भुटानको जेलमा १८ वर्ष बिताएका दुई शरणार्थीले नेपाल छिर्न पाएनन्

भुटानको जेलमा १८ वर्ष बिताएका दुई शरणार्थीले नेपाल छिर्न पाएनन्

केन्द्रबिन्दु
36
Shares

झापा । सन् १९९२ मा भुटानी शासकले लखेट्दा चतुरमान तामाङ ६ र हस्तबहादुर राई ८ वर्ष हाराहारीका थिए । उनीहरूलाई त्यतिबेला भुटानी शासकले लखेट्दा नेपाल पसेको यादहरू धमिलो गरी मात्रै सम्झना छ । ‘अलि अलि थाहा पाउँछु’, हस्तबहादुर सम्झिन्छन्, ‘भारतका गाडीहरूले मेची खोलामा छाडेर गएका थिए ।’

चतुरमानलाई त त्यो पनि सम्झना छैन । भुटानबाट खलेटिएका नेपालीभाषीहरूलाई पहिला माई खोलाको किनारमा राखिएको थियो । पछि टिमाई, खुदुनाबारी, बेलडाँडी, पथरी शनिश्चरेलगायत झापा–मोरङका शिविरमा राखियो ।

नेपाल आएपछि तामाङ र राई छिमेकीका रुपमा बसेकाले शिविरकै स्कुल सँगै पढे । यद्यपि, स्वदेश फिर्ती अभियान र आन्दोलनका कारण धेरै पढ्न सकेनन् ।

सन् २००८ तिर पुरानो थातथलो खोज्दै उनीहरू भारतीय सीमानाकामा तैनाथ एसएसबीको आँखा छलेर भुटान सीमा नजिक पुगे । तर, भुटानी सुरक्षाकर्मीले साम्झाङ भन्ने ठाउँबाट दुवैलाई गिरफ्तार गर्यो । त्यसयता उनीहरू छाम्गाङ केन्द्रीय जेलमा थिए । जेल परेपछि परिवारसँग उनीहरूको सम्पर्क टुट्यो । सन् २०१६ सम्म त परिवारका सदस्यहरू कहिले काही भेट्न आउँथे । त्यसपछि उनीहरूले कसैलाई भेट्न पाएका छैनन् ।

पछि थाहा पाए नेपालमा रहेका सबै आफन्त अष्ट्रेलिया र अमेरिका पुर्नवास भइसकेछन् । त्यसपछि त परिवारको सम्बन्ध सात समुद्रपारि नै पुग्यो । हस्तबहादुरकी बहिनी दिदी अष्ट्रेलियामा छन् । उनीहरूले आफन्तमार्फत परिवारको तस्बिर हस्तबहादुरलाई पठाएका थिए । सम्झनाको त्यही कोसेली बोकेर उनी बेलडाँगी फर्किएका थिए । तर, नेपाल नजिकैको पानीटंकीबाट उनी निरास बनेर फर्किए ।

सोमबार उनीहरू १८ वर्ष ६ महिना पछि छुटे । जेलबाट छुटेपछि उनीहरू कहाँ जाने ? कता जाने भनेर रनभुल्ल परेका थिए । दिउँसो १ बजेतिर भुटानी सुरक्षाकर्मीले गाडीमा बस्न भने । उनीहरू लुरूक्क पर्दै बसे । गाडी हुइकियो भारततिर ।

सीमावर्ती जयगाउँ पुगेपछि उनीहरूलई भुटानी सुरक्षाकर्मीले गाडीबाट ओराल्दै भने, ‘बिर्सिएर पनि फर्किएर भुटान नआउनु नत्र फेरि जेलमा कोचिन्छौ ।’ उनीहरूले ‘हुन्छ’ भन्ने आसयमा टाउको मात्रै हल्लाए ।

जयगाउँ बजारमा नेपाल सीमातिर आउने गाडी लागिरहेको थियो । त्यसैमा उनीहरू चढे । सोमबार राति बागडोग्रा नजिकै आएर एउटा होटलमा बसे । मंगलबार विहानै उनीहरू कुम्लोकुटुरोसहित नेपाल नजिकैको सीमावर्ती बजार पानीटंकी ओर्लिए । सीमामा तैनाथ भारतीय अर्ध सैनिक वल (एसएसबी)ले नेपाल छिर्न दिएन । किन कि उनीहरूसँग परिचय खुल्ने कुनै कागजात थिएन ।

सीमा वारपार गर्न ‘आइडी भेरिफिकेसन’ अनिवार्य छ । एसएसबीले नाकाबाटै फर्काएपछि उनीहरू पुगे रानीगञ्ज अध्यागमन कार्यालय पानीटंकी । त्यहीको खुला मैदानमा दिनभरी नेपाल फर्किने आशामा बसे । तर, अध्यागमनका प्रमुख गौतम विश्वासले कुनै देशको परिचय नखुल्ने व्यक्तिलाई आफूले सहयोग गर्न नसक्ने जनाए ।

झापाको बेलडागी शिविरका सचिव सन्चहाङ सुब्बासँग पनि उनीहरूले पानीटंकीबाटै सम्पर्क गरे, शिविर आउने वातावरण मिलाइ माग्न । तर, सन्चहाङले बिना कागजातका मान्छेहरूलाई बुझ्न नमिल्ने बताए । उनले भने, ‘भुटानी जेलले छाडेको प्रमाण लिएर आउनुस् रिसिभ गर्न म आफै आउँछु ।’

सुब्बाले यसो भनेपछि दुवैजना मंगलबार साँझ भुटानतिरै फर्किने निधोमा पुगे । त्यसअघि भारतको अध्यागमना कार्यालयका प्रमुख विश्वासलाई उनीहरूले एउटा निवेदन बुझाए । निवेदनमा लेखिएको थियो, ‘हामीसँग कुनै कागजात नभएकाले नेपाल जान सकिएन । अब पुनः भुटानतिरै फर्किन्छौँ । बाँचे फर्किउला ।’

झापाका सहायक प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले भुटानी नागरिकलाई राहदानीबिना प्रवेश गर्न नमिल्ने बताएपछि उनीहरू थप निरास बने । न्यौपानेले भने, ‘अध्यागमनको प्रक्रिया पुरा नगरी उनीहरू नेपाल प्रवेश गर्न मिल्दैन ।’

१८ वर्ष ३ महिना भुटानी जेलमा बिताएका दुईजना राजबन्दी घर फर्किने बाटो खोज्दाखोज्दै थाकेर साँझ पुनः भुटानतिरै फर्किएका छन् । ‘भुटान पुलिसले फर्किएर नआउनु भनेको छ, तर अब जाने ठाउँ छैन’, मधुमेहका बिरामी चतुरमान भन्छन्, ‘मरे मरियोस् बरू भुटानै फर्किन्छौँ ।’

Logo