प्रधानन्यायाधीश जबरालाई २२ कात्तिकसम्म ढुक्क

प्रधानन्यायाधीश जबरालाई २२ कात्तिकसम्म ढुक्क

केन्द्रबिन्दु
0
Shares

सहकर्मी न्यायाधीशहरूबाटै चर्को विरोध खेप्दै आएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले २२ कात्तिकसम्म ढुक्कले पदमा रहन पाउने भएका छन् । 

आफ्नो सम्मानजनक बहिर्गमनको मोडालिटीमा छलफल चलिरहेको र तिहारअघि बुधवारसम्म मात्र अदालत खुल्ने भएकाले मोडालिटीको छलफल तिहार बिदापछि घनीभूत हुने सर्वोच्च अदालतका एक न्यायाधीशले बताएका छन् । 

सम्मानजनक बहिर्गमनको मोडालिटी र समयमा प्रधानन्यायाधीश जबरा र असन्तुष्ट १९ जना न्यायाधीशहरूको फरक फरक मत छ । 

न्यायाधीशहरूको तर्फबाट बनेको वार्ता समितिसँग जबराले केही दिन न्यायिक सुधारका लागि समय मागे पनि न्यायाधीशहरूले बहिर्गमन मितिको सुनिश्चितता खोजेका छन् । तर जबराले भने आफू इजलासमा नबस्ने र बन्दीबाहेकका मुद्दामा पेसी नतोक्ने प्रतिबद्धता मात्र जनाएका छन् । 

यसका अतिरिक्त उनले संवैधानिक बहिर्गमनको कुरा राखेर आफ्नो विवादलाई संसद् छिराउन खोजेको न्यायाधीशको आशंका छ । यो आशंकामा वार्ता समितिले आज र भोलि जबरासँग कुराकानी गर्नेछ । यसबीचमा आजका लागि बन्दीका मुद्दा मात्र पेसी चढेका छन् भने तिहारअघिको बाँकी एक दिन ९बुधवार० पनि बन्दीका मुद्दा मात्र पेसीमा राख्ने उनको प्रतिबद्धता छ । 

‘बुधवार पछि तिहारको बिदा सुरु भइहाल्छ, २२ गते अदालत खुलेपछि फेरि घनीभूत छलफल हुन्छ, त्यस बेलासम्मका लागि उहाँबाट अब निकास नआउने नै भयो,’ असन्तुष्ट एक न्यायाधीशले न्युज कारखानासँग भने । 

उनका अनुसार तिहार बिदा लगत्तै असन्तुष्ट न्यायाधीशहरू प्रधानन्यायाधीशविरुद्ध नयाँ ढंगको आन्दोलनमा उत्रने छन् । तर यसको मोडालिटीमा भने न्यायाधीशबीच छलफल सकिएको छैन । ‘आज र भोलि छलफल हुन्छ, त्यसपछि उहाँ (प्रधानन्यायाधीश) को मुड हेरेर हामी नयाँ ढंगले चल्छौ नै,’ ती न्यायाधीश भन्छन् । 

न्यायाधीशहरूको आन्दोलनसँगै नेपाल बारले पनि तिहार अघि सम्मका लागि अदालतमा कालो पट्टीसहित प्रदर्शन गर्ने, जबराको इजलास बहिष्कार गर्ने लगायतका कार्यक्रम गरिरहेको छ । बारले तिहारपछि आफूहरू जबराविरुद्ध निर्णायक आन्दोलनमा जाने घोषणा गरिसकेको छ ।

Logo