नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ठूलो परिमाणको ‘ब्रेक शु’ भित्रको सुन निकाल्न सुरू गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पत्र लेखेसँगै सोमबार दिउँसो महाशाखाका कर्मचारीले ब्रेक शुबाट सुन निकाल्न थालेका हुन् । उक्त सुन निकालेर आजैबाट गाल्ने प्रक्रिया अघि बढेमा आधिकारीक रुपमा सुनको तौल आउन कम्तिमा एक हप्तासम्मको समय लाग्न सक्ने महाशाखाले जनाएको छ ।
राजस्व अनुसन्धान विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी एक सय किलो सुन बरामद गरेको थियो । उक्त प्रकरणमा एकजना प्रहरी उपरीक्षकको सहयोग लिएर विभाग आफैँले अनुसन्धान गरिरहेकामा आइतबार १८ दिनपछि अनुसन्धानको जिम्मा सिआइबीलाई दिइएको छ।
अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १७ हिरासतमा छन् । भन्सार एजेन्ट रूक्मिना सुब्बा भने स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा रिहा भएकी थिइन्। यो अनुसन्धान तस्करीका मूल नाइकेसम्म अझै पुगेको छैन ।





























प्रतिक्रिया