१५५ केजी रहेको भनिएकाे सुन ब्रेक प्याडबाट निकाल्दा ६० केजी मात्रै, गाल्दा अझै घट्ने

१५५ केजी रहेको भनिएकाे सुन ब्रेक प्याडबाट निकाल्दा ६० केजी मात्रै, गाल्दा अझै घट्ने

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको झण्डै डेढ क्विन्टल परिमाणको ‘ब्रेक शु’ भित्रको सुन ६० केजी ७७९ ग्राम मात्रै रहेको पाइएको छ । 

आजदेखि सुनको मात्रा जाँच सुरु गरेको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले बरामद ‘ब्रेक शु’भित्रको सुन निकाल्दा सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको जनाएको हो । अब गालेर जोख्दा तौल थप घट्ने बताइएको छ।

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको ठूलो परिमाणको सुन बरामद गरेको थियो । त्यसको भोलीपल्ट ८ वटा पोकामा १६० ढिक्का बरामद गरिएको सुन नापजाँचका लागि महाशाखामै जोख्दा सुन १५५ केजी रहेको पाइएको थियो । तर, उक्त सुन जोख्ने क्रममा बेरिएको कपडा, कार्टुन, ब्रेक सु पनि समावेश थियो । अहिले ब्रेक प्याड निकाल्दा झण्ढै सय केजी तौल घटेको हो । 

सुन बरामद भएको १९ दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीलाई दिइएको थियो । सिआइबीको पत्रपछि आजदेखि सुन गाल्नेलगायतका प्रक्रिया सुरु गरिएको हो । 

उक्त प्रकरणमा एकजना प्रहरी उपरीक्षकको सहयोग लिएर विभाग आफैँले अनुसन्धान गरिरहेकामा आइतबार १८ दिनपछि अनुसन्धानको जिम्मा सिआइबीलाई दिइएको छ। अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १७ हिरासतमा छन् । भन्सार एजेन्ट रूक्मिना सुब्बा भने स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा रिहा भएकी थिइन्। यो अनुसन्धान तस्करीका मूल नाइकेसम्म अझै पुगेको छैन । 

टक्सारमा जोखियो विमानस्थलबाट बरामद गरिएको सुन, ‘ब्रेक सु’सहित भेटियाे १५५ केजी

Logo