काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व, शिक्षा, उद्यमशीलता र सामाजिक योगदानमा सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।
आठौँ राष्ट्रिय महिला अधिकार दिवस, २०८३ को अवसरमा आज देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा हार्दिक बधाइसहित सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उनले सो आवशयकता औँल्याउनुभएको हो ।
उपराष्ट्रपति यादवले महिलामाथि हुने सबै प्रकारका हिंसा, विभेद र असमानताविरुद्ध सामूहिक आवाज उठाउने अवसरका रूपमा पनि यस दिवसलाई लिन सक्नुपर्ने उल्लेख गर्दै संविधानमा उल्लेखित लैङ्गिक समानताका प्रावधानलाई व्यवहारमा उतार्न तथा सामाजिक चेतना फैलाउन यो दिवसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
उपराष्ट्रपति यादवले भनेका छन्, “महिला अधिकारको प्रत्याभूतिबिना समाजको समान विकास सम्भव छैन, शिक्षा, स्वास्थ्य, सीप विकास, आर्थिक स्वतन्त्रता, राजनीतिक सहभागिता, कानुनी सुधार र नेतृत्वमा महिलाको सम्मानजनक उपस्थिति सुनिश्चित गर्न सरकार, नागरिक समाज तथा सबै क्षेत्रबीच सहकार्य अपरिहार्य छ ।”
सम्पत्तिमा समान हक, स्थानीय तहमा महिलाको अनिवार्य प्रतिनिधित्व, राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिलाको सहभागिता तथा समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा एक तिहाइ महिलाको सुनिश्चितता, यी संवैधानिक व्यवस्थाले महिलाको अधिकारलाई संस्थागत बनाएको उपराष्ट्रपति यादवको भनाइ छ ।





























प्रतिक्रिया