अमेरिका कसरी चुक्यो कोरोना नियन्त्रणमा ? नेपालले के सिक्ने ?

अमेरिका कसरी चुक्यो कोरोना नियन्त्रणमा ? नेपालले के सिक्ने ?


काठमाडौं ।

मुलुक यतिवेला लकडाउनमा छ । चैत्र २५ गतेसम्म बढाइएको लकडाउन अन्त्य हुन्छ कि अझ बढ्छ अझै यकिन छैन । सरकारले घोषणा गरेको लकडाउनलाई जनताले अहिलेसम्म पूर्ण रुपमा साथ दिएका छन् । जनताको अपेक्षा छ, सरकारले पनि यो लडकाउनलाई पूर्णरुपमा सदुपयोग गरोस र कोभिड–१९ को नियन्त्रणका लागि युद्धस्तरमा काम होस । तर, सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै विभिन्न क्षेत्रबाट तिव्र रुपमा आलोचना भईरहेको छ ।

हालै चीनबाट खरिद गरिएका केही सामग्रीहरु विवादमा परेका छन् र सप्लाई गर्ने कम्पनीसँगको सम्झौता नै रद्ध गरिएको छ । यसले गर्दा व्यापक मात्रामा परीक्षण हुन्छ अन्ने अपेक्षामा तुषारापात भएको छ । यति मात्र होइ्न, यसवीचमा राजनीतिक नेतृत्वका समेत विभिन्न कमजोरीहरु वाहिर आएका छन् । संघ, प्रदेश र स्थानीय सरकारको बीचमा पर्याप्त समन्वयको अभाव भएको भनी आलोचना भएको छ । हामीसँग पर्याप्त ३ महिनाको समय हु्ँदा पनि आवश्यक पर्ने आधारभुत सामग्रीहरु आएका छैनन् । यसले गर्दा कतै भोली ठूलो संख्यामा संक्रमितको संख्या देखियो भने कसरी धान्ने भन्ने चुनौती रहेको छ ।

उसो त हाम्रा सरकारी निकायले विभिन्न देशका सवल र दुर्वल पक्षहरुबाट पनि पाठ सिकेको देखिएन । कोरोना नियन्त्रणमा निकै सुविधा सम्पन्न र ठूला मुलुकहरुले समेत ठूलो कमजोरी गरेका छन, जसबाट हामीले पाठ सिक्न आवश्यक छ । अमेरिकी, इटाली र अन्य युरोपियन मुलुकहरु यसका उदाहरणहरु हुन् । हाम्रो सवालमा यतिसम्म कमजोरी देखिएको छ कि विदेशबाट आउने व्यक्तिहरुको सूची तयार पारेर उनीहरुलाई आइसोलेसन राख्ने काम समेत भएको छ । सरकार मात्र होइन, राजनीतिक दलहरुको भूमिका पनि एकदमै निष्प्रभावी देखियो । सरकारलाई सहयोग गर्नका लागि फिल्डमा राजनीतिक दलका कार्यकर्ताहरु आएको देखिएन ।

समयमा नै गम्भीर नहु्ँदा अवस्था कस्तो हुन्छ भन्ने यतिवेलाको ज्वलन्त उदाहरण अमेरिका हो । अमेरिकाले गरेका गल्तीहरुको बारेमा बीबीसीका अन्थोंय जुर्चेरले बीबीसी विश्व सेवाका लागि तयार पारेको सामग्रीहरुको सार संक्षेप हामीले अनुवाद गरेका छौं । हामीले अहिले जुन गल्ती गरिरहेका छौं , त्यही गल्ती अमेरिकाले दुई महिना अगाडी गरेको थियो । बीबीसीको सो रिपोर्टको सार संक्षेप यस प्रकार छ :

अमेरिकामा कोरोना भाइरस पहिलोपटक पत्ता लागेको दुई महिनाभन्दा बढी भईसकेको छ । त्यतिवेलादेखि देशभर नै यो फैलिएको छ र अहिले दुई लाख भन्दा बढी मानिसमा यो भाइरस देखिएको छ र त्यसमध्ये ४ हजारको मृत्यु भईसकेको छ । अमेरिका यतिवेला सो रोगको ग्लोवल इपिसेन्टर बनेको छ र अमेरिका यतिवेला चीन र इटालीमा भन्दा बढी संख्या देखिएको छ । सो भाइरसको शुरुवात चीनबाट भएको थियो र इटाली सबैभन्दा बढी प्रभावित थियो । तर, अहिले अमेरिकामा दुवै देशमा भन्दा बढी भाइरस देखिएको छ । स्वास्थ्य अधिकारीहरुले आगामी हप्ताहरुमा अमेरिकामा संक्रमितको संख्या अझै उच्च विन्दुमा पुग्नसक्ने बताइरहेका छन् । यतिवेला अमेरिकाका सवल र दुर्वल पक्षहरु सार्वजनिक भईरहेका छन् । ति मध्ये केहीको यहाँ व्याख्या गरिएको छ ।

