सुनको लोभमा दुई बालिकाको हत्या, दुई किशोरी पक्राउ

सुनको लोभमा दुई बालिकाको हत्या, दुई किशोरी पक्राउ

केन्द्रबिन्दु
0
Shares

रुकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिकाको रन्मा गाउँमा गत बिहीवार मृत फेला परेका दुई बालिकाको हत्या भएको खुलेको छ। बालिकाहरूले लगाएका सुनका गहना लुट्नका लागि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

बालिकाको हत्यामा संलग्न रहेको अभियोगमा १४ र १५ वर्षका दुई किशोरीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)का सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले जानकारी दिए।

हत्याको अभियोगमा पक्राउ परेका दुई किशोरी पनि स्थानीय हुन्। ती किशोरी र मृतक बालिकाहरूको पहिलेदेखि नै चिनजान रहेको प्रहरी निरीक्षक खत्रीले बताए। उनीहरूले स्थानीय विद्यालयमा पढ्दै आएका थिए।

गत बुधवार बिहान सिस्नो टिप्न भनी घरबाट निस्किएका दुई बहिनी (रिना र कालिमाया) साँझसम्म घर नफर्किएपछि परिवारले खोजी गर्दा बिहीवार बिहान घर नजिकैको झुपा खोला भीरमा मृत फेला परेका थिए।

मृतक बालिकाले नाक र कानमा लगाएका सुनका गहना फुकालिएको अवस्थामा भेटिएपछि प्रहरीले गहना लुट्ने योजनाले हत्या गरिएको हुनसक्ने अनुमान गरी अनुसन्धान अघि बढाएको थियो।

Logo