नेपालमा अहिले विराटनगर र चितवनमा गरी दुईवटा टायर उद्योग सञ्चालनमा छन् । जसबाट दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र ट्र्याक्टरको टायर उत्पादन हुन्छ । उक्त उद्योगबाट दुई र तीन पाङ्ग्रेका मासिक ४० हजारसम्म र ट्र्याक्टरका ठूला ९ सय र साना ८ हजार वटा टायरको उत्पादन भइरहेको छ । अहिलेको तथ्यांकलाई हेर्ने हो भने नेपालमा ९० प्रतिशत टायर आयात भई प्रयोग भएको छ ।
टायरका सेग्मेन्ट छन् । जसलाई दुई, तीन पाङ्ग्रे, ट्र्याक्टर, हेभी इक्वीपमेन्ट,ट्रक र प्यासेन्जर कार लाग्ने टायर गरी वर्गीकरण गरिएको छ । यी सबै टायर नेपालमा उत्पादन नहुने भएकाले यहाँ आयातित टायरको वर्चस्व छँदैछ । नेपालमा हेभी इक्वीपमेन्ट, ट्रक र प्यासेन्जर कार लाग्ने टायरको उद्योग छैन ।
त्यो उद्योग स्थापना गर्दा ठूलो लगानी लाग्ने, उद्योग लागे पनि त्यहाँबाट उत्पादन बढी हुने र खपत नहुने भएकाले अहिले नै ठूला टायर उद्योग फिजिबल हुन्छ जस्तो मलाई लाग्दैन । नेपालमा दुई र तीन पाङ्ग्रे सवारीका टायर करिव ३० प्रतिशत उत्पादन भइरहेको छ । माग बढ्यो भने यो मात्रालाई बढाउन सक्ने क्षमता हाम्रो उद्योगको छ ।
यति हुँदा पनि सरकारले नेपाली टायर उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह (एनएस) दिनसकेको छैन । हामीले सरकारसँग नेपालमा उत्पादन भएका टायरलाई एनएस चिन्ह दिनुपर्छ भनेर माग गरिरहेका छौं । टायरको लागि एनएस चिन्न दिने प्रविधि नभएर पनि होला । जे होस् हामीले धेरै पटक एनएस चिन्हको माग राख्दा पनि यो प्राप्त भइरहेको छैन । प्रयोगकर्तालाई विश्वास भएपछि मात्र ति वस्तुको प्रयोग गर्छन् । नेपाली टायरमा विश्वास भए पनि उपभोक्ताले उत्पादनको गुणस्तरमा अझ विश्वासिलो बनाउनेका लागि एनएस चिन्ह दिनुपर्छ भन्ने हाम्रो ठहर हो ।
हामीसँग आफ्नो टायरको परीक्षणको सुविधा छ । परीक्षण गरी वारेन्टी, ग्यारेन्टीसहित टायर वितरण गर्छौं । जुन सुविधा भारतीय टायरहरूले दिन्छन्, त्यो सबै हामी पनि दिन्छौं । तर, उपभोक्ताबीच त्यो विश्वासको विकास गर्नमा चाहिँ समय लाग्दो रहेछ । भारतबाट नेपालमा करिव २०/२५ वटा ब्रान्डका टायर आयात भइरहेका छन् । नेपाली उत्पादनमा समस्या छैन । तर, नेपाली एउटा कम्पनीले २५ वटा भारतीय कम्पनीसँग प्रतिस्पर्धा गरिराख्नु परेको छ । त्यहाँ मूल्यले पनि निकै प्रभाव पारेको छ ।
रूग्ण बनेका उद्योगका अवस्था र पुनः सञ्चालनका सम्भावनालाई अध्ययन गरी सरकारले निजी क्षेत्रसँगै लिएर गयो भने ति उद्योगलाई पुनर्जीवित गर्न सकिन्छ ।
