वास्तविक सहिदको अवमूल्यन नहोस्

वास्तविक सहिदको अवमूल्यन नहोस्

केन्द्रबिन्दु
0
Shares

  • डा. टीकाराम पोखरेल

राणा शासनको पतनदेखि राजतन्त्रको अन्त्यसम्मका लागि भएका विभिन्न आन्दोलनहरुमा धेरै सपुतहरुले शहादत प्राप्त गरे । ती मध्ये धेरै ज्ञात भएपनि कति अज्ञात छन् । लखन थापालाई नेपालको पहिलो सहिद भन्ने गरिए पनि वि.सं. १९९७ सालमा राणाशासकहरुद्वारा मृत्युदण्ड दिइएका गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको नाम सहिदको अग्रपंक्तिमा आउने गर्दछ । सहिद शब्द सुन्नासाथ ती चार जना सपूतहरुको काठमाडौँको सहिदगेटमा राखिएको शालिक र उनीहरुको सार्वजनिक स्केच फोटो हाम्रो मानसपटलमा बिम्ब बनेर आउँछ ।

वि.सं. १९९७ साल माघमा पचली टेकुस्थित बकाइनोको रुखमा शुक्रराज शास्त्रीलाई झुण्ड्याएर मारिएको थियो । सिफलमा धर्मभक्त माथेमाको हत्या गरियो । दशरथ चन्द र गंगालाल श्रेष्ठलाई काठमाडौँको शोभा भगवतीमा निर्मम तरिकाले गोली हानी हत्या गरियो । उनीहरुलाई यसरी हत्या गरिएको झण्डै १० वर्षपछि वि.सं. २००७ सालमा नेपालमा प्रजातन्त्रको उदय भयो । त्यस पछाडि भएका विभिन्न आन्दोलनहरुमा सहिदहरुको संख्या थपिँदै गयो । तर सहिदहरुको उचित सम्मान नभएको गुनासो भने सर्वत्र हुन थाल्यो ।

सरकारले घोषणा गरेका सहिदहरु बाहेक आन्दोलनरत दलहरुले पार्टीहरुले राज्यसत्ताद्वारा मारिएका आआफ्नो पार्टीबाट कार्यकर्ताहरुलाई सहिद घोषणा गर्ने क्रमले पनि तीव्रता पायो । सुखानी, छिन्ताङ, पिस्कर, टिम्बुरबोटे जस्ता चर्चित काण्ड लगायतमा पञ्चायती शासकद्वारा मारिएकाहरुलाई तत्कालीन अवस्थामा आन्दोलनकारीले सहिद घोषणा गरे । पछि यी काण्डमा मारिएकाहरु सरकारको सहिद सूचीमा परे । माओवादी द्वन्द्वमा मारिएका आफ्ना सबै कार्यकर्ताहरुलाई तत्कालीन माओवादीले सहिद घोषणा ग¥यो । पहिले माओवादीले घोषणा गरेकाहरु सबै दोस्रो जनआन्दोलनपछि सरकारबाट समेत सहिद घोषित भए । मधेश आन्दोलनका दौरान मारिएकाहरु पनि सहिदको सूचीमा परिसके । चरण चरणमा भएको घोषणाबाट यतिखेर सहिदहरुको संख्या निकै ठूलो भैसकेको छ ।

वास्तविक सहिदहरू को हुन् ? शब्दकोषमा ‘आफ्नो ज्यानको कुनै पर्वाह नगरी राष्ट्र र जनताको मुक्तिका लागि आफ्नो बलिदानी दिने वीर सपुतहरूलाई सहिद भनिन्छ’ भनी उल्लेख भएतापनि पछिल्लो समय सहिद शब्दकै दुरूपयोग हुने गरी सहिद घोषणा हुन थालेको छ । देशभित्र हुने हिंसात्मक खालका विभिन्न आन्दोलन, राजनीतिक कार्यक्रमका क्रममा मारिएकाहरूलाई समेत सरकारले सहिद घोषणा गर्ने गलत परम्पराका कारण नेपालमा दिनानुदिन सहिदहरू थपिने क्रम जारी छ । पछिल्ला केहीवर्षदेखि दुर्घटनामा ज्यान गुमाउने, चोरीडकैती गर्दा ज्यान गुमाएकालाई पनि सहिद घोषणा गरिएको छ । कतिपय अवस्थामा दलहरुले आफ्नो कार्यकर्तालाई भागबण्डा लगाएर दलीय हिसाबले सहिद घोषणा गरिरहेका छन् । वास्तविक सहिदका परिवारले यस्ता कार्यको विरोध गर्दा पनि यो क्रम रोकिएको छैन । आन्दोलनकारी मात्र होइनन् सशस्त्र विद्रोेहका क्रममा मारिएका सुरक्षाकर्मीहरु पनि सहिदको सूचीमा परिसकेका छन् ।

