काठमाडौंमा ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’सुरू

काठमाडौंमा ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’सुरू

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । काठमाडौंमा ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरू भएको छ।

आज(आइतबार)बाट ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक प्रहरीले साताव्यापी ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरू भएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौंको प्रदर्शनी मार्गस्थित् राष्ट्रिय सभागृहमा एक कार्यक्रम आयोजना गर्दै ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरू भएको जनाएको हो।

कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्री रवि लामिछानेले पानसमा दीप प्रज्वलन गरेरे औपचारिक उद्घाटन गरेका हुन्।

गृहमन्त्री लामिछानेसमेतको उपस्थितिमा बिहान नेपाल वायु सेवा निगम अगाडिबाट सुरु भएको प्रभातफेरी वीर अस्पताल, पुरानो बसपार्कहुँदै राष्ट्रिय सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको थियो।

कार्यक्रममा बोल्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले कार्यक्रमको औचित्य माथि प्रकास पार्दै दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक जनचेतना अभिवृद्धिका लागि सुरू गरिएको कार्यक्रमलाई सफल पार्न आआफ्नो क्षेत्रबाट सहयोग तथा हाम्रो सडक मेरो सवारी, ट्राफिक नियम पालना पनि मेरो जिम्मेवारी भन्ने नारासहित ८ वटा ट्राफिक प्रतिवद्धता पालना गर्न सबैमा आग्रह गरेका छन्।

यस्तै, गृहमन्त्री लामिछानेले सवारी तथा यातायात व्यबस्था ऐन २०४९ लाई समय सापेक्ष रुपमा परिवर्तन गर्नुका साथै ऐनमा देखिएका समस्यालाई समाधान गर्न आफू प्रतिवद्ध रहेको बताए। उनले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई नरम बोलीमा कारबाही भने कडा गर्न र आफ्नो काम कर्तव्य तथा जिम्मेवारीलाई निष्ठापूर्वक निर्वाह गर्न सडकमा खटिने ट्राफिक प्रहरीहरुलाई निर्देशन दिए।

कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले ट्राफिक व्यवस्थापन सुधारका लागि आआफ्नो क्षेत्रबाट गरेको सहयोगका लागि सम्बन्धित सबैलाई धन्यवाद दिए।

एक हप्तासम्म निरन्तर चल्ने कार्यक्रममा आरक्षण सिट कार्यान्वयन, भाडादर सूची चेकजाँच, यात्रुमैत्री व्यवहार भए/नभएको अनुगमन, पैदलयात्रीसँग १ मिनेट कार्यक्रम, मोटरसाइकल चालकसँग २ मिनेट कार्यक्रम, जिरो ट्राफिक भायोलेसन, किप क्लियर, यात्रुवाहक सवारी साधन परीक्षण र पुलिस ब्यान्ड डिस्प्ले गर्नुका साथै मेट्रो ट्राफिक एफएमबाट ट्राफिक सचेतना विशेष संवाद कार्यक्रम गरेर मनाइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए।

दिनहुँ हुने ट्राफिक नियम उल्लङ्घन, सडकको अवस्था, सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक नियमको पर्याप्त ज्ञानको अभाव पनि सवारी दुर्घटनाका कारण बनेकाले सडक सुरक्षा तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि यस कार्यक्रमको आयोजना गरिएको समेत प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताए।

कार्यक्रममा गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललगायत प्रहरीका बरिष्ठ अधिकृतहरु र अन्य धेरैको सहभागिता रहेको थियो।

Skip This
Logo