नेपालको बाग्मती प्रदेशको राजधानी हेटौंडामा राप्ती नदीको किनारमा एकजना साधु बस्दथे । उहाँको जन्म कहिले भयो भन्ने यथेष्ट प्रमाण फेला परेको छैन । उनको जन्म मार्ग शुक्ल दत्तात्रये जयन्तीका दिन भारतको महाराष्ट्र राज्यको रत्न गिरजिल्लामा भएको थियो । उनी गोख्ले परिवारमा जन्मेको हुनाले उनको नाम नै गोख्ले बाबा हुन गयो । उनी धर्मशास्त्र, आयुर्वेद, जडीबुटी तथा सङ्गीत कलाका ज्ञाता थिए । उनले हाल मध्यप्रदेश राज्यमा पर्ने ग्वालियर दरबारमा सङ्गीत सिकाउँथे ।
ओशो तपोवनका संस्थापक तथा ओशोका अन्तरङ्ग शिष्य स्वामी आनन्द अरुणले गोख्ले बाबालाई ११० वर्षको उमेरमा हेटौंडामा गोख्ले बाबाकै कुटीमा भेटेका थिए । यस पंगतीकारले स्वामी आनन्द अरुणबाट सत्संगको क्रममा गोख्ले बाबाको सम्बन्धमा धेरै पटक सुनेको छ । गोख्ले बाबाले रामकृष्ण, बिबेकानन्द, शिवपुरीबाबा र रमण महर्षिलाई भेटेका थिए । स्वामी आनन्द अरुणले गोख्ले बाबासँग बिताएका क्षणहरूको आफ्नो पुस्तक सन्त गाथामा विस्तृत व्याख्या गरेका छन् ।
त्यसैगरी उनले ओशो तपोवन काठमाडौंमा र अन्य ठाउँमा हुने ध्यान शिविरहरूमा बेलाबेलामा सत्संगको क्रममा गोख्ले बाबाको बारेमा अत्यन्त आदरका साथ बत्ताउँछन् । चितवनबाट हेटौडा पुग्नुअघि राप्ति नदीको पुल वारी माथि जंगलमा गोख्ले बाबाको झ्याल र ढोका समेत नभएका अति सामान्य दुई वटा कुटी थिए । आश्रममा सम्पत्तिको नाममा केही भाँडाकुँडा, दुई वटा खाट, एउटा छाता , केही सिसाका ग्लास र केही कपडा मात्र थिए ।
उनले हेटौंडाका एक किनारा पसलेलाई केही पैसा दिएका थिए र त्यही पैसाको ब्याज स्वरूप पसलेले उनलाई दाल, चामल, चिनी चिया पत्ती लगायत रासन पानी उपलब्ध गराउँथे । यसरी उनको जीविका चलेको थियो । कुटिको अगाडि दत्तात्रयेको सानो मूर्ति स्थापित थियो । त्यहाँ उहाँले हरेक दिन दत्तात्रयेको आरती गर्थे । कुटी परिसरमा कुकुरका छाउरा, बाँदर, खरायो आदि खेलिरहन्थे ।
नेपालका राणा प्रधानमन्त्री चन्द्र शमसेर ग्वालियर दरबारमा गएको बेला गोख्ले बाबासँग भेट भएको थियो । र, चन्द्र शमशेर बाबासँग प्रभावित भई बाबालाई उनले नेपाल आमन्त्रण गरेका थिए । चन्द्र शमशेरको निमन्त्रणालाई स्वीकार गरी गोख्ले बाबा सन् १९२७ मा नेपाल आएका थिए ।
उनी बाटोमा दिन दुखीहरूको सेवा गर्दै दिल्ली, पटना हुँदै पर्सा जिल्लाको रक्सौलबाट नेपाल छिरेका थिए । रक्सौलबाट अमलेखगन्ज, हेटौडा, भीमफेदी, चिसापानी गढी , कुलेखानी, चित्लांग, चन्द्रागिरी, थानकोट हुँदै काठमाडौं आइपुगे । उनी काठमाडौँ आएपछि उनले दरबारमा प्रधानमन्त्री, मन्त्रीहरू, उच्चपदस्थ अधिकारीहरू लाई सङ्गीत सुनाउने, आयुर्वेदिक तरिकाले औषधि उपचार गर्ने अनि संस्कृत पढाउने गर्दथे ।
