पूर्वगृहमन्त्री खाणसहितका अभियुक्तलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

पूर्वगृहमन्त्री खाणसहितका अभियुक्तलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

आईतबार जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै पेश गरेपछि जिल्ला अदालत काठमाडौंले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयको प्रस्ताव अनुरुप अनुसन्धानका लागि ४ दिन म्याद थपिएको अदालतले जनाएको छ । 

यो प्रकरणकाे अनुसन्धानको सिलसिलामा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायत  १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु सबैलाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै प्रहरीले अदालतमा उपस्थित गराएको थियो ।

शरणार्थी प्रकरणमा संलग्न पूर्वगृहमन्त्री टोपबहादुर रायमाझी अझै फरार छन् भने अर्का पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरालगायत विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । 

संयुक्त राज्य अमेरिकामा पुनर्वास गराइदिने भन्दै ठगी गर्ने गिरोहले आफूहरूबाट झन्डै २३ करोड रुपैयाँ सङ्कलन गरेको आरोप लगाउँदै १०० भन्दा बढीले प्रहरीमा उजुरी दायर गरेका छन्। संयुक्त राष्ट्र सङ्घको शरणार्थी हेर्ने निकायले गम्भीर चासो व्यक्त गरिरहेको उक्त प्रकरणमा दोषी रहेकालाई कडा कारबाहीको माग गर्दै देशका विभिन्न ठाउँमा प्रदर्शनहरू भइरहेका छन्।

 

Logo