सरकारले नेपाली उत्पादन र प्रयोगलाई बढाउने भनेर नीति लिएको छ । जुन सकारात्मक विषय हो, यसले यही उत्पादन भएका वस्तुको खपत र अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान पुर्याउँछ भन्ने मेरो विश्वास छ । नेपालमा जति पनि मोटरसाइकल एसेम्बल गर्ने कम्पनी छन् । उक्त कम्पनीहरूलाई हामीले नेपाली उत्पादन भएका टायरको प्रयोग गर्न प्रस्ताव गरेका छौं ।
तर, नेपालबाट एनएस चिन्ह प्राप्त छैन भने उनीहरुको प्यारेन्ट्स कम्पनीले भारतीय मानक ब्युरो (बीआईएस) सर्टिफिकेट खोज्दा रहेछन् । यदि हाम्रो टायरले सो सर्टिफिकेट प्राप्त गर्यो भने उनीहरु यहीं उत्पादन भएका टायर प्रयोगको गर्न तयार हुन्छन्, जसका लागि हामीले हाम्रो टायर टेस्टिङ गर्न भारत पठाएका छौं । टायरमा २०० भन्दा बढी केमिकल र रबरहरूको प्रयोग हुन्छ । जसरी घर बन्छ, त्यसरी नै टायर बन्छ । झापा लगायतका ठाउँमा रबर प्लान्टेशन धेरै भइरहेको छ । त्यहाँबाट आएको रबर हाम्रो उद्योगमा प्रयोग भइरहेको छ । अहिले रबरको प्लान्टेशन गर्नमा धेरै रुचाइ राख्नुभएको छ ।
यद्यपि यसको लागि नेपाली कच्चा पदार्थले मात्र नपुग्ने भएकाले भारतबाट पनि यसको कच्चा पदार्थ आयात गर्नुपर्ने हुन्छ । उद्योगले लोडसेडिङको समस्या लामो समयदेखि खेप्दै आएका छन् । यो समस्याको दीर्घकालीन समाधान भयो भने धेरै हदसम्म उद्योगीलाई पनि सहज हुन्छ ।

उद्योग सञ्चालनको सम्भाव्यता हेर्न आवश्यक
देशमा नयाँ उद्योग खुल्दै जानु सकारात्मक पक्ष हुन् । यसले आर्थिक र सामाजिक दृष्टिकोणबाट महत्त्वपूर्ण प्रभाव पार्छ । तर, उद्योग खोलेर मात्र नभई त्यसलाई कसरी दिगो रूपमा सञ्चालन गर्न सकिन्छ ? त्यो हेर्न अब निकै जरुरी छ । ति उद्योगलाई मार पार्ने किसिमका गतिविधि पनि गर्नु भएन ।
सञ्चालित उद्योगमा कच्चा पदार्थ वा आयातित सामानले असर पुर्याइरहेको छ भने त्यसको पदपूर्ति सरकारले गर्नुपर्छ । कुनै पनि उद्योग सञ्चालन गर्दा हाम्रो देशका माग कति छ ? उत्पादन कति हुन्छ ? आयात कति भइरहेको छ ? त्यसको खपत कति हुन्छ ? त्यो हेरेर मात्र अबका उद्योग स्थापना गर्नुपर्छ । यदि एउटै वस्तु उत्पादन गर्ने उद्योगको खपत म्याच हुन्छ भने अर्को उद्योग लाग्नुभएन ।
किनभने अर्को उद्योग लाग्ने बित्तिकै उत्पादन बढ्यो र खपत भएन भने फेरि समस्या आइलाग्छ । आज यही समस्या सिमेन्ट उद्योगले भोगिरहेका छन् । सरकारले टायर उद्योगका लागि मात्र नभएर कुनै पनि क्षेत्रमा उद्योग सञ्चालनका लगानी हुँदैछ भने त्यसबाट उत्पादन हुने सामानको खपत र बजार हेरेर मात्र इजाजत दिनुपर्छ । त्यो चाहिँ आजको दिनमा सरकारले सोचेको छ जस्तो मलाई लाग्दैन ।
भोलिका दिनमा उत्पादन भयो र माग बढेन भने ति उद्योग सबै समस्यामा पर्छन् । अनि डुब्ने भनेको व्यापारी र बैंक हो ।
