सिन्धुपाल्चोक । तातोपानी नाका हुँदै अवैध रूपमा भित्र्याइएको करिब २ करोड ६९ लाख ५० हजार रुपैयाँबराबरका ७ हजार ७ सय थान भेप (विद्युतीय चुरोट) प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार सोमबार बाह्रबिसे नगरपालिका–३ खाग्दलस्थित इलाका प्रहरी कार्यालय बाह्रबिसेको टोलीले गोप्य सूचनाका आधारमा तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको प्रदेश ०३–००१ च १२२९ नम्बरको बोलेरो गाडी जाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याइएको भेप फेला पारेको हो।
इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक कृष्ण खड्काका अनुसार बरामद गरिएका ७ हजार ७ सय थान भेपको अनुमानित बजार मूल्य २ करोड ६९ लाख ५० हजार रुपैयाँ रहेको छ। उक्त बोलेरोका चालक जुगल गाउँपालिका–४ निवासी ३६ वर्षीय रामकुमार श्रेष्ठलाई पक्राउ गरिएको उनले बताए।
पक्राउ परेका व्यक्ति, बरामद सामान तथा सवारीसाधनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि तातोपानी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भन्सार छली गरी अवैध रूपमा सामान ओसारपसार गर्ने कार्यले राज्यको राजस्वमा क्षति पुर्याउनुका साथै संगठित अपराधलाई समेत प्रोत्साहन गर्ने भएकाले यस्ता गतिविधिविरुद्ध निगरानी बढाइएको छ।
यसअघि पनि तातोपानी नाका हुँदै भित्र्याइएका ठूलो परिमाणका भेप विभिन्न स्थानबाट बरामद भएका थिए। तर ती घटनामा संलग्न मुख्य व्यक्ति वा सामानका वास्तविक मालिक पहिचान हुन सकेका थिएनन्। पछिल्लो बरामदले सीमावर्ती नाकामार्फत हुने अवैध व्यापार अझै नियन्त्रणमा आउन नसकेको देखिएको छ।
चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी हुँदै पछिल्लो समय भन्सार छली गरी विद्युतीय चुरोटलगायत विभिन्न सामान अवैध रूपमा भित्र्याउने प्रयास बढ्दै गएको भन्दै सुरक्षा निकायले निगरानी कडा बनाएको जनाएको छ। यसअघि यही जेठ २ मा ५६ लाख ७० हजार रुपैयाँबराबरका १ हजार ६२० थान भेपसहित ७ जनालाई नियन्त्रणमा लिएको थियो ।
चिनियाँ जंगल क्षेत्र छिचोल्दै भोटेकोशी गाउँपालिका–३ बोक्चेन हुँदै कोदारी राजमार्गको दशकिलो निस्कने भित्री बाटो प्रयोग गरेर भेप ल्याउने मार्ग भेप तस्करको रोजाइमा परेको देखिन्छ ।





























प्रतिक्रिया