भदौ २३ गते बिहानै पठाओमा नयाँ बानेश्वर पुग्दा पठाओका ड्राइभरले मलाइ सुनाए, ‘मेरो र मेरो अघिल्लो पुस्ताले यो आँट नगरेकोले मैले दुख पाएँ । यो जेन-जी पुस्तालाई मेरो समर्थन छ । यो राइडपछि म घर फर्कन्छु । म बाइक राख्छु र आन्दोलनकारीलाई पानी बाँड्न माइतीघर फर्कन्छु ।’ यो दुईछाक खानको लागि दिनरात पसिना बगाउनेहरुको आवाज थियो ।
त्यही दिन आन्दोलनमा अत्यधिक बल प्रयोग भयो । मेरो रात दिनसँगै रहने एक साथीलाई घर फर्कन भनेँ । अस्पतालमा अनेक बिरामीहरुलाई उपचार गर्न परिरहेकोले फर्कन नसक्ने तर बानेश्वरको आन्दोलनमा बोलाउनुहुन्छ भने आउनसक्ने बताएपछि उसँग थप बोल्न जरुरी भएन । अनि मैले मेरा जवानीका दिनहरु सम्झिएँ । उबेला, मपनि कस्को कुरा मान्थेँ र । मेरो साथीको शरीर आफ्नो अस्पतालअघि भएको गोलीकाण्डमा मृत्यु र घाइते भएकाहरुहरुको उपचार भन्दा प्राथमिकतामा नपर्नु मेरो लागि पनि गर्वको कुरा थियो।
युवाको हातमा देशको भविष्य दिलाउने जेन जी आन्दोलन कुनै पूर्णविराम होइन, यो त एउटा नयाँ सुरुवात हो ।
म चिन्तामा छु किनकी मेरो साथी दुःखमा छ । तर यो भन्दा बढी खुशी छु मैले नसके पनि मेरो साथी यो दुःखमा ऊ रगत दिएर बसेको छ । उसले घाइतेहरु ओसारिरहेको छ इमर्जेन्सीमा र तिनै घाइतेहरु महान् शहिदको रुपमा पुर्याइरहेको छ लास भवन । तर, ति मृत शरीरहरुको आत्मा बसेको मन्दिर हाम्रो पशुपतिनाथ हो । हाम्रो पुजास्थल हो । ऊ हरेक समय एउटा असुरक्षाबीच अस्पताल गयो र फर्कियो । घाइतेहरु शहीद भएको अत्यत्न दुखद खबर सुनायो । म मुर्दा भएर सुनिरहेँ । उसले सम्भव भएसम्म अस्पतालमा रक्तदान गर्न बोलायो । म मेरो बिगतको राजनीतिक इतिहासले रक्तदान गर्न जान सकिनँ । मेरा आँसुले कसैको ज्यान बच्ने कुरा थिएन । मेरो शरीरमा भएका रगतले अस्पतालमा भएका गोलि खाएका र रगतका अभाव भएका साथीहरुको ज्यान बच्ने कुरा भएन ।
म मेरा अहिलेका जेन-जी पुस्ताहरु देख्नासाथ ६२/६३ तिरका अहिलेका जेन-जी जस्तै मेरा साथीहरु सम्झन्छु । त्यतिबेला राजाको सैनिकहरुका अघि उभिएर गोली खान तयार भएर बेलाका मेरा मित्रहरु सम्झन्छु, जो अहिले खाडीमा, जापान, अमेरिका वा युरोपमा आफ्नो पसिना बगाइरहेका छन् । अहिलेका युवाहरुका प्लेकार्डमा लेखिएका मागहरु हेर्छु, प्लस टु सकिएपछि आईईएलटिएसका क्लास होइन ब्याचलरका क्लास पढ्न पाउँ भन्ने आवाज देख्छु, जसले मेरासँगै आम नागरिकका आँखामा आँसु चुहाँउछ।
जेन-जी पुस्ताकाे आन्दोलनले नयाँ आशा जगाएको छ, तर यो आशालाई वास्तविकतामा बदल्न ठूलो चुनौती छ।
नेपालमा दशैँको रौनक नजिकिँदै गर्दा, एउटा नयाँ र अभूतपूर्व ऊर्जाले हाम्रो मन, मस्तिस्क र हाम्रा सडकलाई हल्लाइरहेको छ । यो कुनै नेताको ठूला-ठूला भाषणले जन्मिएको मेरो जुलुस होइन न त कुनै पार्टीको झण्डामुनि बनेको रणनीति हो। यो त जेन जी पुस्ताको मनभित्र लामो समयदेखि सल्किरहेको आक्रोशको ज्वाला हो, जुन सामाजिक सञ्जालको एउटा सानो झिल्कोबाट सल्केर विशाल आगो बनेको छ । ‘नो, नट अगेन’ र ‘इनफ इज इनफ’ जस्ता साधारण तर शक्तिशाली नाराले लाखौँ युवालाई बिस्तारै सडकमा ल्याइदियो। यी नाराहरूले हामीलाई एउटा गहिरो प्रश्न सोध्छ— अब कति सहने र किन सहने ?
