नेपालको राजनीति अहिले एउटा जटिल मोडमा उभिएको छ। पछिल्ला दिनहरूमा सडकमा देखिएको जेनजी पुस्ताको आक्रोशले दशकौँदेखि राजनीतिको अग्रमोर्चामा रहेका पुराना नेताहरूको असफल नेतृत्वलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ ।
केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डजस्ता नेताहरूले लामो समयदेखि देशको नेतृत्व सम्हाले । जनताले यसको प्रतिफलमा सुशासनको अभाव, भ्रष्टाचार र अस्थिरता पाए । भाषण र नाराहरु त मीठा थिए तर शासकीय व्यवस्थाले जनताको भरोसालाई क्षीण पार्यो र आक्रोशको ज्वालामुखीमा परिणत गरिदियो। यसपटक सोही आक्रोशको केन्द्रमा पुराना दलहरू र तिनका शीर्ष नेताहरू सँगै उनीहरुसँग नाम जोडिएका व्यापार, व्यवसाय र उद्यमीहरु पनि परे।
लोकतन्त्रलाई अझ उन्नत बनाउन र नयाँ पुस्ताको आक्रोशलाई आशामा रूपान्तरण गर्न पुराना नेताहरूको सन्यासको विकल्प छैन ।
आन्दोलनको पहिलो दिन नै प्रधानमन्त्रीको राजीनामा आएको भए दोस्रो दिनको भयावह विध्वंस देख्न नपर्ने अनुमान गर्न सकिन्छ । यो देशका दजैनौं भविष्यहरु सडकमा ढलिसकेपछि प्रधानमन्त्रीले प्रधानमन्त्री पद त छोडे, तर पार्टी अध्यक्ष किन छोडेनन् ? घरमै आन्दोलनकारीको निशानामा परेर घाइते भइ सेनाले उद्धार गरेर सुरक्षित स्थानमा राखेका भनिएका देउवाले पार्टीको नेतृत्व नयाँ पुस्ताले चलाउँछ भनेर विज्ञप्ति निकाल्न किन सकेनन् ? प्रचण्ड नयाँ पुस्ताको आवाजलाई सम्बोधन गर्न नयाँ नेतृत्वले पार्टी चलाउँछ भन्न किन सक्दैनन् ? रवि लामिछाने कारागारमा रहँदा पनि किन पार्टी नेतृत्व छोड्न सक्दैनन् ? पुराना मुख्य राजनीतिक दलका नेतृत्वको यो मौनता स्वभाविक छैन।
देशका दजैनौं भविष्यहरु सडकमा ढलिसकेपछि प्रधानमन्त्रीले प्रधानमन्त्री पद त छोडे, तर पार्टी अध्यक्ष किन छोडेनन् ?
जेन–जी पुस्ता फरक छ । उनीहरूले आफ्नो बाल्यकालमा युद्ध र अस्थिरता, किशोरावस्थामा राजनीतिक आन्दोलन र अहिले चरम गुटबन्दीको राजनीति देखेर हुर्केका छन् । योसँगै संसारको प्रगति र विकास पनि देखेका छन् । यो पुस्ता अघिल्लो पुस्ताजस्तो सहनशिल छैन। यो पुस्ताले प्रत्यक्ष प्रश्न र प्रतिरोधलाई नै प्राथमिकता दिन्छ। यही कारणले सडकमा देखिएको असन्तोष एउटा क्षणिक आक्रोश नभएर एउटा पुस्तागत रुपमा राजनीति मोडिएको संकेत हो । अब बुबाको वा परीवारको राजनीतिक आस्थाले युवाहरुको मत प्रभावित नहुने देखिएको छ ।
तर, विडम्बना ! हाम्रा नेताहरू अझै पनि आत्ममूल्याङ्कन गर्न तयार छैनन्। यो आन्दोलन सुरु हुने अघिल्लो दिन मात्र ओलीले विधान अधिवेशनमार्फत फेरि अध्यक्ष बन्ने बाटो खोले । देउवा सकेसम्म महाधिवेशन पछि धकेल्न चाहन्थे। प्रचण्डले त पार्टीभित्र प्रतिस्पर्धा नै हुन नदिने वातावरण बनाउँथे । नयाँ पुस्ताले पुस्तान्तरणको माग गरिरहँदा पनि पुराना नेताहरू अझै पदमै टाँसिन खोजिरहेका छन्।