भोलिका दिनमा उत्पादन भयो र माग बढेन भने ति उद्योग सबै समस्यामा पर्छन् । अनि डुब्ने भनेको व्यापारी र बैंक हो । यहाँको सम्भावनालाई हेरेर उद्योग खोल्नु पर्यो । यहाँ खपत भएको विषय निर्यात हुन्छ/हुँदैन ? या नेपालभित्रै कति खपत गर्न सकिन्छ ? त्यो सम्भावनालाई हेरेर उद्योगलाई इजाजत दिनुपर्यो । भोलि धेरै उत्पादन भयो भने त्यो सामान कहाँ खपत गर्ने ? त्यो अवस्था आयो भने आफैंमा प्रतिस्पर्धा बढ्छ वा उद्योग बन्द हुने अवस्था आउँछ ।
नेपालको भौगोलिक क्षेत्रफल अनुसारको जनसंख्या छैन । हाम्रो क्षेत्रफल बराबरको बंगलादेशमा १७ करोडको हाराहारीमा जनसंख्या छ । एकपटक यहाँ र त्यहाँको खपत दाजौं । सयौं प्रतिशतले फरक पर्न जान्छ । नेपालबाट करिव ३ करोडको जनसंख्या छ । भएकै जनसंख्या बढ्दो संख्यामा विदेशिँदा खपत पनि कम हुँदै गएको आभास भएको छ । यस्तो अवस्थामा उत्पादन बढाएर के गर्ने ? खपत बढ्यो भने उद्योग लाग्ने हो ।
त्यसैले लगानीको वातावरण सँगसँगै आवश्यकता बमोजिम उद्योग लगाउने परिपाटीका तय गर्नुपर्छ भन्ने मलाई लाग्छ । सिस्टमेटिक विकासको प्लान भएर उद्योग सञ्चालन भयो भने भोलिका दिनमा बजारको समस्या पनि हुँदैन । खपत भएन र उद्योग बन्द हुने अवस्थाको सिर्जना भयो भने घाटा देशले पनि बेहोर्नु पर्ने भएकाले यस्ता विषयमा अहिले नै सोच्नु पर्ने जरुरी छ ।
म आफैं पनि टायरका उद्योगको सञ्चालक भएकाले टायर उत्पादन गरेर स्टकमा राख्नु पर्ने, खपत नभएको अवस्था चाहिँ छैन । सरकारबाट गुणस्तर चिन्ह प्राप्त प्रमाण पत्र नभएसम्म यहाँका उद्योगले सामान निर्यात गर्न सक्दैनन् । सबै देशमा मूल्याङ्कन विधि आ–आफ्ना छन् । आज यहाँका धेरै उद्योगलाई एनएस नदिइ अन्य मुलुकमा लगेर सामान बिक्री गर्न गाह्रो भएको छ ।
गोरखकाली उद्योग चलाउन निजी क्षेत्र सक्षम
नेपालमा आज सरकारले सञ्चालन गरेका तर, हाल बन्द भएका जति पनि उद्योग छन् । आजको दिनमा ति उद्योगका मेसिनरी सामान र उद्योगको अवस्था निकै जीर्ण भइसकेको अवस्था छ । प्रविधिमा परिवर्तन आई उद्योगको लागि मेसिनरी सामान स्मार्ट आउन थालेका छन् । रूग्ण बनेका उद्योगका अवस्था र पुनः सञ्चालनका सम्भावनालाई अध्ययन गरी सरकारले निजी क्षेत्रसँगै लिएर गयो भने ति उद्योगलाई पुनर्जीवित गर्न सकिन्छ । सरकारले यस्ता उद्योग सञ्चालनको लागि धेरै नजरबाट हेर्न सक्छ । पार्टनरसीपमा वा लिजमा दिएर पनि बन्द उद्योगलाई चलाउन सकिन्छ । ब्रान्ड बेचेर भएपनि बन्द उद्योग सरकारले निजी क्षेत्रलाई चलाउने जिम्मा दिनसक्छ । उद्योग लगाउनु र चलाउनुमा धेरै फरक छ ।