आन्दोलनको आत्मा
युवा र नयाँ पुस्ताको पीडा र सपना यो आन्दोलन केवल सडकको कोलाहल मात्र होइन । यो म र म जस्तै हरेक युवाको मनमा बसेको पीडा, निराशा र बदलाको चाहना हो। जेन जी पुस्ताले वर्षौंदेखि नेताहरूको खोक्रा वाचा, भ्रष्टाचारका ठूला-ठूला काण्ड र कुर्सीको खेल हेर्दै आएको छ। भ्रष्टाचारमा लिप्त दोषीहरू खुलेआम हिँडिरहँदा, देशको भविष्य बोकेका युवाहरूको मनमा गहिरो चोट परेको छ।
उनीहरूले देखें— नेताहरूले जनताको हित होइन, कुर्सी र सत्ताको लडाइँ लडिरहेका छन्। यो निराशाले जेन जी पुस्तालाई सडकमा ल्याएको हो, जहाँ उनीहरूले भ्रष्टाचार, कुशासन र बेइमानीविरुद्ध आवाज उठाए। यो आन्दोलनको सबैभन्दा सुन्दर पक्ष भनेको यसको स्वत:स्फूर्त स्वरूप हो। सामाजिक सञ्जालले युवाहरूलाई एकअर्कासँग जोड्यो, बिना नेतृत्व उनीहरू एकजुट भए। यो आन्दोलनले हरेक युवालाई आफैंमा नेता र परिवर्तनको वाहक भएको महसुस गरायो। उनीहरूले पारदर्शिता, जवाफदेहीता र भ्रष्टाचारमुक्त समाजको सपना देखे। यो सपनाले नेपालको भविष्यलाई नयाँ दिशा दिन सक्ने आशा जगाएको छ।
तर, यो आशा एउटा कठिन अग्निपरीक्षाबाट गुज्रिरहेको छ । हिंसाको छायाँ र आन्दोलनको शुद्धतामाथि प्रश्न जेन जी आन्दोलनको सुरुवातमा देखिएको शुद्धता र जोशले हरेक नेपालीको मन छोयो। तर, जब प्रधानमन्त्रीको राजीनामापछि पनि आन्दोलनले हिंसात्मक रूप लियो, तब यो ज्वालामा कालो धुवाँको बादल मडारिन थाल्यो। आगजनी, तोडफोड र मानवीय क्षतिका दृश्यले आन्दोलनको पवित्रतामाथि दाग लाग्यो। यो दृश्यले हरेक विवेकशील नेपालीको मनमा पीडा थप्यो। के यो केवल अनियन्त्रित आक्रोश थियो ? वा कसैले यो आन्दोलनलाई योजनाबद्ध रूपमा हिंसातिर धकेल्यो ? यस्ता प्रश्नले हामीलाई झकझक्याइरहेको छ। हिंसाले कुनै पनि आन्दोलनलाई कमजोर बनाउँछ। जब सार्वजनिक सम्पत्ति ध्वस्त हुन्छ, जब निर्दोष मानिसहरूको ज्यान जोखिममा पर्छ, तब आन्दोलनले आम जनताको विश्वास गुमाउँछ। यो आन्दोलनमा केही अवाञ्छित तत्वहरू घुसेको संकेत देखिन्छ, जसले युवाको पवित्र आक्रोशलाई आफ्नो स्वार्थका लागि दुरुपयोग गर्न खोजे । यो जेन जी आन्दोलनको सबैभन्दा ठूलो चुनौती हो— आफ्नो शुद्धता र उद्देश्यलाई कसरी जोगाउने ?