उनले वि.सं. १९९० साल माघ २ गते गएको महाभूकम्पमा घाइते र अङ्गभङ्ग भएका सर्वसाधारण व्यक्तिहरूको सक्रिय रूपले उपचार गरी सेवा गरेका थिए । बि. स. १९९९ को अन्त्यतिर उनी काठमाडाैं छोडी मकवानपुरको भीमफेदी आएर बस्न थाले । भिमफेदीको भिमसेनस्थानमा भजन कीर्तन, प्रवचन तथा परोपकारी कामहरू गर्न थाले । त्यसपछि बि. स. २०२१ सालमा उनी हेटौडाको राप्ती किनारमा चितवन बाट हेटौडा जाँदा राप्ति नदीको पुल वारि माथि जंगलमा कुटी बनाएर बस्न थाले ।
उनले हेटौंडामा युवाहरूलाई पढाउने र औषधि उपचार गरी सेवा गरे । हिन्दु धर्मका प्रकाण्ड विद्वान्, कुशल सङ्गीतकार, मिठो स्वरका धनी अनि आयुर्वेदका ज्ञाता थिए उनी । जडीबुटी कुटेर औषधि बनाउँदथे । कुटीमा जाने जो कोहीलाई पनि केही न केही खुवाउँथे । प्राय उनले कुटीमा आउने व्यक्तिहरूलाई कालो चिया खुवाउँथे ।उनी आफ्नो बारेमा केही बताउँदैन थिए । जीवनका पछिल्ला दिनहरूमा उनको सम्पर्कमा अत्यन्त कम मान्छेहरू आए । उनको जीवन अज्ञात नै थियो । तथापि उनलाई भेट्न दिन दुखीहरू, कहिलेकाहीँ उच्च पदस्थ कर्मचारी, मन्त्रीहरू समेत उनको कुटीमा जान्थेँ ।
उनी प्रत्येक बिहान घन्टौं साधनामा बस्थे । उनी प्रत्येक वर्ष शरीरले साथ दिएसम्म वैद्यनाथ धामको यात्रा गर्थे । जहाँ उनलाई आराध्य दत्तात्रयेको शरीर दर्शन हुन्थ्यो । उनी चतुर्मास र सबै एकादशी तिथिहरूमा निराहार व्रत बस्दथे । उनी २४ घन्टे, ७ दिने, १५ दिने, र एक महिनासम्म पानी मात्र पिएर निराहार व्रत बस्थे । उनी कहिले दूधले मात्र कहिले माटो दलेर र कहिले खरानी दलेर नुहाउँथे । उनको भोजनमा कहिले गुहको रोटी त कहिले मकैको रोटी हुन्थ्यो ।
तान्त्रिक विधामा पनि निपुर्ण उनले दिएको जडीबुटीबाट कुष्ठरोग पनि निको भएको उदाहरणहरू धेरै छन् । गरिब निमुखाहरूलाई निःशुल्क शिक्षा, औषधि उपचार, भोजन र उपदेशहरूले उनी धेरैकाबीच लोकप्रिय थिए ।
गोख्ले बाबाले महान गुरु ओशो प्रति अत्यन्त सम्मान व्यक्त गर्दथे । गोख्ले बाबाले भन्ने गर्थे, ‘बुद्ध र शङ्कराचार्य जस्तै ओशो तेजस्वी र प्रज्ञावान् हुनुहुन्छ ।’ ओशोका नौला र क्रान्तिकारी बिचारसँग पनि आफ्नो पूर्ण सहमति जनाउने उनका दुई भारतीय भक्त थिए । एकजना बिहार युनिभर्सिटीका अंग्रेजी विभाग प्रमुख र अर्को बङ्गाल पुलिसका एस. पी. । यी दुई जना आफूले भ्याएसम्म छुट्टीमा बाबासँग सतसँग गर्न आइरहन्थे र बाबाको सेवा गर्थे । उनका ति दुई जना शिष्यहरूका अनुसार बाबाका धेरै सिद्धिहरू थिए ।