मेडिकल सामग्रीको अभाव
मास्क, पन्जा र भेन्टिलेटर आधारभुत स्वास्थ्य सामग्रीहरु हुन् । देशभरका विशेषगरी सबैभन्दा बढी प्रभावित क्षेत्रका डाक्टर र अस्पतालले यी सामग्रीहरु पाउन निकै संघर्ष गरिरहनु परेको छ । उनीहरुलाई भाइरसबाट जोगाउनको लागि यी सामग्रीहरुको आवश्यकता पर्दछ । पर्याप्त सामग्रीहरुको अभावमा स्वास्थ्य कार्यकर्ताहरुले एउटै सामग्रीको पुनः उपयोग गर्नु परेको छ भने केहीले आफ्नै केही अस्थायी सामग्रीहरुको प्रयोग गर्नु परिरहेको छ । यति मात्र होइन देशभर नै भेन्टिलेटरको तिव्र आवश्यकता रहेको छ । अमेरिकाका राज्यहरुको विचमा यि उपकरणहरुको लागि एक प्रकारको प्रतिस्पर्धा नै रहेको छ । जर्न वासिङटन विश्वविद्यालयका प्रोफेसर जेफ्री लेभी भन्छन, ‘यस्तो नहुनु पर्ने थियो ।’ अमेरिकाले यस्तो महामारीसँग डिल गर्नका लागि जति तयारी गर्नुपर्ने र भण्डारण गर्नुपर्ने हो, त्यो नगरेको देखियो । यति मात्र होइन्, संकट आउँदैछ भन्ने थाहा हुँदा हुँदै पनि एकदमै धिमा गतिमा काम भयो । “हामीले धेरै हप्ता त्यतिकै गुमायौं जुन वेला हामीले आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामाग्री उत्पादन गर्न सक्थ्यौ र सरकारी निकायले यो समयको राम्रोसँग उपयोग गरेनन,’ उनले भने ।

परीक्षणमा ढिलाई
प्रोफेसर लेभीका अनुसार दक्षिण कोरिया र सिंगापुरले शुरुमा नै परिक्षणलाई जोड दिए जुन अमेरिकामा पनि गर्न सकिन्थ्यो । परिक्षण गर्न नसक्नु नै अमेरिकी सरकारको सबैभन्दा ठूलो विफलता भयो र यसले परिस्थितीलाई निकै जटील बनायो । “कुनै पनि महामारीलाई कसरी रेन्पोन्स गर्ने भन्ने कुरा परिस्थितीय जागरणमा भर पर्दछ, अहिलेको अबस्था के छ र के हुँदैछ भन्ने विषय वुझ्न आवश्यक छ ।’ यि सूचनाहरुको अभावमा स्वास्थ्यकर्मीहरु अन्धाधु्न्ध काम गरिरहेका हु्न्छन् र उनीहरुलाई भाइरसको अर्काे सम्भावित हटस्पट थाहा  हुँदैन । वृहत परिक्षणको अर्थ हो, इन्फेक्सन भएको मानिसहरुको पहिचान गर्ने र उनीहरुलाई एकान्तमा राख्ने काम हुन्छ । प्रोभेसर लेभीका अनुसार राष्टपति डोनाल्ड ट्रम्प प्रशासनको यो सबैभन्दा ठूलो असफलता हो । ‘यस प्रशासनको राजनीतिक नेतृत्वले वास्तवमा नै आफ्नो सरकारलाई विश्वास गर्दै यसले गर्दा संघिय सरकारको स्रोतहरु जुटाउने काममा नै असर गर्यो,’ उनले भने । फेव्रुअरीमा एकदमै कम प्रयोशालाहरुमा मात्र परिक्षण भयो, यो वास्तवमा नै यो प्रशासनको सबैभन्दा ठूलो गल्ती थियो । मार्चको मध्यसम्म प्रशासनले कम्तीमा ५० लाख मानिसको परिक्षण गर्ने बताएको थियो तर मार्चको अन्तिमसम्म करिब दश लाख मानिसको मात्र परिक्षण गरियो । यो निश्चय नै अन्य मुलुकको तुलनामा बढी हो तर अमेरिकाको जनसंख्या ३२९ विलियन रहेको छ । यति मात्र होइन्, परिक्षणमा अन्य धेरै कमजोरी देखिए ।

