२१ मार्च रहस्यमय गुरु ओशोको बुद्धत्व प्राप्ति दिवस

२१ मार्च रहस्यमय गुरु ओशोको बुद्धत्व प्राप्ति दिवस


बिश्व अध्यात्मिक आकाशमा डिसेम्बर ११, सन् १९३१ मा एक अद्भुत बुद्धपुरुषको जन्म भयो | समाजमा क्रान्ति र मान्छेभित्र शान्तीको संदेश दिएर उहाँले संसारभर तरंगित बनाउनु भयो | उहाँले यो युगको मनुष्य कजानजकिसको उपन्यास जोर्बा दि ग्रिकका पात्र जोर्बा जस्तै संसारको भौतिक समृद्धि र जीवनका हरेक सुखको उपयोग गर्ने अनि गौतम बुद्धजस्तै ध्यान र आन्तरिक शान्तीको रसमा डुब्ने “जोर्बा दि बुद्ध” हुनुपर्दछ भन्नुभयो |

भारतको मध्यप्रदेश राज्यको रायसेन जिल्ला, बरेली तहसिलमा रहेको कुछवाडा भन्ने गाउँमा उहाँको मामाघरमा ति महान रहस्यदर्शिको जन्म भएपछि उहाँ सात बर्षको उमेरसम्म मामाली हजुरबुवा र हजुरआमाको साथमा अपार प्रेममा हुर्किनु भयो | ओशो सात बर्षको हुदा उहाँको हजुरबुवाको मृत्यु पछि उहाँ आफ्नो आमाबुवाको घर मध्यप्रदेश राज्यकै नरसिंहपुर जिल्ला, गाडरवारा आउनुभयो | उहाँको बुवा गाडरवारामा सानो कपडा ब्यापारी बाबुलाल जैन अनि आमा सरस्वती जैन हुनुहुन्थ्यो | गाडरवारा शहर शक्कर नदीको किनारमा बसेको छ | उक्त शहरको उत्तरमा लगभग १४ कि.मि. दुरीमा नर्मदा नदि तथा पश्चिममा लगभग ९ कि.मी. दुरीमा उमर नदि बगिरहेका छन् | बाल्यकालमा उहाँको नाम रजनीश चन्द्रमोहन जैन थियो | उहाँ स्कुले जीवनदेखि नै बिद्रोही प्रकारको स्वभाब अनि प्रतिभाशाली, तेज र प्रखर बक्ता हुनुहुन्थ्यो | उहाँ स्कुले जीवन देखि नै सत्यको खोजमा प्रयासरत हुनुहुन्थ्यो | ध्यान, साधना र योगमा उहाँ निरन्तर लागिरहनु भएको थियो |

स्कुले जिवनपछि उहाँ उच्च शिक्षा अध्ययनको लागि जवलपुर जानुभयो | सन् १९५१ मा उहाँ जवलपुरको हितकारिणी कलेजमा उच्च शिक्षाको लागि भर्ना हुनुभयो | उक्त कलेजका प्रोफेसरहरुसंग वादविवाद पछि उहाँलाई उक्त कलेज छोडन लगाइयो | त्यसपछि उहाँ जवलपुरकै डी. एन. जैन कलेजमा भर्ना भई दर्शनशास्त्र अध्ययन गर्न थाल्नुभयो | घरबाट पैसा नलिई अध्ययन गरिरहनु भएका ओशोले अध्ययनको साथै स्थानीय पत्रिकामा सहायक सम्पादक भएर पार्टटाईम काम गरि आफ्नो मासिक खर्च जुटाइरहनु भएको थियो | अनि उहाँ निरन्तर ध्यान, साधना र योगमा तल्लिन हुनुहुन्थ्यो | बुद्धत्व प्राप्तिको लागि उहाँ अनवरत लागिरहनु भएको थियो |

