सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा छुटेका छन् ।
स्वास्थ्य अवस्थाका कारण उनलाई हाजिर जमानीमा छाड्न प्रहरीकाे केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले जिल्ला सरकारी वकिल कार्यालयका अधिकारीसँग सहमति मागेको थियाे । त्यसपछि सो मुद्दा हेरिरहेका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले सहमति दिएपछि उनी रिहा भएका हुन् । महरालाई जेठा छोरा निर्मलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
उनको मुद्धामा अनुसनधान भने जारी नै रहनेछ ।
६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि गठित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा महरालाई कारबाही गर्न सिफारिस गरेपछि प्रहरीले उनलाई सोमबार पक्राउ गरेको थियो । हिरासतमा राखिएका महरालाई सीआईबी र सरकारी वकिलको कार्यालयले सोधपुछ गरिसकेका छन् । बयानको क्रममा उनी नखाएको विष लाग्यो भन्दै अनुसन्धान अधिकृतहरुसँग भक्कानिएका थिए । सीआईबीका अनुसार महरा दैनिक ८ किसिमका औषधिहरु सेवन गर्ने गर्छन् । उनी पक्राउ परेलगत्तै थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए । अहिले पनि उनी उपचाररत नै छन् ।
महरामाथि सुन तस्करीमा संलग्न रहेको आरोप छ । विद्युतीय चुरोट भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा जोडिएका चिनियाँ नागरिक दावाजिन वाङसँग उनको बाक्लो उठबस रहेको फेला परेको हो । उनीमाथि मुद्दा चलाउनुपर्ने आयोगको निष्कर्ष छ। उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा हाल पुर्पक्षका लागि थुनामा छन् ।





























प्रतिक्रिया