हुन त कसलाई सहिदको दर्जामा राख्ने कसलाई नराख्ने भन्ने पनि जटिल विषय नै छ । तर पनि सहिद घोषणा जस्तो गम्भीर विषयमा सरकारले जथाभावी निर्णय गर्दा सहिदको वास्तविक मर्म र भावनामाथि तुषारापात हुने मात्र होइन स्वयम सहिदको अवमूल्यन हुन जाने र राष्ट्रकै बेइज्जत हुने गर्दछ । राष्ट्र अनि जनताको मुक्ति र स्वतन्त्रताका लागि प्राण आहूति दिने ती वीर सहिदहरूलाई मात्र राष्ट्रको तर्फबाट सम्मान गर्नुपर्नेमा दलीय सहिद घोषणा गर्नु भनेको देश र जनतामा समर्पित भई आफ्नो ज्यान गुमाएका सहिदहरू प्रति अपमान गरेका ठहर्छ ।

सच्चा सहिद सत्ता परिवर्तनको भन्दा बढी व्यवस्था र युग परिवर्तनको वाहक हुन् । तर विगत केही वर्षको अभ्यासमा सहिद लेनदेनको पात्र बनेको छ । सरकारले सहिद घोषणा गर्ने सम्झौता गर्छ । यसो गर्दै जाँदा सहिदको संख्या बढेको छ, तर सहिद अपमानित छ । नेपालमा पछिल्ला वर्षहरुमा सहिद उद्योग फस्टाएको छ । दोहोरो झडप र सवारी दुर्घटनामा मारिएका समेत सहिद हुनुपर्ने परिवारले माग गर्छन् । मारिएका सबैलाई सहिद उपाधिसँगै उनीहरूका परिवार तथा आफन्तलाई जनही दशलाखको हिसाबले राष्ट्रको ढुकुटीबाट तिरिएको छ । यो क्रम निरन्तर जारी छ । वास्तवमा सहिदको सम्मान रुपियाँमा हुँदैन । वास्तविक सहिदले त आफ्नो मृत्युमा सम्मान हासिल गर्दछ, समस्त मुलुकको लागि उसले प्राण उत्सर्ग गरेको मानिन्छ । परिवार या आफन्तलाई केहीलाख रुपैयाँ दिलाउनुमा सम्मान हुने होइन । तर नेपालमा आन्दोलनमा मारिने हरेक कार्यकर्तालाई सम्बन्धित दलले सहिद घोषणा गरेर, गराएर सहिद शब्द र मान्यताको अवमूल्यन गरेका छन् ।

एकातिर अन्धधुन्ध सहिद घोषणा गरेर वास्तविक सहिदको अपमान गरिएको छ भने अर्कोतर्फ सहिदहरुको सपना पूरा गर्ने कुरामा पनि खासै उपलब्धि हुन सकेका छैनन् । नेपाली जनताका चाहना र सहिदको सपना साकार पार्ने गरी शासन पद्घतिमा प्रजातान्त्रिक संस्कार र भ्रष्ट्राचाररहित सुशासन स्थापित हुन सकिरहेको छैन । सच्चा सहिदहरूको बलिदानीकै कारण आम नेपाली नागरिकहरू सार्वभौम हुन पाएको कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन । आज सहिदहरुको बलिदानीलाई सहिद दिवसमा मात्र सम्झेर औपचारिकता निर्वाह गर्न खोजिएको छ । औपचारिकताको दिवसले मात्र सहिदको सम्मान हुँदैन । राणाशासनदेखि राजतन्त्रको अन्त्य गर्नेसम्म वीर सहिदले गरेको बलिदानीका कारण आज मुलुकले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरे पनि सहिदलाई सम्मान गर्नुका सट्टा आजको दिनमा दिइँदै आएको सार्वजनिक बिदापनि कटौती गरिएको छ ।