त्यसैले ति उद्योग कसरी चलाउने भन्ने विषयको मोडालिटी सरकार आफैंले बनाउनु पर्छ । निजी क्षेत्रले धेरै उद्योग स्थापना गरी चलाइरहेका छन् । गोरखकालीन रबर उद्योग पनि सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिइयो भने त्यो चलाउने क्षमता निजी क्षेत्रले राख्छन् ।
नेपालमा टाइल उद्योग थिएन । आजको दिनमा ४/५ वटा टाइल उद्योग सञ्चालनमा छन् । सरकारले सहजीकरण गर्यो भने बन्द उद्योगलाई लयमा फर्काउने सामर्थ्य निजी क्षेत्रले राख्छन् । कुन तरिकाबाट त्यसलाई हेरिरहेको छ त्यो महत्वपूर्ण छ । प्रतिस्पर्धा सबै व्यापारमा छ । नेपालमा आयातलाई रोकेर औद्योगीकरण गरी अगाडि बढ्नु छ भने आयातलाई घटाउनतर्फ लाग्नुपर्छ । पहिलाको जस्तो अहिले अनधिकृत टायर आयात हुँदैन । हामीले धेरै हदसम्म टायरको चोरी पैठारी नियन्त्रण भएको महसुस गरेका छौं ।

भन्सारको सन्दर्भ मूल्य खारेज गर्नुपर्छ
नेपालमा इलेक्ट्रिक भेहिकल (ईभी) को आयात र बिक्री उल्लेखिय रुपमा बढिरहेको छ । यसले ईभी र आईसीई सवारीमा लाग्ने टायर भिन्नभिन्नै हुन्छ वा हुँदैन भनेर धेरै अन्योलमा देखिन्नुहुन्छ । तर, ईभीको टायर जुन मेटेरियलबाट बनेको हुन्छ, त्यसैबाट आईसीई गाडीको टायर बन्ने हो । टायरमा फरक हुन्छ । एप्लिकेशन वाइज टायर बनेको हुन्छ । यद्यपि एप्लिकेशन हेरेर सही साइजको टायर गाडीमा फिट गर्नुपर्छ ।
ईभीको लागि आईसीईको धेरै भेहिकल कम्पनीहरूले ‘स्पेशल मेड फर ईभी’ भने पनि लेखेका छन् । तर, लोड क्यापासीटी हेरेर मेरो विचारमा टायर फिट गर्दा हुन्छ । ईभी र इन्जिनको लागि भनेर बेग्ला–बेग्लै हेरिराख्नु पर्ने अवस्था छैन ।
उद्योग लगाउनु र चलाउनुमा धेरै फरक छ ।
नेपालमा टायर भारतलगायतका देशबाट आयात हुन्छ । भारतबाट आयात हुँदा कुनै समस्या हुँदैन डकुमेन्टेशन पनि सहजै हुन्छ । तर, त्यो वाहेक अन्य देशबाट टायर आयात गर्दा हामीले भन्सार महसुल प्रयोजनको सन्दर्भ मूल्यको समस्या भोगिरहेका छौं । सन्दर्भ मूल्य खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्छ भनेर हामीले बारम्बार आवाज उठाउँदै आएका छौं ।
तर, यसको अहिलेसम्म सुनुवाइ हुन नसक्दा सामानको आयातमा समस्या भोगिरहेका छौं । सन्दर्भ मूल्यलाई आधार मान्दा धेरै विषयमा समस्या आइरहेकाले यसलाई खारेज गर्नुपर्छ भन्ने हाम्रो माग हो । नेपालमा हाम्रो कम्पनीले टायरको उत्पादनसँगै आयात गरेर बिक्री गर्दै आएको छ । कम्पनीले ३ वटा ब्रान्डका टायर आयात गर्छ ।
(सिंघानिया नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका सचिव तथा डेल्टा डिस्ट्रिव्युटर्स प्रा.लि.का निर्देशक हुन् । उनीसँग केन्द्रबिन्दुकर्मी राजिव न्यौपानेले गरेको कुराकानीमा आधारित)































प्रतिक्रिया