गाउँपालिकाको एम्बुलेन्समा बिहेको सामान भेटिएपछि…

गाउँपालिकाको एम्बुलेन्समा बिहेको सामान भेटिएपछि…

केन्द्रबिन्दु
0
Shares

एम्बुलेन्समा बिहेको सामान ओसारेको भन्दै विप्लव तेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले एम्बुलेन्सलाई नियन्त्रणमा लिएका छन्। लेकम गाउँपालिकाको एम्बुलेन्सले मंगलबार राति बिहेको सामान बोकिरहेको अवस्थामा मालिकार्जुन गाउँपालिका-४ ऐरिछानाबाट विप्लव समूहले नियन्त्रणमा लिएको हो।

गाउँपालिकाको एम्बुलेन्सले व्यक्तिगत समान बोकिरहेको भन्ने जानकारी पाएपछि यात्रु र सामान बोकिरहेको अवस्थामा नियन्त्रणमा लिएको नेपाल कम्युनिष्ट पार्टी विप्लवका लेकम गाउँपालिका इन्चार्ज भुवन जोशीले जानकारी दिए। 

गाउँपालिकाको एम्बुलेन्सले पटक पटक व्यक्तिगत सामान बोक्ने गरेको र बिरामीलाई चाहिएको बेला नपाइने स्थानीयको गुनासो आएपछि नियन्त्रणमा लिएको उनको भनाइ छ। बिहेको समान र ६ जना यात्रु बोकेर मालिकार्जुन गाउँपालिका-४ ऐरिछानाबाट लेकम गाउँपालिका- ४ खरकडातर्फ गइरहेको लेकम गाउँपालिकाको सु.प.प्र ०२००१ च ८५० नम्बरको एम्बुलेन्स ऐरिछाना क्षेत्रबाटै राति १० बजे नियन्त्रणमा लिएको जोशीले बताए।  

यात्रुलाई अर्को जिपमा घर पठाएको र एम्बुलेन्सको चाबी आफूहरूसँग रहेको उनले बताए। 'एम्बुलेन्स लिनका लागि हालसम्म कसैले सम्पर्क गरेका छैनन्, आगामी दिनमा दुरुपयोग नहुने सर्तमा सम्बन्धित व्यक्तिलाई चाबी बुझाउने तयारीमा छौँ,’ जोशीले भने।  

एम्बुलेन्स विप्लव समूहले नियन्त्रणमा लिएको विषयमा कुनै औपचारिक जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी पुस्कर सिंह ऐरीले बताए। 

Skip This
Skip This
Logo