काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले लगाएको प्रतिबन्धको कालो बादल नेपाली फुटबलमाथि मडारिरहेको छ। विश्वकपको उल्लासमा रमाइरहेका नेपाली फुटबलप्रेमीलाई निराश मात्र बनाएको छैन, प्रतिबन्ध लम्बिए एक पुस्ताका खेलाडी नै पलायन हुने जोखिम देखिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) माथि सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हस्तक्षेपले उत्पन्न विवाद उत्कर्षमा पुगेपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले नेपाललाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो। ‘तेस्रो पक्षको हस्तक्षेप’ को कारण देखाउँदै फिफाले प्रतिबन्ध लगाएको हो। प्रतिबन्धका कारण लामो समयदेखि विवाद र आन्तरिक द्वन्द्वमा अल्झिएको नेपाली फुटबलको भविष्य अँध्यारो सुरुङमा फसेको छ।
फिफाको प्रतिबन्धले नेपाली फुटबल गतिविधि लगभग शून्यकै स्थितिमा झरेको छ। नेपाली फुटबलका शुभचिन्तक मात्र नभएर खेलाडी पनि निराश छन्। नेपालको सबैभन्दा लोकप्रियमध्येको खेल फुटबलमा देखिएको अन्योलबारे सरकार र तालुकदार निकाय शिक्षा तथा खेलकुद मन्त्रालय गम्भीर नदेखिएकाले थप चिन्ता बढाएको छ।
फिफाको प्रतिबन्धपछिको परिस्थितिलाई लिएर मन्त्री सस्मित पोखरेलको टिप्पणी पनि सकारात्मक छैन। मन्त्री पोखरेलले यसअघिका सरकारले एन्फामा बारम्बार हस्तक्षेप गरेको आरोप त लगाएका छन् तर अहिलेको प्रतिबन्धबाट नेपाली फुटबललाई कसरी बाहिर ल्याउने भन्ने प्रस्ट खाका अघि सार्न सकेका छैनन्। ‘नेपाली फुटबल अहिलेभन्दा तल जाने स्थिति नै छैन,’ मन्त्री पोखरेलले बिहीबार पत्रकार सम्मेलनमा भनेका थिए।
समस्या समाधानका लागि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) सँग पत्राचार गरिएको उनले बताए। मन्त्री पोखरेल घरेलु लिग नभएको गुनासो पनि गर्छन् सँगै अहिलेको समस्या समाधानका लागि एन्फामा पुराना खेलाडी र योगदान गर्नेलाई ल्याउनेसमेत दाबी गर्छन्। यसले उनलाई खेलकुदको अन्तर्राष्ट्रिय स्वरूपबारे जानकारी नरहेको प्रस्ट हुन्छ।
नेपाली फुटबल इतिहासमै फिफाले प्रतिबन्ध लगाएको यो नै पहिलो पटक हो। यही प्रतिबन्धका कारण फिफाले दिँदै आएको सबै प्रकारको आर्थिक सहयोग रोकिएको छ। फिफाले वार्षिक रूपमा एक अर्ब ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक सहयोग गर्छ। यस्तै नेपाली फुटबल विकासका लागि विभिन्न परियोजना पनि प्रदान गर्छ। तर प्रतिबन्धपछि यी सबै रोकिएका छन्। यसले नेपाली फुटबल गतिविधि ठप्प भएको छ।
एन्फाकै अनुसार पनि नेपाली फुटबलसँग प्रत्यक्ष जोडिएका ३ सय २४ जना बेरोजगारको स्थितिमा पुगेका छन्। तथ्यांकअनुसार अहिले एन्फाका कर्मचारी र प्रशिक्षक गरी १ सय ५८, पुरुष र महिला दुवै गरेर ६० राष्ट्रिय खेलाडी, लाइसेन्सप्राप्त ९२ प्रशिक्षक र १४ फिफा रेफ्री प्रभावित हुनेछन्। अप्रत्यक्ष रूपमा प्रभावित हुनेको संख्या दसौं हजार हुनेछ। तथ्यांकअनुसार १ हजार ७ सय विद्यालयका ३९ हजारभन्दा बढी उमेर समूहका खेलाडी छन्। यस्तै ४९ जिल्लामा २२ हजार खेलाडी छन्।
