ठेकेदारको लापरबाहीले पुल अलपत्र, एक वर्षमा सक्नुपर्ने योजना तीन वर्षसम्म पनि सकिएन

ठेकेदारको लापरबाहीले पुल अलपत्र, एक वर्षमा सक्नुपर्ने योजना तीन वर्षसम्म पनि सकिएन

केन्द्रबिन्दु
0
Shares

उदयपुरको चौदण्डीगढी नगरपालिका-४ सुन्दरी खोलामा निर्माणाधीन मोटरेबल पक्की पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ। चौदण्डीगढी नगरपालिका वडा-४ बसाहा चिचाई टोल र वडा- ५ ढेलाचौरीबीचमा रहेको सुन्दरी खोलाको पुल निर्माणमा ठेकेदारले चासो नदिँदा अलपत्र परेको हो।

सुन्दरी खोला निर्माणाधीन मोटेरेबल पक्की पुल साढे ११ मिटर चौडाइ र साढे ६२ मिटर लम्बाइ रहेको छ। रामजानकी निर्माण सेवा कम्पनीले एक वर्षमा सक्नुपर्ने योजना तीन वर्ष बितिसक्दासमेत काम हुन सकेको छैन। निर्माण कम्पनीले वारिपारि दुईवटा पिल्लर उठाएर ठेकेदार बेपत्ता भएपछि एक वर्षमा सकिनुपर्ने काम नसकिएको हो। अब स्ल्याब मात्र राख्न बाँकी छ।

तीन वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न नहुँदा स्थानीयबासीले वर्षायाममा बाढीको समयमा वारिपारि आउजाउ गर्न सास्ती खेप्नुपरेको स्थानीय रमेश बिष्टले बताए। निर्माण कम्पनीका ठेकेदार शम्भु ठाकुरले केही दिनमा पुनः निर्माणको काम सुरु हुने बताए। 'आगामी जेठ मसान्तभित्रमा सक्नुपर्ने दबाब छ मलाई, त्यसैले चाँडै काम सुरु हुनेछ', उनले भने। सो पुल ११ करोड रुपैयाँमा ठेक्का लगाइएको थियो। 

त्यसैगरी बसाहा शनिबारेस्थित कालीखोलाको पुलमा स्ल्याब हालिसकिएकाले त्यहाँको पनि काम चाँडै सक्ने ठेकेदार ठाकुरले बताए। दुवै पुल एउटै निर्माण कम्पनीले ठेक्का लिएको हो। निर्माण  कम्पनीका इञ्जिनियर सुरेन्द्र सिंहले भने, ‘काम छाडेको छैन। त्यही कामका लागि इक्विपमेन्टहरू पठाउने काम भइरहेको छ। छिट्टै काम थाल्नेछौँ।'

Logo