विदेशी छायाँः नेपालको संवेदनशील भूराजनीति
नेपालको भूराजनीतिक अवस्था सधैं नाजुक रहँदै आएको छ। भारत र चीनबीचको सन्तुलनमा बसेको यो मुलुक सधैं बाह्य शक्तिहरूको रणनीतिक खेलको मैदान बन्ने खतरा रहन्छ। जेन जी आन्दोलनमा पनि विदेशी हस्तक्षेपको आशंका छ। सामाजिक सञ्जालको शक्ति सकारात्मक भए पनि, विदेशी प्रविधि कम्पनीहरूको अल्गोरिदमले कुनै पनि ‘ट्रेन्ड’ लाई कृत्रिम रूपमा उचाल्न सक्छ। केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र ‘डेमोक्रेसी प्रोजेक्ट’ हरूले यो आन्दोलनलाई अप्रत्यक्ष रूपमा प्रभावित गरेको हुन सक्ने चर्चा पनि सुनिन्छ।
आन्दोलनमा केही अवाञ्छित तत्वहरू घुसेको संकेत देखिन्छ, जसले युवाको पवित्र आक्रोशलाई आफ्नो स्वार्थका लागि दुरुपयोग गर्न खोजे ।
यदि यो आन्दोलन विदेशी शक्तिको स्वार्थको साधन बन्यो भने, यसले नेपालको सार्वभौमिकता र स्वतन्त्रता र अखणडतामाथि गम्भीर खतरा निम्त्याउन सक्छ। हाम्रो देशको परराष्ट्र नीति, आर्थिक दिशा र सुरक्षा रणनीतिमा बाह्य हस्तक्षेप बढ्न सक्छ। यस्तो अवस्थामा, युवाहरूले आफ्नो आन्दोलनलाई स्वदेशी मूल्य र दृष्टिकोणमा आधारित राख्नु अनिवार्य छ।
दशैँको सन्दर्भः छोराछोरीको पीडा र समाजको घाउ
दशैँ नेपाली समाजको सबैभन्दा ठूलो चाड हो, जहाँ परिवारहरू एकजुट हुन्छन्, खुसी साट्छन । तर, यो पर्वको रौनकमाथि छोराछोरीको हत्या र हराइरहेका छोराछोरीले आँसुमा डुबाउँछ । दशैँको समयमा घरेलु हिंसा, अपहरण र मानव बेचबिखनका घटनाहरू बढ्ने जोखिम छ। हरेक वर्ष हजारौँ व्यक्ति हराउँछन्, जसमध्ये अधिकांश बालबालिका र युवा हुन्छन्। यो दुखद वास्तविकताले हामीलाई प्रश्न गर्छ— हाम्रो समाजले यी छोराछोरीलाई कसरी जोगाउन सकेन ? संविधानले अपराध पीडितलाई क्षतिपूर्तिको हक दिएको छ, तर कार्यान्वयनको कमजोरीले पीडित परिवारहरू अन्यायमा छन्। अधिकाशं जेलहरुमा कैदि जीवन बिताइरहेका मानिसहरु छुटेको अवस्थाले हाम्रो प्रहरी र न्यायिक प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ।
अबको बाटो
सडकबाट सदनसम्म जेन जी आन्दोलनले युवालाई एउटा ठूलो सत्य बुझायो । राजनीति केवल नेताहरूको खेल होइन, यो हाम्रो भविष्यको प्रश्न हो। यो आन्दोलनले नयाँ आशा जगाएको छ, तर यो आशालाई वास्तविकतामा बदल्न ठूलो चुनौती छ। हिंसाबाट टाढा रहँदै यो आन्दोलनलाई शान्तिपूर्ण र रचनात्मक बनाउनुपर्छ। युवाहरूले आफ्नो ऊर्जालाई संस्थागत सुधारमा परिणत गर्नुपर्छ— चाहे त्यो प्रहरी सुधार होस्, न्यायिक प्रणालीको सुदृढीकरण होस् वा भ्रष्टाचारविरुद्धको लडाइँ। दशैँको समयमा हामीले सामाजिक सुरक्षालाई पनि प्राथमिकता दिनुपर्छ। छोराछोरीको सुरक्षाका लागि सामुदायिक पहल र प्रहरी सक्रियता बढाउनुपर्छ। आन्दोलनले यस्ता सामाजिक मुद्दाहरूलाई पनि आफ्नो अभियानमा समेट्नुपर्छ। युवाहरूले राजनीतिक दलहरू र नागरिक समाजसँग संवाद र सहकार्य गरेर यो आन्दोलनलाई संविधान र लोकतान्त्रिक मूल्यमान्यताको परिधिभित्र राख्नुपर्छ।
निष्कर्ष
युवाको हातमा देशको भविष्य दिलाउने जेन जी आन्दोलन कुनै पूर्णविराम होइन, यो त एउटा नयाँ सुरुवात हो । यो आन्दोलनले नेपालको भ्रष्टाचार, कुशासन र सामाजिक अन्यायविरुद्धको सामूहिक आक्रोशलाई उजागर गरेको छ। तर, यो आन्दोलनको भविष्य दुई बाटोमा बाँडिएको छ।
नेपालको भविष्य युवाको हातमा छ, तर त्यो हातमा केवल आक्रोश होइन, विवेक, धैर्य र स्वदेशी चेतना पनि हुनुपर्छ।
पहिलो यदि यो शान्तिपूर्ण, विवेकपूर्ण र माटोमा आधारित समाधानको रुपमा नेपाललाई पारदर्शी र जवाफदेही शासनतर्फ डोर्याउन सक्छ । दोस्रो, यदि हिंसात्मक प्रवृत्ति र बाह्य शक्तिको स्वार्थले यसलाई नियन्त्रण गर्यो भने यसले मुलुकको सार्वभौमिकता र अखण्डतामै चोट पुर्याउन सक्छ।
दशैँको यो समयमा, हामीले छोराछोरीको हत्या र हराइरहेका छोराछोरीको पीडालाई बिर्सनुहुँदैन। यो आन्दोलनले ती पीडित परिवारहरूको न्यायको आवाजलाई पनि समेट्नुपर्छ। नेपालको भविष्य युवाको हातमा छ, तर त्यो हातमा केवल आक्रोश होइन, विवेक, धैर्य र स्वदेशी चेतना पनि हुनुपर्छ। यो आन्दोलनले हामीलाई एउटा सपना देखायो अब हामीले त्यो सपनालाई वास्तविकतामा बदल्नुपर्छ।





























प्रतिक्रिया