‘ए’ देखि ‘डी’ डिभिजनसम्म छनोट खेल्ने खेलाडीको संख्या पनि हजारको हाराहारीमा पुग्छ। लाइसेन्सप्राप्त प्रशिक्षकको संख्या ६ सय पुग्छ। त्यस आधारमा ८० हजारभन्दा बढी प्रतिबन्धको मारमा परेका छन्। प्रतिबन्ध लम्बिँदै जाने हो भने यी सबैले वैकल्पिक बाटो रोज्ने निश्चित छ। अहिले नै प्रतिबन्धका कारण नेपालले तीन अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाइसकेको छ। त्यसमा एएफसी वुमेन्स च्याम्पियन्स लिग सबैभन्दा ठूलो हो। अन्य दुईमा वुमेन्स यू–१७ र पुरुष यू–२० एसिया कप छनोट रहेका छन्।
परिषद् र एन्फाले भने प्रतिबन्ध फुकुवाका लागि केही प्रयास गरिरहेको दाबी गरेका छन्। परिषद्का नवनियुक्त उपाध्यक्ष तथा पूर्वफुटबल खेलाडी विशाल श्रेष्ठ भन्छन्, ‘हामी अहिलेको स्थितिलाई लिएर गम्भीर छौं। त्यसैले परिषद् समस्या समाधानका लागि तत्पर छ र हामीले आवश्यक प्रक्रिया पनि सुरु गरेका छौं।’ उनकै नेतृत्वमा एन्फामा पछिल्लो समय भएको आर्थिक गतिविधिबारे छानबिन पनि चलिरहेको छ। श्रेष्ठ आफैं पनि फिफा प्रतिबन्धका विषयमा के भइरहेको छ भन्ने प्रस्ट भन्ने स्थितिमा छैनन्।
एन्फाका प्रवक्ता सुरेश शाहले पनि समस्या समाधानका लागि प्रयासरत रहेको दाबी गरे। उनले भने, ‘हामी पनि सबै प्रकारको सम्भावनालाई लिएर खुला छौं। हाम्रोतर्फबाट प्रयास जारी छ।’
अहिले जति दाबी भइरहेको छ, त्यो भनाइमै मात्र सीमित रहेको छ। ठ्याक्कैभन्दा केही नभइरहेको स्थिति हो। राष्ट्रिय टिमका एक खेलाडीले भने, ‘अहिले समस्या समाधानका लागि केही पनि ठोस काम भइरहेको छैन ।’
नेपालमाथिको प्रतिबन्ध अझ लम्बिने हो भने एक पुस्ताका खेलाडी नै हराएर जाने निश्चित छ। त्यतिमात्र होइन, तिनीहरूको स्थान लिने खेलाडी पाउन पनि उत्तिकै गाह्रो हुनेछ। पछिल्लो चार वर्षमा ‘ए’ डिभिजन सहिद स्मारक लिग एकपल्ट मात्र भएको छ। जुन चर्च ब्वाइज युनाइटेडले जितेको थियो। त्यो लिग खेलेका सबै खेलाडीको सूची बनाउने हो भने त्यसमध्ये एकचौथाइ विदेश पलायन भइसकेका छन्। थप आधाले फुटबल खेल्न छाडिसकेका छन्। जति बाँकी छन्, त्यसमध्ये अधिकांशले खेल्न पाइरहेका छैनन्।
एन्फाको विवाद र फिफाको प्रतिबन्धपछि पूर्वकप्तान उपेन्द्रमान सिंह आफैं नेपाली फुटबलको भविष्यका विषयमा केही भन्न नसक्ने अवस्थामा छन्। ‘मेरो यो छोरा असाध्यै राम्रो फुटबल खेल्छ र भविष्यमा खेलाडी हुने सपना बुन्छ। तर कतै मैले उसलाई फुटबल खेलाएर भविष्य त बिगारिरहेको छैन? नेपाली फुटबलमा विवाद नै विवाद मात्र छ, यो कहिले सकिन्छ होला ? मसँग यी कुनै पनि प्रश्नको जवाफ छैन’, उनले भने।






