संसारमा यसको विपरीतका धेरै उदाहरणहरु छन् । नेल्सन मण्डेलाले दोस्रो कार्यकालको लोभ नगरी सहजै पद त्याग गरे । डेभिड क्यामरुनले ईयुबाट बाहिरिने पक्षमा जनमतसंग्रको नतिजा आएपछि पदमा टाँसिएनन्, जनताको निर्णयलाई मान्दै पद त्याग गरे । यी उदाहरणहरूले नेतृत्वको मूल्य पदमा टाँसिनु मात्र होइन, समयमै जिम्मेवारी हस्तान्तरण गर्नु हो भन्ने कुराको पुष्टि गर्छन्।
नयाँ पुस्ताले पुस्तान्तरणको माग गरिरहँदा पनि पुराना नेताहरू अझै पदमै टाँसिन खोजिरहेका छन्।
नेपालमै पनि मानिसहरुले सम्झिरहने केही नैतिक आदर्शहरू छन् । गणेशमान सिंहले २०४६ को आन्दोलनपछि प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेर किसुनजीलाई अघि सारेका थिए । तर, आजका नेताहरूले त्यस्तो नैतिक आदर्शलाई निरन्तरता दिन सकेनन्। बरु परिवारवादलाई संस्थागत गर्दै आफ्ना श्रीमती, छोराछोरी र आसेपासेहरुलाई पदमा पुर्याउने अभ्यास गरे । असहमतिको आवाजलाई दबाउने प्रवृत्ति देखाए । यसले दलभित्रै पनि नेताप्रतिको सम्मानलाई क्षीण बनायो। तिनै गणेशमानका छोराको सत्तालिप्सा र परिवारवादको राजनीति प्रतिको आक्रोशले अहिले उनको घर खरानी भएको छ ।
राजनीतिक दलहरुले परिवर्तन र आश्वासनका नारा र व्यवहारमा पुरानै ढर्रा दोहोर्याउने हो भने नयाँ पुस्ताले विद्रोहको आँधी नै ल्याउने रहेछ । र, त्यो आँधीमा को कसरी बढारिन्छ थाहै नहुने रहेछ । यो चेतावनी सडकमा भएको प्रदर्शन, तोडिएका संरचनाहरु र जनआक्रोशले नेताहरूलाई दिएको सन्देश हो।
जनताको आक्रोश अझ बढ्नुअघि, नयाँ पुस्तालाई बाटो दिनु नै अहिलेको आवश्यकता हो ।
आज आम जनताहरुले सोचिरहेका छन्, के पुराना नेताहरूले यो सन्देश सुन्नेछन्, सुध्रनेछन् वा नसुनेको नाटक गरेर बस्नेछन् । खेलाडीहरू आफ्नो करिअरको उत्कर्षमा रहँदै सन्यास घोषणा गर्छन्। नयाँ पुस्ताका केही नेताहरुले निश्चित उमेरपछि राजनीति छोड्ने प्रतिबद्धता सार्वजनिक गरेका छन् । तर, पुराना नेताहरूको दृष्टि अझै पनि कुर्सीमै टाँसिएको जस्तो देखिन्छ ।
जनताको आक्रोश अझ बढ्नुअघि, नयाँ पुस्तालाई बाटो दिनु नै अहिलेको आवश्यकता हो । यो पुस्ताले अपेक्षा गरेको परिवर्तन सहज पुस्तान्तरणबाट मात्र सम्भव हुन्छ । नेपालको राजनीति अहिले नव निर्माणको बाटोमा अघि बढेको छ । संविधानवाद र संवैधानिक चेतनालाई जेनजी पुस्तासम्म पुर्याउँदै लोकतन्त्रलाई अझ उन्नत बनाउन र नयाँ पुस्ताको आक्रोशलाई आशामा रूपान्तरण गर्न पुराना नेताहरूको सन्यासको विकल्प छैन ।





























प्रतिक्रिया