यो युगका महान बुद्धपुरुष ओशोले बुद्धत्व प्राप्तिको लागि कयौ जन्मदेखि प्रयास गरिरहनु भएको थियो | उहाँले यो जीवनमा बहुत ठुलो खोज गर्नुभयो | बहुत परिश्रम गर्नुभयो | सत्य जान्नको लागि उहाँले सारा बल, परिश्रम, मेहनत साधनामा लगाउनु भयो | यो युगका महान रहस्यदर्शिले २१ बर्षको उमेरमा २१ मार्च, सन् १९५३ मा जवलपुरको भंवरलाल पार्कमा रहेको मौलश्री बृक्षको फेदमा राति करिव एक बजे उहाँले बुद्धत्व प्राप्त गर्नुभयो | त्यससमय उहाँ जवलपुरमा योगेश भवनमा बस्नुहुन्थ्यो |

आफ्नो बुद्धत्व प्राप्तिको सन्दर्भमा ओशो भन्नुहुन्छ | २१ मार्च १९५३ भन्दा सात दिन पहिला मैले आफूमाथि काम गर्न छोडिदिए | ओशो भन्नुहुन्छ एक क्षण यस्तो आउछ हामीले प्रयासको निरर्थकता बुझ्न थाल्दछौं | उक्त सात दिन मेरो पुरा रुपान्तरणका दिन थिए | अन्तिम दिन एउटा नयाँङ्ग उर्जाको उपस्थिति अनुभब भयो, एक नयाँ सघन आनन्दको अनुभब भयो | त्यो आनन्द यति घना थियो कि त्यसलाई सहन मुस्किल भैरहेको थियो | ओशो भन्नुहुन्छ मेरो मन मेटीईरहेको थियो | त्यो कहिँ टाढा गएको थियो | ओशो भन्नुहुन्छ, त्यसबेला तिर म राति १२ अथवा १ बजे सुत्ने गर्दथे तर त्यसदिन म साझ ८ बजे नै सुतेको थिए | त्यसदिन म सुते तर निन्द्रा अचम्मको थियो, शरीर सुतेको थियो तर म जागिरहेको थिए | अचानक १२ बजे मेरो आखा खुल्यो | मेरो कोठाको चारैतिर एक दिब्य उपस्थिति महसुस भयो | त्यो उपस्थिति यति सघन थियो तथा यति तिब्र थियो कि त्यसलाई आत्मसाथ गर्न गाह्रो भईरहेको थियो |

म कोठाबाट निस्किएर सडकमा गएँ | त्यसपछि म नजिकैको बगैंचातिर जान लागे | मेरो गति नयाँ थियो, यस्तो लागिरहेको थियो कि मेरो गुरुत्वाकर्षण समाप्त भयो | मलाई लागिरहेको थियो म हिँडिरहेको छैन, म दौडिरहेको छु अथवा उडिरहेको छु | मलाई कुनै उर्जाले तानिरहेको थियो | पहिलो पटक म एक्लै थिइनँ | पहिलो पटक थोपा समुन्द्रमा मिसिएको थियो | म त्यस बगैंचाको नजिक गए | त्यसबेला रातिको लगभग १ बजेको थियो | मलाई बगैंचाले तानिरहेको थियो | मैले आफूलाई रोक्न सक्दैनथें | म त हावामा उडिरहेको थिएँ | ओशो भन्नुहुन्छ जब म त्यस बगैंचामा घुसें त्यहाँ सबै चिज प्रकाशमान भयो | चारैतिर भगवत्ता बर्षिरहेको थियो |

मैले पहिलोपटक रुखको हरियाली तथा त्यसभित्रको जीवन रसलाई देखेँ | त्यहाँ सारा बगैंचा जीवन्त देखियो | घासका साना साना पात पनि बहुत सुन्दर देखिइरहेका थिए | ओशोले त्यस क्षणको स्मरण गर्दै भन्नुहुन्छ | मैले चारैतिर हेरे | एक मौलश्रीको रुख बहुतै ज्योतिर्मय थियो | त्यस बृक्षले मलाई आफूतिर आकर्षित गर्यो | मैले होइन परमात्माले नै त्यसलाई छानेको थियो | म गएर त्यसको फेदमा बसे | जब म बसे सबै कुरा शान्त हुन लाग्यो | समस्त बिश्वबाट भगबत्ता बर्षन लाग्यो | ओशो भन्नुहुन्छ यो भन्न मुस्किल छ कि त्यस स्थितिमा म कतिबेर बसे | जव म घर फर्किए बिहान ४ बजिरहेको थियो | यसको अर्थ हुन्छ म त्यहा ३ घण्टा बसे | त्यो अनुभब समयातितको अनुभब थियो |

