सुक्दै पानीका मुहान, गहिरिँदै पानीको सङ्कट

सुक्दै पानीका मुहान, गहिरिँदै पानीको सङ्कट

केन्द्रबिन्दु
98
Shares

चैत सकिएर वैशाख लाग्दैछ। नयाँ वर्षले हर्षोल्लास ल्याउनुपर्ने बेला गत फागुन अन्त्यदेखि नै बढ्दै गरेको पानीको हाहाकार झन् चर्किंदै गएपछि महोत्तरीका बासिन्दा चिन्तित बन्न थालेका छन्। अहिले नै पानी नपाइँदा अब वैशाख, जेठको प्रचण्ड रापमा के होला भन्ने चिन्ताले यहाँ सर्वसाधारण पिरोलिएका छन्। जरुवा सुके, इनारमा पानीको सतह गहिरिँदै छ। खानेपानीका धारा चल्न छाडेका छन्।

यहाँ सदाकाल भुलभुल गर्दै पातालको पानी निकाल्ने भूल (जरुवा पानीका मुहान) वरपर कमिलाका ताँती देखिन्छन्। जिल्लामा भुल्के पानीको प्रसिद्धि पाएका बर्दिवास–१२ को जुडी र भङ्गाहा–४ पलारको जोकाहा भूल (जरुवा) सुकेका त चार÷पाँच वर्ष नै भइसक्यो। जुडी र जोकाहाको भुलको पानीको सिँचाइ हुने भनेपछि धान, गहुँ उत्पादनमा नम्बरी (उम्दा) मानिएका खेत अब बर्खाको पानी नभेटुञ्जेल गखरक्क रहन्छन्।

‘यो उही जुडीटोल हो भन्ने पत्याउन पनि खै के खै के जस्तो हुन्छ, बाहै्रमास पानी चल्ने जुडी जरुवामा अब नयाँ पुस्तालाई यहाँ पानीको मूल (भूल) थियो भन्दा उदेक मान्छन्’, बर्दिवास–१२ का सामाजिक, राजनीतिक कार्यकर्ता ७५ वर्षीय प्रमोदकुमार सिंह भन्छन्, ‘यही जुडी भुलको परिचयले यहाँका खेत उम्दा मानिन्थे, अब कथाजस्तो भयो।’

यसैगरी जोकाहा भुल (जरुवा) सुकेको पनि पाँच वर्ष नाघिसकेको पलारका ८० वर्षीय चौठी बाँतर बताउँछन्। ‘जोकाहा भूलकै बाँधबाट एक सय बिघाभन्दा बढी जग्गामा सिँचाइ पुग्थ्यो, जोकाहा जरुवा थाहा पाएका बटुवा यहाँको पातालबाट भुल्कने पानी खान तिर्खा साँचेर यहाँ आउँथे, देख्दादेख्दै सबै कथाजस्तो भयो’, बाँतर विरक्तिँदै भन्छन्।

यी जस्तै जिल्लाका जिबछी, कुटमेश्वरी, पानीखोल्सी, हर्दी, झिल र भुताहासहितका भुलभुले पानीका जरुवा सबै मरे। कतै पानी देखिन्न। पोखरी, तलाउको धनी मानिने जिल्लाका धेरैजसो यस्ता स्रोत सुकेका छन्। जिल्लाका दक्षिणी भेगका पोखरीमा अझै केही पानी देखिएपनि उत्तरी क्षेत्रमा नामनिसान देखिदैन। ‘पोखरी, डबरा (खाल्डा) सबै सुके, पशुबस्तुलाई नुवाइधुवाइ गराउन छाडियो’, भङ्गाहा–४ रामनगरका ६० वर्षीय महारुद्र चौधरी थारु भन्छन्, ‘अब कठिन दिन आउँदैछन् जस्तो लाग्छ।’

