काठमाडौं । भदौ २० देखि २२ गते सम्म ३ दिन नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन गोदावरीको सनराईज हलमा पार्टी अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक विशेष र भव्य समारोहबीच उद्घाटन गरे । दोस्रो विधान महाधिवेशनमा २०२६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल सहभागी सङ्ख्या २३४१ शहभागी थिए भने स्थानीय नेता कार्यकर्ता गर्दा करिब ३ हजार जना ३ दिन सम्म गोदावरीमै थिए ।
२३ गतेबाट शुरु भएको जेनजी आन्दोलनको रापतापले गोदावरीको सनराईज हल २४ गते पूर्ण रुपमा ध्वस्त भयो । एमालेको ३ दिनसम्म चलेको सबै नेता कार्यकर्ता कार्यक्रम उत्साहित रुपमा प्रस्तुत भएका थिए । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ तय गर्दै शुरु भएको दोस्रो विधान महाधिवेशनले पहिलो विधान महाधिवेशनबाट धारा ६४ मा गरिएको ७० बर्ष उमेर हद व्यवस्थालाई २०८० वैशाख २८ देखि ३० गतेसम्म् बसेको पाँचौं केन्द्रीय कमिटीको बैठकले निस्क्रिय गरेको उक्त व्यवस्थालाई विधानबाटै हटाउने प्रस्ताव पारित गरियो ।
पार्टीको पूर्वउपाध्यक्ष एवं पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता समेत रोकेर ओलीलाई तेस्रो कार्यकाल पनि अध्यक्ष बन्न बाटो खुला गर्दै एमालेको विधान महाधिवेशनले पदाधिकारीको ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नमिल्ने व्यवस्थालाई नयाँ विधानको मस्यौदाबाट हटाइयाे । तर पुनः अध्यक्ष हुने वैधानिक प्रावधान सुनिश्चित गरेको व्यक्तिकै नेतृत्वमा रहेका सरकार विना कसैको नेतृत्व रहेको जेन्जी आन्दोलनले २८ घण्टामै ढालिदियो ।
असार ४ गते एमालेकै एक कार्यक्रममा अर्थमन्त्रीसमेत रहेका पार्टी उपाध्यक्ष बिष्णु पौडेलले भनेका थिए- “एक समय थियो जतिबेला पार्टीले आह्वान गर्ने बित्तिकै हजारौँ लाखौँ मान्छे सडकमा उत्रिन्थे । अहिले थोरै मान्छे जुटाउन पनि निकै मिहिनेत गर्नुपर्ने स्थिति सिर्जना भएको छ, किन ? अहिले पार्टी र पार्टी कार्यकर्तामा किन शिथिलताको स्थिति बन्यो भन्ने कुरा अलिकति छलफल र चिन्ताको विषय हो ।” तर विधान अधिवेशनमा त्यस्तो छलफल हुन सकेन खाली सरकारको बचाउ र प्रधानमन्त्री तथा पार्टी अध्यक्षको देवत्वकरण मात्र भयो ।
त्यसको केही समय अगाडि पार्टीकै उपमहासचिव प्रदीप ज्ञवालीले बाग्मती प्रदेश कमिटीद्वारा आयोजित विभागीय प्रमुख र सचिवहरूको बैठकलाई सम्बोधन गर्दै एमाले नेता कार्यकर्ताको सेल्फ सेन्सरसीपले आम जनमानसमा एमाले कार्यकर्ता निम्छरो बनिरहेको धारणा राखेका थिए ।
एमालेले भदौ २४ मा ठिक त्यस्तै नियती भोग्यो । एमालेले मात्र नभएर देशको शासन सत्ता आफ्नो हातमा रहेको समयमा जेन जी आन्दोलन उत्कर्षमा पुग्यो र संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत र प्रधानमन्त्री निवास, राष्ट्रपती निवाससहित राज्यका मुख्य अङ्गका कार्यालयहरूमा आक्रमण, तोडफोड र आगजनी भयो। प्रहरी प्रशासनले स्थितीलाई नियन्त्रणमा लिन सकेन र सेनाले स्थिती नियन्त्रणको प्रयास नै गरेन ।
