सुन तस्करी प्रकरणमा सिआइबीले २९ जनालाई मात्रै बनायाे प्रतिवादी

सुन तस्करी प्रकरणमा सिआइबीले २९ जनालाई मात्रै बनायाे प्रतिवादी

केन्द्रबिन्दु
0
Shares

हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले २९ जनालाई प्रतिवादी बनाएको छ । 

सिआइबीले ३५ दिन लगाएर तयार पारेको अध्ययन प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुधबार दिउँसो बुझाएको हो । प्रतिवेदनमा सिआइबीले फरार प्रतिवादीसमेत समेटेर २९ जनालाई प्रतिवादी बनाएको जिल्ला महान्यायाधिवक्ता महेश प्रसाद खत्रीले जानकारी दिए । 

आज मात्रै प्रतिवेदन बुझाएकाले को-कसलाई मुद्दा चलाउने र कसलाई नचलाउने विवरणहरु अध्ययन गर्न बाँकी रहेको भन्दै उनले भने, ‘अनुसन्धान प्रतिवेदन अध्ययन गर्न बाँकी नै भएको हुनाले यसमा के छ, कसो छ, कतिजनालाई प्रतिवादी बनाइएको छ वा कतिलाई मुद्दा नचल्ने निणर्य भएको कुरा खुल्न बाँकी नै छ । सरर हेर्दा फरार प्रतिवादी समेत गरेर २९ जनालाई प्रतिवादी बनाइएको छ ।’

अनुसन्धान प्रतिवेदन अध्ययन गर्न बाँकी नै रहेकाले उक्त घटनाको विवरण थपघट हुनसक्ने महान्यायाधिवक्ता खत्रीले जानकारी गराए । प्रतिवेदन कुल ३१४ पृष्ठको रहेको जनाइएको छ । 

सुन प्रकरणमा समातिएका ३२ जना हिरासतमा छन् । हिरासतमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ८ कर्मचारी, ४ भन्सार एजेन्ट, कार्गो एजेन्ट ४,ट्याक्सी चालक,भाषा अनुवादक १, सुन व्यवस्थापनका लागि कम्पनी खोल्ने र माल बस्तु व्यवस्थापन गर्ने २/२ जना, सुनको कारोबारमा संलग्न ११ जना सहित, २३ जना नेपाली र ९ विदेशी नागरिक रहेका छन् । १८ जना अझै फरार रहेको सीआइबीले जनाएको छ । 

बुधबार प्रतिवेदन बुझाउनुपूर्व पत्रकार सम्मेलनमार्फत सीआइबी प्रमुख किरण बज्राचार्यले ५० जनालाई प्रतिवादी बनाउन राय दिने जानकारी गराएकी थिइन् । तर, अहिले भने २९ जनालाई प्रतिवादी बनाइएको हाे । 

गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा सिआइबीलाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम पुगेकोे थियो । उक्त सुन अहिले राष्ट्र बैंकको संरक्षणमा रहेको छ । 

Logo