता र रक्षा नै यसबेला समग्रमा हाम्रो गणतन्त्रको रक्षा हो,’ उनले भने ।

१८ वर्ष अघिनेपालीले आफैं निर्वाचित गरेको संविधानसभाले गणतन्त्र घोषणा गरेको स्मरण गर्दै अध्यक्ष ओलीले जनताको लामो संघर्ष र बलिदानीबाट हुकुमबाट चल्ने प्रणाली फ्याँकेर कानुनबाट चल्ने प्रणाली स्थापना गरिएको उल्लेख गरेका छन् । अध्यक्ष ओलीले गणतन्त्र प्राप्तीको संघर्षमा शाहादत भएकाहरुप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

“आज गाउँगाउँमा पुगेको स्थानीय सरकार र राज्यको साधनस्रोत, राज्यका हरेक तहमा बढेको महिला, दलित, जनजाति, मधेशी र पिछडिएको समुदायको प्रतिनिधित्व र सहभागिता, खुला अभिव्यक्ति, नागरिक स्वतन्त्रता, सेवामा डिजिटल पहुँच, सडक र सञ्चारको विस्तार( यी सबै परिवर्तन आकस्मिक रूपमा आएका होइनन्। यी सबै गणतन्त्रका उपलब्धि हुन्,” अध्यक्ष ओलीले भने ।

लोकतन्त्रका यी संस्थाहरू कमजोर भए भने कुनै पनि समाज बलियो रहँदैन, जनताले सुख पनि पाउँदैनन् । तसर्थ, लोकतान्त्रिक गणतन्त्रका यी अङ्गहरूको रक्षा गर्नु भनेको हामी सबैको भविष्यको रक्षा गर्नु हो। गणतन्त्र दिवसको यस पवित्र दिनमा उद्वेलित नभइकन, शान्त मनले लोकतन्त्र प्राप्तिका लागि गरिएका कठोर संघर्ष सम्झन र लोकतन्त्र कमजोर भयो भने भविष्य कस्तो होला भनेर चिन्तन गर्न अध्यक्ष ओलीले सबैमा आह्वान गरेका छन् ।

Logo