ओशो भन्नुहुन्छ- उसदिन जुन मभित्र घट्यो त्यो मेरोभित्र आजसम्म अन्तरधाराको रुपमा बगिरहेको छ | हरेक क्षण त्यो पटक पटक घटिरहेको छ | त्यस रात म खालि भए , शुन्य भए तथा पूर्ण पनि भए | मेरो अस्तित्व रहेन म अस्तित्वमा समाहित भए | ओशो भन्नुहुन्छ- २१ मार्चमा जुन व्यक्तिले अनेक जन्म लिएको थियो त्यो समाप्त भयो | त्यसको मृत्यु भयो तथा एक बिल्कुल नयाँ व्यक्तिको जन्म भयो |

ओशोले बुद्धत्वको संबन्धमा भन्नुहुन्छ | बुद्धत्व भनेको बिचार तथा भाबरहित शुद्ध चेतनाको अनुभव हो| जब चेतना पुरा रुपमा खालि हुन्छ तब आफूभित्र बिष्फोट हुन्छ तथा अन्तर आकाशमा यस्तो प्रकाश फैलिन्छ कि त्यसको कुनै स्रोत, कुनै कारण हुँदैन | जब यो एकपटक घट्छ त्यसले कहिल्यै छोड्दैन | जव तिमि निदाइरहेका हुन्छौ त्यसबेला पनि त्यो प्रकाशभित्र रहन्छ | त्यसपछि तिमि हरेक चिजलाई नयाँ दृष्टिले हेर्न थाल्छौ | यस अनुभव पछि तिमीभित्र कुनै प्रश्न नै उठ्दैन | ओशो भन्नुहुन्छ बुद्धत्व प्राप्त गरेपछि मैले १३१५ दिन सम्म यथासम्भव मौन रहने कोशिस गरे | कुनै आबश्यक कामको लागि जव बोल्न पर्दथ्यो मैले तार जस्तो सन्क्षिप्त भाषामा बोल्दथे |

बुद्धत्व प्राप्ति पछि बिभिन्न बुद्धपुरुषहरुको फरक फरक अभिव्यक्ति देख्न सकिन्छ | कुनै बुद्धपुरुष मौन रहे जीवनभर | बुद्धत्व प्राप्ति पछि कुनै बुद्धपुरुष नाच्दछन | कुनै बुद्धपुरुषले बासुरी बजाउदछन | कसैले तार्किक तरिकाले आग्नेय प्रवचन दिएका छन् | ओशोले बुद्धत्व प्राप्तिको केहि बर्षपछि तार्किक प्रवचन दिएर आध्यात्मिक जागरण ल्याउनु भयो | भगवान गौतम बुद्धले पनि बुद्धत्व प्राप्ति पछि जीवनभर प्रवचन दिएर ध्यान गर्न उत्प्रेरित गर्नुभयो | ओशोकै शब्दमा भन्नुपर्दा बुद्धपुरुषलाइ बोल्नमा रस हुँदैन, मान्छे हरुले बुझुन् भन्ने कुरामा बुद्धपुरुषलाइ रस हुन्छ |

