“व्यक्तिको मृत्युले तपाईंहरू किन दुःखी हुनुहुन्छ ? यो त यस संसारको कष्टबाट मुक्ति हो नि, किन दुःखी हुनुहुन्छ ?” ती चिनियाँ पर्यटकले जल्दै गरेको चिताको भिडियो खिच्दै भने । पशुपति आर्यघाटमा चिनियाँ पर्यटकसँग भएको करिब २० मिनेटको संवादमा उनले पटक-पटक दोहोर्याएको वाक्य यही थियो।
मेरो एक जना आफन्तको स्वर्गारोहण र पार्थिव शरीरको पशुपति आर्यघाटमा अन्त्येष्टि भइरहेको क्रममा दुई विदेशी पर्यटकले एकटक भएर भिडियो खिचिरहेको देखेर जिज्ञासु भई मैले सोधें, “अन्यथा नलिनुहोला भने एउटा कुरा सोधौं ?” ती विदेशी थोरै रोकिए र मतिर फर्किएर भने, “सोध्नुस् न प्लिज।” मैले सोधें, “जे तपाईंहरूले देखिरहनुभएको छ यसबाट तपाईंहरूले के बुझिरहनुभएको छ, तपाईंको बुझाइ के छ यसमा ?” मेरो प्रश्नलाई गम्भीरताका साथ लिँदै उनले भने, “समबडी ह्याज डाइड एण्ड दिस मस्ट बि द लास्ट रिचुयल अफ द्याट पर्सन” अर्थात् कोही व्यक्तिको मृत्यु भएको छ र यो वहाँको अन्त्येष्टि भइरहेको हुनुपर्छ।
तर पार्थिव शरीर किन जलाइन्छ भन्ने उनको जिज्ञासा थियो। म यस विषयको विज्ञ त होइनँ, तर पनि उनको जिज्ञासा मेटाउने र मैले जानेको भन्ने र बुझाउने प्रयास गरें। मैले भने, “हो, तपाईंले भन्नुभएको ठीक हो, यो अन्त्येष्टि भइरहेको छ। यो सनातन हिन्दू धर्मको एउटा महत्त्वपूर्ण संस्कार र परम्परा हो। हाम्रो बुझाइमा मनुष्यको शरीर पञ्चतत्वले बनेको हुन्छ र जलाएर अन्त्येष्टि गर्दा त्यो शरीर तिनै पञ्चतत्वलाई सुम्पिन्छौं।”
“पञ्चतत्व?” उनी जिज्ञासु हुँदै मतिर फर्किए। मैले भने, “अग्नि, वायु, जल, धर्ती र आकाश गरी यी पाँच तत्वले हाम्रो शरीर बनेको हुन्छ। यसरी जलाएर हामीले मृत शरीरलाई पञ्चतत्वमा विलीन गराइदिन्छौं।” उनी एकछिन रोकिए र फेरि मसिनो स्वरमा भन्न थाले, “हामीले त मृत शरीरलाई गाड्छौं।” अन्जान नाबालकजस्तै उनले सोधे, “मृत्यु हुने व्यक्ति तपाईंको के पर्नुहुन्छ?” मैले जवाफ दिएँ, “मेरो हजुरआमा पर्नुहुन्छ।” आश्चर्य हुँदै उनले फेरि सोधे, “के तपाईं दुःखी हुनुहुन्छ?”
उनको प्रश्न सुन्दासाथ मैले बुझें, इनको मूल प्रश्न यो होइन, यी मसँग अर्कै जिज्ञासा लिएर बोलिरहेका छन्। सानो स्वरमा मैले भने, “हामी सबै दुःखी छौं।” एकछिन पनि नरोकिइकन उनले अर्को प्रश्न गरे, “त्यसो भए यहाँ सबैभन्दा धेरै दुःखी को छ ?” उनको यस प्रश्नको उत्तर दिनु मलाई अलि मन त थिएन, तर पनि बिलकुलै अन्जान बालकजस्तै उनले सोधेको जवाफ मैले फर्काएँ, “वहाँ दिवंगत आमाको छोरा र छोरीहरू सम्भवतः सबैभन्दा धेरै दुःखी हुनुहुन्छ होला।”
एकछिनको मौनतापछि उनले अर्को वाक्य बोलेर फेरि प्रश्न सोधे जुन बडो विचित्र र एक हदसम्म सत्य पनि हो। उनले भने, “मैले सुनेअनुसार हिन्दू धर्म र बुद्ध धर्ममा मृत्यु भनेको मुक्ति हो, यस संसारको बन्धनबाट मुक्ति हो। यदि मृत्यु मुक्ति हो भने तपाईंहरू मुक्तिमा किन दुःखी हुनुहुन्छ?” उनको प्रश्न सीधा थियो र यो प्रश्न सोध्दै गर्दा उनी निकै गम्भीर देखिन्थे।
