काठमाडौँ । नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको पृथक् महत्त्व छ । समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ जुन कुरो हाम्रा पर्वहरूमा सहजै दृष्टिगोचर हुन्छन् । तीजको महत्त्व नेपालमा मात्र होइन, विश्वभर छरिएर रहेका हिन्दुहरूका लागि उत्तिकै महत्त्वपूर्ण र सान्दर्भिक छन् । विशेषगरी तीजमा व्रत बस्ने परम्पराको आफ्नै महत्त्व छ ।
चाडपर्व वा तीजमा तीन प्रकारका व्रत बस्ने चलन छ । निराहर व्रत तीन प्रकारको हुने शास्त्रमै उल्लेख छ । निराहार, जलाहार र फलहार व्र्रत बस्ने गरिन्छ । क्षमताले भ्याएसम्म निराहार व्रत बस्नुपर्छ । शरीरले सक्दैन भने जलाहार र फलहार व्र्रत बस्न सकिन्छ । वृद्ध, बालक र गर्भवती महिलाहरू तथा साथमा बच्चा भएका महिलाहरूले व्रत बस्नैपर्छ भन्ने शास्त्रमा उल्लेख गरिएको छैन ।
शारीरिक अवस्था कस्तो छ, त्यो अनुसार महिलाहरुले व्रत गर्न सकिन्छ । जस्तैः महिलाहरूले हरितालिकाको व्रत गर्ने भनेको पतिको सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायुको कामना गरेर विवाहित महिलाहरूले व्रत बस्ने हो भने अविवाहितहरूले सुयोग्य वर प्राप्तिको कामना गरेर व्रत बस्ने हो ।
विवाहित महिलाहरुले आफ्नो पतिको दीर्घायुको कामना गरेर व्र्रत बस्छन् । पुरुषहरूले किन व्रत गर्दैन भनेर प्रश्न पनि उठ्ने गरेको छ । व्रतका नाममा विकृतिहरू पनि समाजमा फैलिएका छन् । हरितालिका तीज नेपालमा र भारतमा अलिक फरक छ । भारतमा करुवा चौथी भनेर भन्छन्, यता तृतीयालाई मान्छौँ । भारतमा चौथीलाई मान्छन् भने हामी तृतीयालाई हरितालिका तीज भन्छौँ । भारत वा नेपालको मनाइने पर्वको लक्ष्य एउटै हो । तर भारतीयले चन्द्रमाको चाँदलाई हेर्छन् भने नेपालीले तीजलाई हरितालिकाको रुपमा मान्छन् ।
तृतीयाको दिन राति दर खाने, व्रत बस्ने र पञ्चमीमा पूजा लगाएर यसलाई समापन गर्ने गरिन्छ । पञ्चमीलाई पूर्वी सिक्किमदेखि भारतको कोलकत्तासम्मको क्षेत्रमा पञ्चमीलाई मान्छन् । हिजोआज तीजमा मेला लगाउने चलन छ तर मेलाका नाममा विकृति मौलाएको छ । महिलाहरु दरमा दारु पिएर रमाइलो गर्छन् । तीज भनेर पर्व र शास्त्रको रुपलाई कुरुप बनाइँदै छ । यो हामी समृद्ध भएर हो या मान्छे धनी भएर हो ? बुझ्न सकिएको छैन । हिजोको दिनमा त अभाव थियो, चाहेर पनि सम्भव थिएन । समाज एउटा नैतिक चरित्रमा र शास्त्रीय कुरामा बाँधिएको थियो, अहिले बन्धनहरुबाट समाज धेरै खुला हुँदै गएको छ ।
अहिलेको समाजमा न त शास्त्रको मर्यादा छ, न कुलकोपरम्परा छ, न लोकाचार छ । लोकाचार, कुलाचार, शास्त्राचार मान्ने चलन हराएको छ । तीजको संस्कृति र संस्कारमा आँच आएको छ । यी तीनवटै चिजहरुबाट समाज विस्तारै स्खलित हुँदै गइरहेको अवस्था छ । हुन त हिजोआज समाजमा पुरुषले किन व्र्रत गर्दैनन् भन्ने प्रश्न उठछन् । तर पुरुषले निरन्तर गर्ने कर्ममा उसले आफ्नो अर्धांगिनीका लागि नित्यकर्म गरिरहेको हुन्छ ।
अहिलेको समाजमा न त शास्त्रको मर्यादा छ, न कुलको परम्परा छ, न लोकाचार छ । लोकाचार, कुलाचार, शास्त्राचार मान्ने चलन हराएको छ ।
वैज्ञानिक दृष्टिकोणले पनि हाम्रो शरीरलाई आराम दिनका लागि हप्तामा एकदिन भए पनि व्र्रत बस्नुपर्छ भनेको छ । यसका धेरै फाइदाहरू छन् । विशेष रुपमा दिदीबहिनी, चेलीबेटी वर्ष दिनमा आफ्नो आफ्नो कर्म घरमा बसेर भेट हुन नपाएकाहरू एक ठाउँमा जम्मा भएर आफ्नो पीडाहरुलाई भगवान्को नामसँग जोडेर गीत बनाएर आफ्नो पीडाहरुलाई र खुसीहरुलाई एकआपसमा बाड्ने र नाँच्ने रमाउने प्रचलन हो ।
यसका साथै अहिले तीजको गीतको कुरा गर्ने हो भने यति कुरुप भइरहेको छ कि परिवारहरुसँगै बसेर हेर्नका लागि पनि आँखा छोप्नपर्ने अवस्था छ । संस्कृति, शास्त्र, सामाजिक र पारिवारिक मर्यादाभन्दा तल गइसकेको अवस्था छ । क्षणिक कमाइका लागि धेरैले यसलाई प्रगति भन्लान् तर म स्वीकार्न सक्दिनँ । सबैभन्दा ठूलो कुरा मेरो अस्तित्व, संस्कार कमजोर भयो भने म पनि अपाङ्ग हुन्छु । मेरो समाज र पहिचान अपाङ्ग हुन्छ । मेरो राष्ट्रले बोकेको सांस्कृतिक धरातल कमजोर भयो भने राष्ट्र कमजोर हुन्छ । त्यसैले सचेत हुने बेला आएको छ ।
प्रतिक्रिया