राजनीतिक झगडा
मंगलवार आयोजना गरिएको पत्रकार सम्मेलमा राष्टपति ट्रम्पले एकदमै निराशाजनक तस्वीर प्रस्तुत गरे । ‘आगामी दिनहरु एकदमै कठिन छन, त्यसैले म प्रत्येक नागरिकलाई त्यसका लागि तयार रहन आग्रह गर्दछु । उनका स्वास्थ्य सम्बन्धी सल्लाहकारहरुले सो भाइरसका कारण एक लाख भन्दा बढी मानिसको मृत्यु हुनसक्ने आंकलन गरेका छन् । तर यो उनको भनाई केही हप्ता अगाडी उनले गरेको घोषणाको ठिक विपरीत थियो, जतिवेला उनले अप्रिलको मध्यतिर अमेरिका व्यापारको लागि खुल्नसक्ने घोषणा गरेका थिए । जब जनवरी र फेब्रुअरी महिनामा चीनमा निकै महामारी थियो र इटालीमा मान्छेहरुको भटाभट मृत्यु भईरहेको थियो, त्यतिवेला ट्रम्पले यो विषयलाई प्राथमिकता दिएनन् । जव अमेरिकामा केही केसहरु देखिन थाले उनीहरुले अवस्था एकदमै नियन्त्रणमा रहेको र यसलाई तुरुन्त समाधान गरिने बताए । ‘उच्च राजनीतिक नेतृत्वबाट आएको निरन्तरको असंगतीपूर्ण सन्देशहरु नै वास्तवमा समस्या थिए,’ प्रोफेसर लिभी भन्छन,‘ महामारीसँग लड्ने तयारी भनेको निरन्तर परिवर्तन भइरहने वातावरण हो, कतिपय सन्दर्भमा तपाईको सन्देश नै परिवर्तन हुनसक्छ । तर सन्देशहरु केही भइरहेका छन् भन्ने विषयलाई प्रतिविम्वीत गर्ने खालको हुनुपर्छ ।’ ट्रम्पले ट्वीट मार्फत कतिपय स्टेट गर्भनरहरुको समेत आलोचना गरे ।

सामाजिक दुरी कायम गर्न असफलता
रोग नियन्त्रणका लागि सामाजिक दुरी महत्वपूर्ण हुन्छ । तर यस विषयमा विद्यार्थीहरु समुन्द्रको किनारमा खेल्न भए । न्यूर्याेक शहरमा निजी कार र सार्वजनिक सवारीको भिडभाड थियो । त्यसैगरी लुसियानमा चर्च संचालनमा नै थिए । जसले जे भनेपनि सामाजिक जमघटमा कुनै पनि कमी आएन । अमेरिकी सरकारी अधिकारीहरुले सामाजिक दुरी कम गर्न आग्रह गरेपनि मानिसहरुले त्यसलाई टेरेनन् । वास्तवमा यस विचमा सामाजिक दुरी राख्ने कार्यलाई खासै ध्यान दिइएन् ।

त्यसैले सामान्य जनता मात्र होइन्, सरकार, राजनीतिक दल र सबैले यो लकडाउनको अवधीलाई पूर्ण रुपमा सदुपयोग गर्नुपर्ने आवश्यकता छ । लकडाउन उच्च विकल्प भएपनि सधैको लागि यो उचित विकल्प होइन्, यसले भर्खरै वामे सर्न लागेको हाम्रो अर्थतन्त्रलाई ध्वस्त बनाउने छ । त्यसैले अमेरिका, इटाली जस्ता मुलुकले गरेका गल्तीहरुलाई हामीले समयमा नै सम्वोधन गर्न आवश्यक छ । हामीकहाँ पनि अहिले तत्काल गर्नुपर्ने भनेको वाहिरबाट आएकाहरुको परिक्षण नै हो । व्यापक परिक्षणपछि मात्रै हामी अहिले कुन ठाउँमा छौ भन्ने निक्यौल हुन्छ । त्यसैले सरकारले यस विषयलाई गम्भीर रुपमा मनन् गर्न आवश्यक छ । 

Logo