नेपाल आयल निगमका सञ्चालकविरुद्ध कालोबजारी कसुर गरेको आरोपमा जाहेरी परेको छ।
उपभोक्ता हित संरक्षण मन्च नेपालको तर्फबाट मञ्चका सचिव एवम् अधिवक्ता जयप्रसाद पौडेलले सञ्चालक समितिका सञ्चालकविरुद्द महानागरीय प्रहरी परिसर टेकुमा जाहेरी दिएका हुन्। कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनको कसुरमा अपराध गरेको भन्दै निगमविरुद्ध जाहेरी दिइएको हो। निगमले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा २(क), घ र ढ को कसुर अपराध गरी पुस १ देखि १५ दिनभित्र मात्रै पेट्रोलियम पदार्थमा उपभोक्तासँग कालोबजारी मार्फत १ अर्ब ३३ करोड रुपैयाँ नाफा उठाएको मञ्चले जनाएको छ।
भारतीय आयल निगमसँग किनेर ल्याएको काठमाडौंको मूल्यको सम्पूर्ण लागत हेर्दा पेट्रोलमा १६३ रुपैयाँ ३४ पैसामा खरिद गरी ९९ रुपैयाँ २२ पैसा नाफा लिएको जाहेरीमा उल्लेख छ। डिजेल १ सय ६७ रुपैयाँ ८२ पैसामाा खरिद गरी ४३ रुपैयाँ ३० पैसा नाफा लिएको छ। हवाई इन्धन आन्तरिकमा १ सय १७ रुपैयाँ ७१ पैसामा ११ रुपैयाँ २७ पैसा र अन्तराष्ट्रियमा ४९ रुपैयाँ ५ पैसा नाफा लिई ऐनको दफा २(क), घ र ढ को कसुर अपराध गरेकाले जाहेरी दिएको मञ्चका अध्यक्ष ज्योति बाँनियाले बताए।
अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य घट्दा पनि उपभोक्तालाई चर्को मूल्यमै पेट्रोलियम पदार्थ बेचेको १ पुसदेखि १५ पुससम्म मात्रै एक अर्ब ३२ करोड ८९ लाख नाफाखोरी तथा कालोबजारी गरी नाफा कमाएको मञ्चको दावी छ। पुस १६ देखि ३० पुससम्म थप ९९ करोड १२ लाख उपभोक्ताबाट कालोबजारी हुने मञ्चले जनाएको छ। निगमले पेट्रोल प्रतिलिटर १४.६६ र मट्टीतेल प्रतिलिटर ४३.७९ रुपैयाँ महँगो बेच्दै छ। निगम आफैंले पारित गरेको मूल्य स्वचालित मूल्य प्रणाली निर्देशिका विपरित निरन्तर कालोबजारी हुदै आएको मञ्चको दावी छ।
निगमका पदाधिकारीले भारतबाट ८५.३५ रुपैयाँ प्रतिलिटरमा खरिद गरिएको पेट्रोल करसहित सम्पूर्ण प्रशासनिक खर्च जोड्दा एक सय ६३ रुपैयाँ ३४ पैसा पर्छ। तर, निगमले एक सय ७८ रुपैयाँमा बिक्री गर्छ। त्यस्तै, प्रतिलिटर एक सय ६७ रुपैयाँ ८२ रुपैयाँ लागत पर्ने डिजेल एक सय ७५ रुपैयाँमा बिक्री गरिएको छ। निगमले भारतबाट डिजल प्रतिलिटर एक सय १० रुपैयाँमा खरिद गर्छ। भारतबाट १ सय ३ रुपैयाँ ९४ पैसा प्रतिलिटरमा खरिद गरिएको मट्टीतेलमा सम्पूर्ण लागत एक सय ३१ रुपैयाँ २१ पैसा पर्छ तर, उपभोक्ताले एक सय ७५ रुपैयाँ लिटरमा किन्नुपर्ने वाध्यता छ। पेट्रोलको कालोबजारीले वस्तु र सेवामा पनि कालोबजारी बढीरहेको मञ्चको दावी छ।
आन्तरिक हवाई इन्धनमा निगमले प्रतिलिटर ४८ रुपैयाँ ८१ रुपैयाँ नाफा राखेर एक सय ९० रुपैयाँमा र बाह्य हवाई इन्धनमा ९९ रुपैयाँ ३५ पैसा नाफा राखेर बिक्री गरिरहेको छ। यहीँ कालो बजारको कारणले हबाइ सेवामा फिउल सर चार्ज रकम बढी हबाइ भाडा अत्यधिक महगो भएको छ।































प्रतिक्रिया