बाबा जहिले पनि शान्त र प्रसन्न देखिन्थे । उनी पत्रपत्रिका र पुस्तक नपढे पनि आन्तरिक रूपले घटनाहरू महसुस गर्दथे । गोख्ले बाबाको कोही गुरु थिएनन् । त्यसैले उनले कुनै गुरुबाट औपचारिक रूपमा संन्यास लिएका थिएनन् । सद्गुरुको सम्बन्धमा गोख्ले बाबाले भन्ने गर्दथे, आफूले मात्र खोज्दैमा सद्गुरु पाइँदैन ।
गुरुले पनि शिष्यलाई खोज्यो भने मात्र सद्गुरु पाइन्छ । स्वामी आनन्द अरुणको जिज्ञासामा गोख्ले बाबाले ११८ वर्षको उमेर सम्म निरन्तर साधना पछि पनि आफ्नो मुक्तिको केही काम बाँकी रहेको कुरा इमानदारीका साथ बताउँथे । मैले सद्गुरु नपाएको हुदा मुक्ति हुन् केही बाँकी रहेको उनी बताउँथे ।
आनन्द अरुणका अनुसार ओशोले गोख्ले बाबा धेरै नै उच्च कोटिका साधक, इमानदार र सरल व्यक्ति हुन् भन्नुभएको थियो । गोख्ले बाबाले मृत्युपुर्ब निर्वाण प्राप्त गरी शरीर छोडेको कुरा ओशोले स्वामी अरुणलाई बताउनुभएको थियो । हेटौडामा गोख्ले बाबालाई भेटेका केही व्यक्तिहरूको जानकारी अनुसार बाबाले सन् १९८९ मा ११८ वर्षको उमेरमा इन्डियामा शरीर छोडेका थिए ।
यस पंग्तिकार पनि डेढ वर्ष अघि हेटौंडा गई ओशो सन्न्यासी मित्रहरूलाई समेत लिएर खोज्दै खोज्दै गोख्ले बाबाको साधना स्थल पुगेको थियो । गोख्ले बाबाको साधना स्थलमा अहिले पौडेल कुलको कुल पूजा हुने गरेको छ र त्यहाँ पौडेल परिवारले सानो कटेज समेत बनाएका छन् । त्यस ठाउँमा अहिले पनि बाबाले सारेका बेलका रुखहरू प्रशस्त छन् । उहाँको स्मृतिमा उहाँको साधना स्थल नजिक सडक छेउमा पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रयासले सानो गोख्ले प्रतीक्षालय समेत बनेको छ । गोख्ले बाबाले प्रयोग गर्नुभएको कपडा राख्ने बाकस अहिले पनि हेटौंडाका एक ओशो सन्यासीसंग सुरक्षित रहेको छ ।
गोख्ले बाबा एक अद्भुत निर्वाण प्राप्त योगी थिए । अहिले हेटौडाका ओशो संयासिहरुले गोख्ले बाबाको सम्बन्धमा अत्यन्त चासो लिइरहेका छन् । उहाँको साधना स्थलमा गई बेलाबेलामा ध्यान गर्ने, उहाँको बारेमा चर्चा गर्ने इत्यादि गरिरहेका छन् । उनीहरु अहिले गोख्ले बाबाको स्मृतिमा त्यहाँ केही संरचना बनाउन लागि परिरहेका छन् । पूर्व मुख्यमन्त्री डोरमणि पौडेल पनि उहाँको साधना स्थलमा कुनै संरचना बनाउन अग्रसर भइरहनु भएको छ । त्यस्ता महान योगी गोख्ले बाबाको स्मृतिमा उहाँको साधना स्थल हेटौंडामा एक गोख्ले स्मृति आश्रम बनाउन सकियो भने गोख्ले बाबा प्रति सम्मान हुने ।
त्यस्तो गोख्ले योग आश्रम बन्यो भने आध्यात्मिक साधकहरूलाई ठुलो प्रेरणा मिल्नेछ अनि त्यसले हेटौंडाको गौरव समेत बढ्नेछ । मैले अब हेटौंडा राप्ति किनारमा गोख्ले स्मृति योग आश्रम बनाउन बाग्मती प्रदेश सरकार र हेटौंडा उप महानगरपालिकाले अग्रसरता लिओस् भन्ने आशा छ ।
(लेखक आशिष ओशो सन्न्यासी हुन् । )





























प्रतिक्रिया