सुन तस्करी प्रकरणः व्यापारी रोहन अडुकियासहित दुई चिनियाँ छुटे

सुन तस्करी प्रकरणः व्यापारी रोहन अडुकियासहित दुई चिनियाँ छुटे

केन्द्रबिन्दु
0
Shares

झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यवसायी रोहन अडुकिया छुटेका छन्। भारतबाट काठमाडौं फर्किने क्रममा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट  अध्यागमन कार्यालयद्वारा नियन्त्रणमा लिइएका रोहनलाई बोलाएको बेला हाजिर हुने शर्तमा छाडिएको हो । 

राजस्व अनुसन्धान विभागले रोहनलाई कालोसूचीमा राख्न अध्यागमन विभागलाई भनेको थियो। सोही आधारमा उनलाई पक्राउ गरिएको थियो । तर, प्रहरीले जिम्मा लिन नमानेपछि अध्यागमनले आफूखुसी रोकेर राख्न नसक्दा छाडेको हो।

२० वर्षीय रोहन भारतीय मूलका व्यवसायी राकेश अडुकियाका छोरा हुन्। 

त्यस्तै, शुक्रबार नै काठमाडौंबाट चीन जान लाग्दा पक्राउ परेका दुई जना चिनियाँलाई पनि छाडिएको छ । शुक्रबार बिहान ९ बजेको हिमालयन एयरको उडानबाट चीन जान लागेका ली जियालिङ र लिउ फुयान पक्राउ परेका थिए तर, सो प्रकरणमा उनीहरुको संलग्नता नदेखिएको भन्‍दै छाडिएको हो।

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी एक सय किलो सुन बरामद गरेको थियो । अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १७ हिरासतमा छन् । भन्सार एजेन्ट रूक्मिना सुब्बा भने स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा रिहा भएकी थिइन्। 

यो अनुसन्धान तस्करीका मूल नाइकेसम्म अझै पुगेको छैन ।

उक्त प्रकरणमा एकजना प्रहरी उपरीक्षकको सहयोग लिएर विभाग आफैँले अनुसन्धान गरिरहेकामा आइतबार १८ दिनपछि अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई दिइएकाे छ। 

Logo