कुनै विश्वास वा सिद्धान्तका लागि जानीजानी जीवन सुम्पने व्यक्ति सहिदको परिभाषामा पर्दछ । अर्थात देश, काल, परिस्थिति र जनताका लागि जीवन आहुती दिने व्यक्ति सहिद हो । आज सहिद घोषणामा सहिद हुनुको भावना र मर्मलाई बुझ्न सकेको भए सहिदको साँच्चै नै सम्मान हुन्थ्यो । सहिद सबैको मान्य र साझा हुन्थ्यो, तर साझा नभएकै कारण सबैको सम्मानका पात्र हुन सकेका छैनन् । कारण योगदानका आधारमा नभई राजनीतिक भागबण्डामा सहिद घोषणा गर्नु नै हो । पछिल्लो समय त झनै कुनै मापदण्ड विनानै धमाधम सहिद घोषणा गरियो ।

पञ्चायत व्यवस्थामा राजनीतिक स्वतन्त्रता थिएन । आआफ्नो सिद्धान्त अनुसारको राज्य स्थापनाका लागि त्यतिबेला प्रतिबन्धित वा भूमिगत रहेका राजनीतिकदलहरूले सशस्त्र र शान्तिपूर्ण दुवै प्रकारका आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा धेरै राजनीतिक कार्यकर्ता सरकारी सुरक्षाकर्मीका हातबाट मारिए । विसं २०४६ को जनआन्दोलनले राजाको अधिनायकवादी शासन अन्त्य गरेपछि पहिलेको आन्दोलनमा मारिएका सबैलाई सहिद घोषणा भने गरिएको थिएन । किनभने उनीहरू सर्वस्वीकार्य शाश्वत मान्यताभन्दा निश्चित राजनीतिक सिद्धान्तको विजयका लागि संघर्षरत थिए । राणा शासनको अन्त्यका लागि जीवनको आहुति दिने सहिदहरू भने नेपाली सबैका साझा थिए । यसरी नै साझा बनाउन सकेको भए सहिदको साँच्चै नै सम्मान हुन्थ्यो र तिनका सामु सबै नतमस्तक हुन्थे । तर, २०६३ पछि घोषणा गरिएको सूचीमा भएका नामहरू भने साझा र सबैको सम्मानका पात्र हुन सकेको देखिँदैन । वास्तविक सहिद को हुन् भनेर पहिचान गरी सिफारिस गर्न सरकारले सिफारिस समिति बनाएपनि त्यस्ता समितिका सिफारिसहरु प्रति पनि नागरिकको उच्च सम्मान देखिएन ।

सहिदहरुप्रति सच्चा सम्मान गर्ने हो भने सहिद के हो भन्ने कुरा स्पष्ट हुनु आवश्यक छ । सहिद घोषणा गरिएकाहरुलाई अब सहिद होइनन् भन्न संभव छैन, त्यसैले घोषणा भैसकेका सहिदहरुको वर्गीकरण आवश्यक छ । अब सहिद घोषणा गर्दा सहिद हुन सक्ने स्थिति हो कि होइन स्पष्ट भएर मात्र घोषणा गर्दा उपयुक्त हुन्छ । अर्कोतिर वास्तविक सहिदले देखेका सपना पनि पूरा गर्नुपर्छ । तर सहिद लेनादेनाको विषय हुनु हुँदैन । क्षतिपूर्ति लिएपछि सहिद हुनुको महत्व घट्न सक्ने तर्फ परिवारले पनि ध्यान दिनुपर्छ । सहिद पार्टी, वर्ग, समूह, क्षेत्रको हुँदैन, मुलुकको मात्र हुन्छ र त्यो साझा हुन्छ । सबैको साझा भए मात्र त्यो सहिद हुन लायक हुन्छ भन्ने कुरा घोषणा गर्नेहरुले बुझ्नु जरुरी छ । त्यसैले अन्धधुन्ध सहिद घोषणा गरेर सहिदको नै अपमान नगरौँ । सहिदको गरिमा र मर्यादा कायम राखौँ । सहिदप्रति नतमस्कतक हुने वातावरण सिर्जना गरौँ ।

Logo