पाल्पाको रम्भाका १५ जना स्मार्ट आमालाई सम्मान

पाल्पाको रम्भाका १५ जना स्मार्ट आमालाई सम्मान

केन्द्रबिन्दु
21
Shares

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाले १५ जना स्मार्ट आमालाई नगदसहित सम्मान गरेको छ । पाँचवटै वडाबाट तीन जनाका दरले १५ जनालाई नगद १० हजार, सम्मानपत्र, दोसल्ला, हाते झोला, स्वास्थ्य सामग्रीसहित सम्मान गरिएको हो ।

कार्यक्रमअन्तर्गत हुँगी, फोक्सिङ्गकोट, पिपलडाँडा, हुमिन, ताहुँका स्वास्थ्य संस्थाबाट सिफारिस गरेको स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद अर्यालले बताए । उत्कृष्ट आमाका साथै पाँचवटै स्वास्थ्य चौकीका फोकल पर्सनलाई समेत सोही अवसरमा सम्मान गरिएको उनले बताए । पोषणमैत्री स्थानीय शासन कार्यान्वयनका लागि हजार दिनका आमाहरूलाई १६ वटा सूचकहरूमा रहेर कार्य निर्देशिकाले तोकेबमोजिम सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख अर्यालले बताए ।

गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी, उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर पुन, स्वास्थ्य शाखा प्रमुख अर्याल लगायतले सम्मान गरेका थिए । कार्यक्रमअन्तर्गत हरेक वडामा करेसाबारी प्रर्वद्धनका लागि पोषण स्वास्थ्य शिक्षा, कृषि उत्पादन शिक्षा र हालको सिजनको तरकारी बीउ विजन मिनिप्याकेट वितरण गरेको स्वास्थ्य शाखाले जनाएको छ । हजार दिनका आमाहरूलाई स्वच्छ पिउने पानी व्यवस्थापनका लागि पानी शुद्धिकरण गर्ने स्टिल फिल्टरसमेत वितरण गरिएको जनस्वास्थ्य निरीक्षक महेशप्रसाद आचार्यले बताए ।

स्मार्ट आमा सम्मानका लागि गाउँ कार्यपालिकावाट कार्यविधि २०८२ पारित गरेको छ । सोहीअनुरूप गत चैत र वैशाख महिनामा ५ वटै वडाको समुदायमा स्वास्थ्यकर्मीहरू परिचालित भएका थिए । तोकिएका २२ वटा सूचकका लागि कुल १ सय १० पूर्णाङ्कमा आमाहरूसँग भएको स्वास्थ्य सेवा उपभोगको तथ्य र प्रमाणित कागजपत्रहरू तथा स्वास्थ्य संस्थाको सेवासम्बन्धी अभिलेखका आधारमा मूल्यांकन गर्दा उच्चतम अंक प्राप्त गरेकालाई सम्मान गरिएको उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताइन् ।

सम्बन्धित वडाको सेवा प्रदायक स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिबाट अनुमोदन गराई स्वास्थ्य संस्थाले सम्मानका लागि पालिकामा सिफारिस गरेअनुरूप ५ वटा वडाबाट १५ जनालाई स्मार्ट आमा सम्मानको लागि बजेट व्यवस्थापन गरिएको प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर पुनले बताए । प्रतिस्पर्धामा आउने सबै आमाहरू उत्कृष्ट रहेको र समुदायमा कुपोषणको अन्त्य भई बाल मृत्यु र मातृ मृत्य दर शून्य गराउने लक्ष्य र अपेक्षासहित यस वर्षदेखि स्मार्ट आमा सम्मान गरिएको उनले बताए ।

रम्भा गाउँपालिकामा पोषणमैत्री स्थानीय शासन कार्यान्वयनका लागि पाँचवटै वडाका चार स्वास्थ्य चौकी र एक प्राथमिक स्वास्थ्य केन्द्रमध्ये मापदण्डका १६ वटा सूचकहरूबाट १५ अंक पूरा गरेका हुँगी र पीपलडाँडा स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिसकेको स्वास्थ्य शाखाले जनाएको छ । बाँकी तीन वटालाई आगामी आर्थिक वर्षमा घोषणा गर्ने लक्ष्यका साथ क्रियाकलापहरू अगाडि बढेको स्वास्थ्य शाखाले जनाएको छ ।

पोषण मैत्री स्थानीय शासन कार्यान्वयन ५१ वटा सूचकहरूको प्रगति मापदण्डअनुरूप पूरा गर्न वडा र पालिकामा कार्यान्वयनका गर्नका लागि निर्देशिकाअनुरूप बहुक्षेत्रीय पोषण तथा खाद्य स्वच्छता निर्देशक समिति वडा र पालिकामा गठन गरिएको छ । बालबालिकाहरूमा आउने पोषण स्वास्थ्य समस्या व्यवस्थापनका लागि अघिल्ला वर्षमा २ वटा ओटिसी उपचार केन्द्र स्थापना र सञ्चालन भएको छ । यस वर्ष हुमिन र पीपलडाँडा स्वास्थ्य चौकीमा थप गरी चार वटा ओटिसी सेन्टर बनाइएको छ ।

Logo