काठमाडौं । प्रेसको दुनियाँ एक नयाँ युगमा प्रवेश गर्दैछ । पहिले समाचार लेख्ने, सम्पादन गर्ने र रिपोर्टिङ गर्ने काम केवल मानिसले गर्ने क्षेत्र थियो । तर, अहिले कृत्रिम बुद्धिमत्ता (एआई) को उदयले पत्रकारिता जगतलाई नयाँ दिशामा धकेल्दै छ । कतिपयले यसलाई अवसरका रूपमा लिएका छन् भने कतिपय पत्रकार र मिडिया हाउसहरू यसबाट त्रसित छन् ।
तर, के साँच्चै एआईले पत्रकारको भविष्य संकटमा पार्दैछ ? पत्रकारिता मार्ने कि नयाँ स्तरमा पुर्याउने भन्ने विषयले सञ्चारकर्मीलाई समेत सोच मग्न बनाएको छ । अन्तर्राष्ट्रिय मिडिया कम्पनीहरूले एआई प्रयोग गरेर समाचार लेख्ने प्रवृत्ति बढाएका छन् । आजका दिनमा च्याटजीपीटी, गुगल जेमिनी, जासपर एआई, सोरा जस्ता प्लेटफर्महरू मानव पत्रकारले भन्दा छिटो समाचार लेख्न सक्षम छन् ।
विश्वकै चर्चित सञ्चारमाध्यममा कहलिएका रोयटर्स, एसोसिएटेड प्रेस (एपी) जस्ता समाचार संस्थाहरूले एआईको प्रयोग गरिरहेका अवस्थामा पत्रकारको भविष्य एआईमा निर्भर नहोला भन्न सकिन्न । फुटबल खेलको नतिजा, सेयर बजारको रिपोर्ट वा मौसमको समाचार स्वतः लेख्नसक्ने बनिसकेको एआईले धेरै पत्रकारका रोजगारी गुम्न सक्ने आंकलन गरिएको छ ।
समाचार लेख्ने, सम्पादन गर्ने, तथ्य जाँच्ने आदि कामहरूमा एआई प्रयोग हुन थालेपछि मानव पत्रकारहरूको माग कम हुने आंकलन गर्न सकिन्छ । तर, एआईले पत्रकारितालाई मार्दैन भन्ने तर्कहरूको पनि बजारमा कमी भने छैन । एआईले पत्रकारलाई सहयोगी बन्ने धेरै अग्रज पत्रकारहरूले बताउँदै आएका छन् ।
तथ्य जाँच, ट्रेन्ड विश्लेषण, ठूलो डाटाबाट समाचार निकाल्न सजिलो हुने भएकाले समाचार संकलन, अनुवाद, ट्रान्सक्रिप्सन आदि कामहरूमा एआईको प्रयोगले गति र कार्यक्षमता बढाउँछ । ठूलो संख्यामा डाटा विश्लेषण गरेर कथा निकाल्ने अब एआईकै सहयोगले अझ प्रभावकारी हुने पत्रकार आफैं बनाउन थालेको अवस्था छ । यसले गर्दा कतै पत्रकारकै रोजगारी खोस्ने त हैन भन्ने पत्रकारमा डर छ ।
मानव शक्ति कम लाग्ने भएकाले एआईले मिडियाको खर्च घटाउन सक्छ । यदि एआईले पत्रकारको सट्टा काम गर्न थाल्यो भने हजारौँ पत्रकार बेरोजगार हुने निश्चित छ ।
नेपालमा पनि डिजिटल मिडिया प्लेटफर्महरूले एआईको प्रयोग गर्न थालेका छन् । धेरै विषय बस्तु सम्बन्धित क्षेत्रका विज्ञलाई सोध्ने भन्दा एआईलाई सोधेर समाचार बनाउने अभ्यासले प्राथमिकता पाउँदै छ, जसले गर्दा अबका समाचार प्रायः एआईद्वारा सिर्जित हुने सहजै आंकलन गर्न सकिन्छ ।
एआईले पत्रकारको काम सजिलो बनाउन सक्छ । तर, पत्रकारिता पूरै एआईमा भर पर्न सक्ने अवस्था आई नसकेकाले नेपाली पत्रकारको अहिले नै रोजगारी गुम्ने, मिडियाले कर्मचारी तत्काल एआई कारण हटाउन सक्ने सम्भावना भने देखिँदैन ।
