सिराहामा शिक्षिकाले पानी सम्झेर स्प्रिट दिँदा एक छात्राको मृत्यु

सिराहामा शिक्षिकाले पानी सम्झेर स्प्रिट दिँदा एक छात्राको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सिरहामा एक जना विद्यार्थीले औषधि खान पानी माग्दा शिक्षिकाले स्प्रिटलाई पानी सम्झेर दिएपछि विद्यार्थीको मृत्यु भएको छ।

सिरहाको मिर्चैया नगरपालिका–६ स्थित सगरमाथा माविमा अध्ययनरत १६ वर्षीया सिर्जनाकुमारी महराको मृत्यु भएको हो। सिराहा नगरपालिका–११ भलुवाही बस्ने धर्मेन्द्रकी छोरी सिर्जनाकुमारीको उपचारको क्रममा शनिबार राति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास बुढाथोकीले जानकारी दिए। सिर्जनाकुमारीको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको हो।

पुस २२ गते विद्यालयमा गएकी सिर्जनाकुमारीको पेट दुखेपछि औषधि खान खोजेकी थिइन्। औषधी खानका लागि सिर्जनाले शिक्षिका अम्बिका लम्सालसँग पानी मागेकी थिइन्। शिक्षिका लम्सालले माउन्टेन ड्यूको बोतलमा रहेको स्प्रिट पानी ठानेर दिइन्। छात्रा सिर्जनाले उक्त बोतलमा रहेको स्पिरिट पानी सम्झेर खाएलगत्तै बेहोस् भएकी थिइन्। ‘सिसा सफा गर्ने खालको स्पिरिट रहेछ। पानी सोचेर त्यो खाएको देखिन्छ,’ डिएसपी बुढाथोकीले भने।

घटनामा विद्यालय र शिक्षिकाले लापरबाही गरेको भन्दै आज विद्यार्थीहरु र मृतक छात्राका आफन्तहरुले आन्दोलन सुरु गरेका छन्। उनीहरुले बिहान साढे १० बजेबाटै मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। राजमार्गमा विद्यार्थीहरु टायर बालेर प्रदर्शन गरिरहेका छन्। आन्दोलनका कारण राजमार्गमा चल्ने सवारी साधनहरु अलपत्र परेको छ ।

मृतकको शव अहिले अस्पतालमै राखिएको छ। लापरबाही गर्ने विद्यालय प्रशासन र शिक्षिकालाई कारबाही गर्नुपर्ने र मृतक छात्राकी परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आन्दोलित विद्यार्थीहरुको माग छ। प्रहरीले ती शिक्षिकालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। 

Logo