सहकारी पीडितको रोदन, ‘सरकार ! कि न्याय देउ कि मारिदेउ’

सहकारी पीडितको रोदन, ‘सरकार ! कि न्याय देउ कि मारिदेउ’

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न सहकारी पीडितले सरकारसँग पीडितका समस्या सुनिदिएर चाँडो न्याय दिलाउन आग्रह गरेका छन्।

सन्ध्या बचत तथा ऋण सहकारी, ओरियन्ट फाइनान्स र गौतमश्री बहुउदेश्यीय सहकारीका पीडितले आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय बुद्धनगर पुगेर आफूहरुलाई सरकारले बेवास्ता गरेको बताए।

उनीहरुले ठूला सहकारी सञ्चालकले सरकारका प्रतिनिधिको मिलेमतोमा आफूहरुलाई फसाउने गरेको आरोप लगाए। पीडितले सरकार पीडितलाई न्याय दिन आलटाल गरिरहेको र यसअघि सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानसँग सरकारले गत चैतमा गरेको सम्झौताको समेत कार्यान्वयन नगरेको भन्दै आक्रोशित बने।

सन्ध्या सहकारी पीडित कृति बस्नेतले आँखाभरी आशु पार्दै भनिन्, ‘हामीले बचत गरेको पैसा मागेको हौँ। यसमा सरकारले पनि साथ दिएन। लड्दा लड्दा थाकिसक्यौँ। अब सरकार हाम्रो कुरा नसुन्ने नै हो भने बरु मार्दिनु।’ उनले व्यथा सुनाउँदै थपिन ‘म ट्युमर पीडित छु, अहिले उपचार गर्ने पैसा समेत छैन। एकदम गाह्रो भएको छ। मैले सहकारीमा ६ लाख रुपैयाँ राखेको थिए। भएको सम्पती नै त्यति हो। कि सरकारले मारिदियोस् कि न्याय दियोस्।’

सन्ध्या बचत तथा ऋण सहकारको पेप्सिकोला शाखाका बचतकर्ताको तीन करोड रकम पाएका छैनन्।

यस्तै, ओरियन्ट फाइनान्सका पीडित सन्जय कुमार पारिकले बाबुको पेन्सनको नौ लाख रुपैयाँ सहकारीमा फसेको सुनाए। उनले पीडितहरु सबै एक भएर लाग्नुपर्नेमा जोड दिँदै सरकारले न्याय नदिए आफैँ रकम अपचलन गर्नेको घर भत्काउन जाने चेतावनी दिए।

उनले भने, ‘हामी सधैँ यहाँ धाउने काम मात्रै भइरहेको छ। समस्याको हल भउको छैन। जसरी बालेनले डोजर लिएर अनाधिकृत घर भत्काए त्यसैगरी जति सहकारीको पैसा खाएर बसेका छन् तिनिहरुको घर भत्काउन डोजर लिएर जान्छौ र भत्काउन सुरु गर्छौँ।’

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय बुद्धनगरमा पीडित र पीडक पक्षबीच छलफल गर्न बैठक बोलाइएपनि सहकारी सञ्चालक पक्षका कोही नआएपछि पीडितहरु आक्रोशित बनेका हुन्।

‘बैठक बोलाएका थिए अहिले कोही छैनन् यहाँ। पैसा नेताको डुबेको हुन्थ्यो भने घाँटी समाएर लिन्थ्यो। हामीसँग कोही छैन् कसरी लिने ?’ उनले थपे, ‘कमसेकम सरकारले एउटा समिति बनाएर हाम्रा समस्या सुनिदिएको भए त हुन्थ्यो। यहाँ सबै वृद्धवृद्धा मात्रै छौं। कसैलाई भिनाजुले फसाए। कोही सालीले, कोही जेठानले फसाए। अनि हामी सबै फस्यौं। सरकारलाई हात जोडेर बिन्ति गर्छौ जसरी भएपनि हाम्रो पैसा दिलाइदिनुस्’, पारिकले भने।

Logo