नेपालमा मनसुन भित्रिन केही दिन लाग्ने

नेपालमा मनसुन भित्रिन केही दिन लाग्ने

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपालमा मनसुन भित्रिने औसत मिति आज अर्थात् जुन १३ तारिख हो। तर बर्खायाम ल्याउने मनसुनी प्रणाली ठ्याक्कै यही दिन प्रवेश गर्दैन। कि केही दिन अघि, कि केही दिन पछि मनसुन सुरु हुने गरेको छ।

यस वर्ष नेपालमा मनसुन औसत मितिभन्दा केही दिन ढिला भित्रिने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार मनसुन जुन १६ तारिखसम्म नेपाल प्रवेश गर्ने सम्भावना छ।

‘तर अहिले हामी अध्ययनकै क्रममा छौँ’, उनले भने, ‘अहिलेसम्म मनसुन भित्रिने ठ्याक्कै मिति तोक्ने अवस्था भइसकेको छैन। तैपनि जुन १५/१६ तारिखतिर भित्रिन्छ कि भन्ने अनुमान गरेका छौँ।’

त्यसो त नेपालमा शुक्रबारदेखि नै पूर्वी वायुको आंशिक प्रभाव सुरु भइसकेको छ। पूर्वी वायुलाई नै मनसुनी वायु भनिन्छ। तर त्यसले मनसुनको मापदण्ड पूरा गरिनसकेकाले मनसुन भित्रिएको घोषणा गर्न नमिल्ने मौसमविद् पुडासैनीको भनाइ छ।

‘मनसुन भित्रिएको घोषणा गर्न त्यसका विभिन्न मापदण्ड पूरा हुन पर्छ, अहिले त्यो भइसकेको छैन’, उनले भने। भारतमा पनि यस वर्ष मनसुन औसत मिति (जुन १) भन्दा तीन दिन ढिला जुन ४ मा भित्रिएको छ।

सामान्यतया भारतमा मनसुन भित्रिएको १२/१३ दिनमा नेपाल आइपुग्ने गरेको छ। तर सधैँ यसै हुन्छ भनेर ठोकुवा भने गर्न नसकिने मौसमविद् बताउँछन्। गत वर्ष २०८२ मा भने नेपालमा मनसुन औसत मितिभन्दा १५ दिनअगाडि नै मे २९ तारिखमा प्रवेश गरेको थियो।

नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो। गत वर्ष नेपालबाट मनसुन औसत मितिभन्दा ८ दिन ढिला अक्टोबर १० तारिखमा बाहिरिएको थियो।

नेपालमा मनसुन अर्थात् बर्खा ४ महिना- जुन, जुलाई, अगस्ट र सेप्टेम्बरसम्म रहन्छ। मनसुन सकिएपछि पोस्ट-मनसुन सुरु हुन्छ। यो सिजन २ महिना- अक्टोबर र नोभेम्बरसम्म रहन्छ।

मार्च १ देखि प्रि-मनसुन लाग्छ। प्रि-मनसुन ३ महिना-मार्च, अप्रिल र मेसम्म रहन्छ। यद्यपि मनसुन नभित्रिँदासम्म प्रि-मनसुन नै रहेको मानिन्छ। मनसुन सुरु भएपछि यो सिजन अन्त्य हुन्छ।

मौसम महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वी वायुको समेत आंशिक प्रभाव छ। सोहीकारण देशका विभन्न ठाउँमा वर्षा भइरहेको छ।

काठमाडौँ उपत्यकामा मौसम बदली र वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि काठमाडौँ उपत्यकाका कतै कतै पानी पर्ने क्रम जारी छ।

Logo