त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन जोख्ने प्रक्रिया अघि बढेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई सुन जोख्नका लागि पत्र पठाएको हो । सीआईबीबाट पत्र आएपछि प्रक्रिया अघि बढ्ने क्रममा रहे पनि राजश्व अनुसन्धान विभागको पनि पत्रको पखाईमा रहेको महाशाखाका निर्देशक थानेश्वर आचार्यले जानकारी दिए ।
बरामद गरेर ल्याइएको वस्तु प्राविधिक परीक्षण पछि मात्रै कुन धातु, कस्तो गुणस्तरको र कति परिमाणमा छ भन्ने खुल्नेछ । आजदेखि सुन जोख्ने र गाल्ने प्रक्रिया अघि बढेमा कम्तिमा एक हप्तासम्मको समय लाग्न सक्ने महाशाखाले जनाएको छ ।
राजस्व अनुसन्धान विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी एक सय किलो सुन बरामद गरेको थियो । उक्त प्रकरणमा एकजना प्रहरी उपरीक्षकको सहयोग लिएर विभाग आफैँले अनुसन्धान गरिरहेकामा आइतबार १८ दिनपछि अनुसन्धानको जिम्मा सिआइबीलाई दिइएको छ।
अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १७ हिरासतमा छन् । भन्सार एजेन्ट रूक्मिना सुब्बा भने स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा रिहा भएकी थिइन्। यो अनुसन्धान तस्करीका मूल नाइकेसम्म अझै पुगेको छैन ।





























प्रतिक्रिया