काठमाडौं । छेउको गतिविधि पत्तै नहुने गरी जो पनि मोबाइलमा एकोहोरिएको देखिन्छ । घुमफिर, सामान्य गफगाफ र योजनाविहीन भेटघाट मानिसको भावनात्मक स्वास्थ्यका लागि महत्त्वपूर्ण हुन्छन् । आफ्ना मान्छेहरूसँग हामी खुलेर बोल्न, व्यवहार गर्न र आफूलाई अभिव्यक्त गर्न पाउँछौं, यसले मन हल्का बनाउन मद्दत गर्छ ।यस्तो प्रवृत्ति बुझाउन अंग्रेजी शब्दकोशमा हालै एउटा नयाँ शब्द थपिएको छ– ‘फबिङ’ । ‘फोन’ र ‘स्नबिङ’ शब्द मिलाएर बनाइएको यो शब्दको अर्थ हो– आफूछेउका मानिसको वास्तै नगरेर सम्पूर्ण ध्यान स्मार्टफोनमा केन्द्रित गर्नु ।
झट्ट हेर्दा, फबिङ सामान्य डिस्ट्र्याक्सन वा मानिस फोनमा अलमलिएजस्तो मात्र लाग्छ । यो त्यति ठूलो समस्या होइन भन्ने लाग्न सक्छ । तर, साना–साना यस्ता घटनालाई समग्रमा जोडेर हेर्दा यसले समाजको बृहत् र मिहिन परिवर्तनलाई प्रतिबिम्बित गरिरहेको पाइन्छ । यो परिवर्तन हो– मानिसहरूले सार्वजनिक स्थलमा एकले अर्कालाई दिने ध्यान (अटेन्सन) अब स्वतः स्फूर्त वा सामान्य कुरा रहेन । मानिसहरूको ध्यान मोबाइल स्क्रिन र अर्को मानिसमा आधा–आधा रूपमा बाँडिएर प्रकट हुन्छ । धेरैजसो अवस्थामा त्यो ध्यान पूर्ण रूपमा मोबाइलको स्क्रिनभित्रै हराइसकेको हुन्छ ।
तीनकुनेमा ‘आर्या खाजा घर’ सञ्चालन गर्ने अर्जुन कँडेलले विगत पाँच वर्षमा ग्राहकको व्यवहारमा ठूलो परिवर्तन देखेका छन् । ‘पहिले मानिसहरू यहाँ खाजा खान मात्र होइन, गफगाफ गर्न र नयाँ सम्बन्ध बनाउन आउँथे,’ उनी भन्छन्, ‘तर अहिले त्यस्तो कमै हुन्छ । मानिसहरू सँगै बसे पनि एकअर्कासँग हुँदैनन् । पहिले–पहिले मानिसहरूको गुनगुन, हाँसो र ठट्टा सुनिन्थ्यो भने अहिले रिल्स र टिकटकको आवाज सुनिन्छ ।’ उनका अनुसार सामाजिक सञ्जालले सञ्चार सजिलो बनाए पनि मानवीय सम्बन्धलाई असर पुर्याएको छ ।’
यो परिवर्तन शिष्टाचार वा अलमलको विषय मात्र होइन । यसले मानिसहरू कसरी सँगै बस्छन्, कति गहिरोसँग एक–अर्कालाई सुन्छन् र कति सजिलै टाढिन्छन् भन्ने दैनिक अन्तर्क्रियाको स्वरूपलाई नै फेरिरहेको छ । यसले मानवीय सम्बन्धमा मात्र असर गरेको छैन, कतिपय अवस्थामा असुरक्षासमेत निम्याइरहेको छ ।
इन्स्टाग्राममा ‘लाइफ एज क्रि’ नामक प्रयोगकर्ताले जेठ १० मा एउटा भिडियो सार्वजनिक गरेकी थिइन् । त्यसमा उनले आफू सवार याङ्गो चालकले मोबाइलमा एकपछि अर्को रिल्स स्क्रोल गर्दै मोटरसाइकल गुडाइरहेको देख्छन् । ती चालकको ध्यान सडक र स्क्रिनबीच बाँडिएको थियो । ‘लगभग २५ मिनेटसम्म रिल्स, टिकटक र युट्युब सर्ट्स हेर्दै सवारी चलाए । कैयौं पटक झन्डै दुर्घटनामा परियो । पटक–पटक चेतावनी दिँदा पनि बेवास्ता गरे । यात्राको अन्त्यतिर त लापरबाही झनै बढ्यो,’ उनले क्याप्सनमा लेखेकी छन् ।
एक दशकअघि नेपालमा लोडसेडिङ उत्कर्षमा छँदा सामाजिक जीवन फरक ढंगले चल्थ्यो । मानिसहरू छतमा बसेर छिमेकीसँग कुरा गर्थे, नजिकैको चोकमा राजनीति छलफल हुन्थ्यो अनि परिवारका सदस्यहरू मैनबत्ती वा बत्तीको वरिपरि बसेर गफ गर्थे । पहिला–पहिला बेलुका काम सकेपछि कथा र अनुभव साटासाट हुन्थ्यो । गाउँका चौतारी र चोकमा समाचार, विचार र दैनिक जीवनबारे कुरा हुन्थ्यो । अहिले धेरै कुरा स्क्रिनभित्र सरेका छन् : लेखक तथा समाजशास्त्री रामेश्वरी पन्तलेखक तथा समाजशास्त्री रामेश्वरी पन्तले भने ।
स्मार्टफोनले मानिसलाई आफैं मात्र केन्द्रित गराएको छ । ‘परिवारका सदस्य एउटै कोठामा बसे पनि एकअर्कासँग कुरा गर्ने समय हुँदैन,’ उनी भन्छिन्, ‘पहिला–पहिला बेलुका काम सकेपछि कथा र अनुभव साटासाट हुन्थ्यो । गाउँका चौतारी र चोकमा समाचार, विचार र दैनिक जीवनबारे कुरा हुन्थ्यो । अहिले धेरै कुरा स्क्रिनभित्र सरेका छन् ।’
विशेषगरी साना बालबालिकालाई फकाउन वा शान्त राख्न अभिभावकले नै मोबाइल दिने बानीले उनीहरूमा संवाद गर्ने उत्साह हराउँदै गएको पन्तको बुझाइ छ । बालबालिकामा अभिभावकसँग कुरा गर्ने उत्साह घट्दै गएको र अभिभावकसँग पनि कथा, लोककथा वा रमाइला अनुभव सुनाउने समय नभएको उनी बताउँछिन् । पन्तका अनुसार यसले बालबालिकालाई अग्रजको ज्ञान र जीवन अनुभवबाट टाढा पारिरहेको छ ।
मूल रूपमा भन्दा, ‘फबिङ’ ले हामीलाई अल्मल्याउने मात्र नभई यसले हामी सँगै हुँदा महसुस हुने सामीप्यता, आत्मीयता र शान्त पलहरूलाई भित्रभित्रै परिवर्तन गरिरहेको छ ।





























प्रतिक्रिया