यसैगरी अहिले चैत नसकिँदै खानेपानीका स्रोतका मुहान पनि सुक्दै जाँदा खानेपानीको सङ्कट बढ्दो छ। ‘हेर्नोस् न, धारामा पानी झर्नै छाड्यो’ घरआँगनको खानेपानी धाराको टुटी खोल्दै बर्दिबास–२ की गृहिणी नगिना महतो भन्छिन्, ‘अब नुवाइधुवाइ, सरसफाइको कुरै छाडौँ, घाँटी भिजाउने पानी पनि पाइने छाँट देखिदैन।’ चैत नबित्दै बनेको यो अवस्थाले वैशाख\जेठको दुबो मर्ने तापमा के होला ? भन्ने नगिनाको थप चिन्ता छ। दिनहुँजसो बिहानपख धारा मर्ने गरेको नगिना बताउँछिन्।

बर्दिवासका खानेपानी धारा जडित बस्तीमा सबैतिर पानीको अभाव बढेको छ। चुरे शृङ्खलाका खोचबाट निस्कने नदी, खोल्साखोल्सी र जरुवा पानीका मुहानबाट पाइप ओछ्याएर पानी भण्डारण गरी धाराबाट वितरण गरिदै आइएका बस्तीमा अहिले पानी आउन छाडेको हो। ‘धारामा कतिखेर पानी आउला भनेर बाटो हेरिन्छ’ बर्दिबास–१४ की सुनिता साह भन्छिन्, ‘पानी बढी चाहिने बिहानपख नै धारा मा पानी आउँदैन।’ अरु आवश्यकता जे जसरी टारिए पनि पानी नै नपाइँदा त सास अल्झाउनै नपाइने पो हो कि भन्ने चिन्ताले पिरोल्न थालेको सुनिता बताउँछिन्। जतिखेर पनि पानी आइरहने धारामा अब त कतिबेला पानी आउँछ भनेर ताक पर्खनु पर्ने भएको गृहिणी बताउँछन्।

बर्दिवास नगर क्षेत्रका १, २, ३, ४, ५, १०, ११ र १४ का वडाबस्ती खानेपानी धारामा आश्रित छन्। वडानम्बर ६, ७, ८, ९, १२, १३ मा यसरी टङ्कीमा भण्डारण गरेर धाराबाट वितरण गरिएसँगै इनार पनि विकल्पमा प्रयोग गरिन्छन्। अहिले नदी, खोल्साखोल्सी र जरुवा पानीका मुहान सुक्दै गएर पानी भण्डारण घट्दा वितरणमा समस्या आएको हो। यसैगरी इनारको पानीको सतह पनि दिनदिनै गहिरिदै गएपछि मोटरले पानी तान्न छाडेको बर्दिबास–१२ का रामविलास सिंह कुशवाहा बताउँछन्। ‘मोटरले त तान्न छाड्यो, अब त डोल पनि डुब्दैन’, कुशवाहा भन्छन्। मोटरले पानी तान्न छाडेर डोल (बाल्टिन) झार्दा त्यो पनि डुब्न छाडेको बिजलपुराबासी बताउँछन्।

जिल्लाभरि नै पानीको सतह गहिरिँदै गए पनि उत्तरीक्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रका एक सयभन्दा बढी टोलबस्तीमा अहिले खानेपानीको समस्या बढेको छ। नदी, खोल्साखोल्सी र जरुवाका मुहान सुक्दै गएपछि पानी निकै कम भण्डारण भइरहेको हुँदा पहिलेजस्तो पर्याप्त पानी धारामा आउन छाडेको बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कोषाध्यक्ष भोजप्रसाद फुयाल (शङ्कर) स्वीकार गर्छन्। यद्यपि बस्तीबस्तीमा पालो मिलाएर धारामा पानी दिदै आइएको उनको भनाइ छ। ‘पानीका स्रोतका मुहान नै सुकेका छन्, यसले गर्दा पानी कम हुनु त स्वाभाविक नै भयो’, फुयाल भन्छिन्, ‘हामी मुहान सफा गर्ने र वैकल्पिक उपायको अवलम्बनमा लागेका छौँ।’

Logo