हत्या अरोपमा एमाले पूर्वसांसद कोइरीलाई ५ वर्ष कैद

हत्या अरोपमा एमाले पूर्वसांसद कोइरीलाई ५ वर्ष कैद

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । उच्च अदालत जनकपुरले मधेश आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी थमन विकलाई सांघातिक आक्रमण गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई ५ वर्ष कैद सजाय तोकेको छ ।

कामू मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले केही आरोपितहरुलाई सफाई दिने भनी जिल्ला अदालतले गरेको फैसला उल्ट्याउँदै कोइरीको हकमा पाँच वर्ष कैद सजाय हुने फैसला गरेको हो । जिल्ला अदालत महोत्तरीले मंसीर, २०८० मा कोइरी सांसद पदमा बहाल रहेका बेला उनी लगायतलाई आरोपबाट सफाई दिएको थियो

मधेश आन्दोलनका बेला २५ भदौ २०७२ महोत्तरीमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । त्यसक्रममा सशस्त्र प्रहरी बलका असई थमन विकलगायत सख्त घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि एम्बुलेन्समा राखेर जिल्ला अस्पताल जलेश्वर लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जनकपुर लगिदै गर्दा उनको हत्या भएको थियो ।

हत्याको आरोपमा पक्राउ परेकाहरुले आक्रमणमा संलग्नहरु रहेको भनी लक्ष्मी महतो लगायतको नाम समेत लिएका थिए । मुद्दा चलेपछि महतो फरार भए, फरार अवस्थामा नै उनी एमालेमा प्रवेश गरे र महोत्तरी–१ बाट २०७९ सालमा सांसद निर्वाचित भए । एमालेले कोइरीलाई गत फागुनको निर्वाचनमा पनि महोत्तरी–१ मा उनलाई उम्मेदवार बनाएको थियो, तर उनी पराजित भएर तेस्रो स्थानमा पुगेका थिए ।

Logo