सेकेन्डमै समाचार लेख्ने एआई ठूला समाचार लेखनमा लागत घटाउने ठूलो माध्यम बन्दैछ । पत्रकारिता क्षेत्रमा मात्र नभई यसले हरेक क्षेत्रमा सहजीकरण गर्दै गएको छ । एआईको बढ्दो प्रभावलाई हेर्दा यस्तो लाग्न सक्छ कि पत्रकारिता संकटमा छ । तर, एआई पत्रकारितालाई नष्ट गर्ने होइन, बरु परिष्कृत बनाउने उपकरण रूपमा यसलाई हामीले हेर्न सक्छौं ।
यसबाट सहयोग लिन सकिन्छ तर, मानव पत्रकारको ठाउँ लिइहाल्ने सम्भावना कमै छ । पत्रकारिताको सहायक हुन सक्ने एआई पत्रकारहरूले डेटा विश्लेषण, लेख लेख्न सहयोग, तथ्य जाँचमा उपयोग गर्न सक्छन् । मानवीय संवेदना, अनुभव तथा स्थलगत रिपोर्टिङको स्थान एआईले लिन सक्दैन ।
तर, मिडिया हाउसहरू, पत्रकारहरू र नीति निर्माताहरूले यसबारे गम्भीर छलफल गर्नुपर्ने समय आएको छ । भविष्यमा पत्रकारिता र एआईको सहकार्यले नयाँ उचाइहरूमा पुर्याउन सक्छ । यसको लागि मानव पत्रकारहरूको महत्वपूर्ण भूमिका सधैं रहनेछ ।
सृजनात्मक क्षमतामा ह्रास
विश्वव्यापी एआईको साहयताबाट काम सहजीकरणको अभ्यास बढ्दो क्रममा छ । यसको प्रयोगले आज विश्वका ठूला–ठूला कम्पनीले कर्मचारी निकालेका खबर बाहिर आइराख्दा कतै एआईका कारण पत्रकारको समेत रोजगारी संकटमा पार्छ कि भनेर सोच्नु स्वभाविक हो । एआईले मानव जीवनमा सदैव सहजता मात्र थप्दै जान्छ भन्ने अहिले नै विश्वासको आधार बनिसकेकाे छैन ।
यद्यपि एआई प्रयोग गरेर समाचार लेख्न थालेपछि पत्रकारिता जगतमा केही सहज अनुभूति भएको पत्रकार स्वयम आफैं बताउन थालेका छन् । तर, यसको प्रयोग गरेर समाचार लेखनको अभ्यास गर्दा पत्रकारलाई केही सहजीकरण भएता पनि यसले फेक न्युजको जोखिम बढ्ने आंकलन गरिएको छ ।
एआईले दिएका सूचनालाई आधार मानेर मिडियाले सम्प्रेषण गर्दा त्यसको असर समाजमा गहिरो पर्ने टिप्पणी गरिँदै आएको छ । यस्तै, एआईको प्रयोगले स्वतन्त्र सोच र अनुसन्धानमा आधारित लेखन क्षमतामा गिरावट आउन सक्नेछ । एउटै स्रोत वा डेटाबाट धेरै सामग्री उत्पादन हुँदा विविधता हराउने जोखिम उत्तिकै देखिन्छ ।
एआईबाट उत्पादन भएको सामग्रीमा गल्ती भएमा त्यसको जिम्मेवारी कसले लिने भन्ने स्पष्ट नहुने भएकाले भ्रामक सूचना फैलिने सम्भावना न्यूनीकरण गर्नको लागि सरकारले पनि सोही अनुसारका नीति नियमको तर्जुमा गर्न आवश्यक देखिन्छ ।
एआईले सिर्जना गरेको सामग्री सधैं सही वा सन्दर्भ अनुकूल नहुन सक्ने भएकाले यसको व्यवस्थापन र सहि सदुपयोगको बाटो पत्रकार आफैंले अपनाउनु पर्ने हुन्छ । विश्वव्यापी कब्जा जमाउँदै गरेको एआईले मान्छेको फोटोलाई नचाए पनि मान्छे एआईको इसारामा नाच्नु हुँदैन । तर, एआईलाई चलाउन सक्ने क्षमता मान्छेले विकास गर्याे भने यसबाट धेरै लाभ लिन सकिन्छ ।
(थापा लामो समयदेखि पत्रकारिता क्षेत्रमा भिडियो ग्राफरको रूपमा कार्यरत छन् )































प्रतिक्रिया