भौतिक संसारबाट पलायन नभइकन यसै भौतिक संसारमा आफ्नो पेशा, ब्यबसाय, घर परिवारको साथमै रहेर आध्यात्मिक साधना गर्दै बुद्धत्व प्राप्त गर्न सकिन्छ भन्ने दर्शन ओशोले यो पृथ्वीमा ल्याउनुभयो | ओशो पनि आफ्नो साधनाकालमा कहिल्यै भौतिक दुनियाँबाट टाढा हुनुभएन | बुद्धत्व प्राप्त गर्ने समयमा उहाँले जवलपुरको घना शहरमा संसारिक गतिविधिहरु संग संगै अघि बढाउदै साधना गर्नुभयो | उहाँले जवलपुरमा डी.एन. जैन कलेजको अध्ययनलाई जारी राख्दै उहाँ साधनारत रहनुभयो | सत्यको खोजमा कठोर मेहनत गर्नुभयो | उहाँले कलेजको पढाई छोडी एकान्त जंगल, गुफा तथा हिमालयमा नगईकन जवलपुर शहरमा नै बसेर उहाँ अनवरत साधनामा लागिरहनु भयो | बुद्धत्व प्राप्ति गर्नको लागि कुनै पेशा, घर, परिवार, शहरबाट अलग रही एकान्त जंगल र गुफामा गएर साधना गर्नु पर्दछ भन्ने मान्यता ओशोको बुद्धत्व प्राप्तिले तोडिदिएको छ | भौतिक दुनियाँको एकान्त होइन व्यक्ति आफूभित्रको एकान्तमा जानुपर्दछ भन्ने मान्यता ओशोले स्थापित गरिदिनुभयो | ओशोको बुद्धत्व प्राप्तिको समयलाई हेर्दा त्यसबेला उहाँ जवलपुरमा कलेजमा अध्ययन गर्नुहुन्थ्यो, दैनिक खर्च जुटाउन काम पनि गर्नुहुन्थ्यो अनि संगै अत्यन्त लगनका साथ ध्यान र साधना पनि गर्नुहुन्थ्यो |

मनुष्य जातिको इतिहासमा राजा जनकको बुद्धत्व प्राप्ति पछि ओशो यस्तो बुद्धपुरुष हुनुहुन्छ जसले संसारको भौतिक दुनियामा आफ्नो कर्ममा विचरण गर्दै बुद्धत्व प्राप्त गर्न सफल हुनुभयो | भगवान श्रीकृष्णले गीतामा उल्लेख गर्नुभएको कर्म संयास ओशोको जीवनमा साक्षत रुपमा देख्न सकिन्छ | कृष्णका बहुआयामिक प्रतिभा जस्तै ओशोमा पनि जीवनका हरेक आयामहरू देख्न सकिन्छ | जीवनका हरेक रंगहरुले उहाँ जाजल्यमान हुनुहुन्छ | जोर्बा दि बुद्ध यो युगको आबस्यकता हो यो संसारमा | यो समयको आबस्यकता अनुरुपको दर्शनलाई आत्मसाथ गरेर उहाँले बुद्धत्व प्राप्त गर्नुभयो अनि उहाँले जोर्बा दि बुद्धको शिक्षण संसारलाई दिनुभयो |

भौतिक दुनियाँको कुशल उपयोग गर्दै भौतिक सम्पन्नता र समृद्दिलाई प्रयोग गर्दै साधनाको उचाइमा पुग्नु पर्दछ यो युगको मान्छे भनेर उहाँले वकालत गर्नुभयो | बिज्ञान र प्रविधिको प्रवर्धन र उपयोग गर्दै अध्यात्मिक साधनालाई सहज बनाउन सकिन्छ भन्ने उहाँको विचार छ | बिज्ञान अध्यात्मको बिरोधि चिज होइन, बिज्ञान अध्यात्मको सहयात्री हो भन्नुभयो | बिज्ञान र प्रबिधिसँग मित्रवत संबन्ध स्थापित गर्दै साधक अध्यात्मको उचाइमा पनि पुग्न सक्दछ भन्ने मान्यता उहाँले संसारमा स्थापित गर्नुभयो | यस्ता महान, यो युगका बुद्धपुरुष ओशोको बुद्धत्व प्राप्ति दिवसमा ति महान गुरुप्रति हार्दिक नमन् |

(लेखक आशिष ओशो शिष्य तथा ओशो तपोवनका सदस्य हुन् ।)

Logo