काठमाडौं । वर्षासँगै देशका केही जिल्लामा आज (साउन ३) पनि आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । पूर्वको झापादेखि सुदूरपश्चिम प्रदेशसम्मका कतिपय जिल्ला भई बहने सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।
कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मतीलगायत ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
“आज बिहानको मापनानुसार कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ,” महाशाखाले भनेको छ ।
































