काठमाडौं । यस वर्षको मनसुन प्रणाली आज नेपालमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गएराती जुन १९ गतेदेखि कोशी प्रदेशको केही भूभागमा मनसुन प्रवेश गरेको छ ।
विभागका अनुसार मनसुन हाल कमजोर अवस्थामा रहेको र देशका अन्य भूभागमा बिस्तार हुन अझै केही दिन लाग्ने देखिन्छ । नेपालको पूर्वी भू भागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ तारिख हो । यस वर्षको मनसुन सरदर भन्दा ६ दिन ढिलो गरी प्रवेश गरेको छ।
हाल नेपालको कोशी प्रदेशका केही भू-भागमा मनसुनी प्रभाव रहेको छ र अन्य भू-भागमा स्थानीय वायू तथा पूर्वीय वायूको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
त्यस्तै कोशी प्रदेशका तराई भू-भागका केहि स्थानमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।
आज राती मधेश प्रदेशमा एक-दुई स्थान र कोशी प्रदेशको तराईका केहि स्थानहरूमा मेघगर्जनसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।






























प्रतिक्रिया