यो लेख सुरु गर्नुअघि नै मैले जिकिर गरिसकेको थिएँ कि म यस विषयको विज्ञ वा पूर्ण ज्ञाता होइनँ, तर पनि मैले जानेको कुरा वहाँलाई भन्छु भन्ने अवश्य थियो। मृत्युलाई मुक्तिको रूपमा बुझेका उनी मेरो उत्तरको प्रतीक्षामा मतिर एकटक हेरिरहे। मैले पनि गम्भीर हुँदै उनलाई भने, “हामी मनुष्यको मुक्तिमा दुःखी भएका होइनौं, हामी हाम्रो प्रिय व्यक्ति, हाम्रो एउटा सदस्य, हाम्रो एउटा अभिन्न अङ्ग गुमाएकोमा दुःखी भएका हौं। अब आजबाट ती मृत व्यक्ति शरीर हाम्रो माझ नरहेको विषय र भावना, त्यो बुझाइ र विचार, त्यो शून्यतालाई लिएर दुःखी भएका हौं। त्यसै कारण जो व्यक्ति यस भावनाले, यस सोचले जति बढी प्रभावित हुन्छ, त्यो व्यक्ति त्यति नै बढी दुःखी हुन्छ।”
अब प्रश्न सोध्ने पालो मेरो थियो। मैले सोधें, “तपाईंहरूले मृत शरीरलाई जमिनमा गाड्दा वा मेसिनमा हाल्दाको प्रक्रिया र यसरी चितामा राखेर जलाउँदाको प्रक्रियामा के फरक पाउनुभयो ?” केही क्षण सोचेर उनले भने, “हामी निकै बेरदेखि यो अन्त्येष्टि प्रक्रिया हेर्दै छौं। एउटा सिंगो शरीर जब अन्त्येष्टि प्रक्रियामा जाँदो रहेछ तब त्यो शरीर बिस्तारै विलीन हुँदै जाँदो रहेछ, कसरी एउटा शरीर विलीन हुँदो रहेछ त्यो हामीले धेरै ध्यानपूर्वक हेर्यौं। मेसिनमा राखेर वा गाडेर गरेको अन्त्येष्टिमा हामीले यो प्रक्रिया कहिल्यै देखेका थिएनौं। यस प्रक्रियाले मेरो मन र अनुहारमा एउटा गहिरो छाप छोडेको छ। म निकै भावुक र सोचनीय भएँ। यसअघि पनि निकै पटक नेपाल आएको म, यस पटक फरक छाप बोकेर जाँदै छु। यो मेरो लागि अविस्मरणीय सम्झना रहने छ।”
पहिला पनि निकै पटक नेपाल आइसकेका ती चिनियाँ पर्यटक यस पटक ईबीसी अर्थात् एभरेस्ट बेस क्याम्पका लागि थप दश दिन नेपाल बस्ने रहेछन्। नेपालको बसाइमा तपाईंलाई यहाँको सबैभन्दा धेरै मन परेको के हो भनेर मैले सोधें, उनले भने, “यहाँको सबै थोक मन पर्छ, म फेरि पनि आउँछु।”
मैले भने, “नेपालको बसाइका बखत तपाईंलाई कहीँ केही दुःख अफ्ठेरो त भएको छैन नि वा कुनै नेपालीले चित्त दुखाएको त छैन नि? त्यस्तो कसैबाट भएमा म नेपालीको तर्फबाट क्षमा माग्छु।”
उनले मुस्कुराउँदै भने, “त्यस्तो केही भएको छैन, द बेस्ट पार्ट अफ नेपाल इज दि पिपल इन नेपाल आर भेरी जेनेरस” अर्थात् नेपालको विशेषता भनेकै यहाँका राम्रा व्यक्ति हुन्। यहाँका मान्छे एकअर्कालाई अफ्ठेरो पर्दा मदत गर्दा रहेछन्, अफ्ठेरो पर्दा यति धेरै जम्मा हुँदा रहेछन्। सबै भावनात्मक रूपमा जोडिएका हुँदा रहेछन् जुन मलाई असाध्यै मन पर्छ।”
अन्त्यमा मैले सोधें, “तपाईंको देशका मान्छेलाई नेपालको बारेमा के भन्नुहुन्छ?” उज्यालो अनुहार बनाउँदै उनले भने, “एक पटक घुम्नै पर्ने देश हो नेपाल, अवश्य जाऊ भन्छु।”
पर्यटक भएको हुनाले मैले उनको सम्पर्क लिन उचित ठानिनँ, यद्यपि फोटो खिच्न र यो संवाद सार्वजनिक गर्दै शेयर गर्ने अनुमति मागें। मेरो सम्पर्क अर्थात् भिजिटिङ्ग कार्ड स्वीकार्दै उनले भने, “म नेपालको बारेमा अवश्य राम्रो भन्ने छु।”





























प्रतिक्रिया