रूपन्देही । मायादेवी गाउँपालिकामा हतियारसहित आएका लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । लागुऔषध नियन्त्रण व्यूरोसहित रूपन्देही प्रहरीबाट खटिएको प्रहरीले गोली प्रहार गरेर एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको हो।
एक जना भारतीय नागरिकको खुट्टामा गोली लागेको छ । पक्राउ पर्ने लागुऔषध कारोबारी हुन् । रूपन्देही प्रहरी प्रवक्ता कृष्णकुमार चन्दका अनुसार भारतीय मोटरसाइकलमा हतियारसहित आएका उनीहरूलाई चेकचाँज गर्न खोज्दा नमानी उल्टै हतियार निकालेपछि नियन्त्रणमा लिन गोली चलाइएको हो ।
भारतीय बाइकमा एक भारतीयसहित दुई नेपाली गरी तीन जना थिए । लागूऔषध ब्यूरो र प्रहरीले संयुक्त चेकिङ गरेका थिए । उनीहरूबारे केही पूर्व सूचना थिए । हामीले वार्निङ दिँदा पनि हतियार झिकेपछि गोली चलाउनुपरेको हो,’ उनले भने, ‘भारतीय मोटरसाइकल,ब्राउन सुगरसहित ३ जना नियन्त्रणमा छन्, घाइतेको उपचारपछि डिस्चार्ज गरिएको छ ।’
उनीहरूबाट १ थान पेस्तोल र दुई राउण्ड गोली, ब्राउन सुगर, भारतीय मोटरसाइकलसमेत बरामद गरिएको डिएसपी चन्दले बताए । पटकपटक वार्निङ दिँदा पनि नमानेपछि एक राउण्ड गोली प्रहार गरिएको प्रहरीको दाबी छ ।






