सरकारी भवन र कार्यालय तोडफोडपछि मुख्यतः एमाले नेताका घरलाई निशाना बनाउँदै सबै नेताहरुका घर आगजनी र तोडफोड भए । प्रधानमन्त्री एवं पार्टी अध्यक्षको वालकोटस्थित घर काठमाडाैंमा वार्ड तहसम्मका सबै पार्टी कार्यलय र एमाले मुख्यालय सबै जलेर खरानी भयो । पदाधिकारी तहमा घर क्षति हुन कसैको बाँकी रहेन ।
विधान महाधिवेशनमार्फत एमालेले आफू देशकै सबैभन्दा धेरै संगठित सदस्य ६ लाख ६२ हजार ९ सय ६१ जना रहेकाे र जनसंगठनमा समेत आवद्दता रहेको संख्या हिसाव गर्दा १२ लाख ६९ हजार १ सय ६१ सदस्य रहेको तथ्य पार्टीका महासचिव शंकर पोखरेलले प्रस्तुत गरेका थिए ।
एमालेको संगठन विभागसँग रहेको तथ्याङ्क अनुसार अहिले केन्द्र र जनसंगठन बाहेक प्रदेशदेखि टोलसम्म हजारौँ कमिटी सक्रिय बनेका छन् । तथ्याङ्क अनुसार २१ हजार २ सय २३ वटा टोल कमिटी सक्रिय रहेका छन् । यो अन्य पार्टीहरुको तुलनामा संभवतः सबै भन्दाबढी कमिटी हो । एमालेमा २१ हजार बढी टोल कमिटीको पदाधिकारी र सदस्यको संख्या मात्रै २ लाख २१ हजार ३ सय ७८ छ ।
७७ जिल्ला र अन्य विशेष गरी १ सय २ जिल्ला कमिटीमा आवद्ध पदाधिकारी र सदस्यको संख्या मात्रै ९ हजार ७ सय ७४ रहेको संगठन विभाग सचिव माधव ढुंगेलले जानकारी दिए ।
एमालेको संगठन विभागले तयार पारेको तथ्याङ्क अनुसार ७ सय ५३ पालिकामा मात्रै ४१ हजार ६ सय ३३ पदाधिकारी र सदस्य रहेका छन् । विभागका अनुसार ७ हजार बढी वडामध्ये ६ हजार ९ सय २० बढी वडाको कमिटीले पूर्णता प्राप्त गरेका छन् भने बाँकीले पनि पूर्णता पाउने तयारीमा छन् । ती वडामा १ लाख ७४ हजार २ सय ४५ पदाधिकारी र सदस्य रहेका छन् । त्यस्तै २१ हजार ३ सय ७८ टोल कमिटीमा २ लाख १ हजार ३ सय ६४ पदाधिकारी र सदस्य रहेका छन् ।
सात प्रदेश प्रवास अन्तराष्ट्रिय, उपत्यका विशेष र सम्पर्क समन्वय गरी ११ प्रदेशमा ४ हजार ३९ पदाधिकारी र सदस्य रहेका छन् । करिव ३/४ हजारको संख्यामा रहेका जनसंठनका अधिवेशनहरुले पनि एमाले मजबूद त देखाउँछ तर २ दिनमा भएकाे विध्वंसमा एमालेको संगठित फौजले कुनै पार्टी कार्यालय र आफ्ना नेताको घरसम्म जोगाउन कही प्रतिवाद गरेको भेटिएन । आखिर कमिटीहरु संगठनहरु के का लागि र किन आवश्यक रह्याे भन्ने प्रश्न कार्यकर्ताले र आम शुभेच्छुकहरुले गर्न थालेका छन् ।
एमालेसँग विभिन्न पंक्तिका जनसंगठनहरू छन्, अनेरास्ववियु, युवा संघ । तर जेनजी आन्दोलनको जस्तो निर्णायक घडीमा यिनले न प्रभावकारी संवादको भूमिका खेले, न आन्दोलनको मर्म बुझ्न सके, न शान्तिपूर्ण संयमको सन्देश दिनसके ।
अनेरास्ववियु र युवा संगठनहरू आन्दोलनमा उत्रिएका युवाहरूसँग संवाद गर्न युवा विद्यार्थीका सवाल जवाफ, समस्या र समाजमा सत्ताप्रति उठेको आक्रोश बुझ्न असफल भए । तिनका नेताहरू ‘राजनीतिक नियुक्ति’ र आफ्ना नेताको भक्तिभावमा रमाइरहेका बेला सडकका युवाहरू आत्मघाती निराशा र आक्रोशमा थिए। संगठनहरू पार्टीका नेताहरूको सुरक्षा कवच मात्र पनि बन्न सकेनन् ।
जेनजी आन्दोलनले नेपालको युवा पुस्ता कति असन्तुष्ट, निराश र उद्वेलित छ भन्ने कुराकाे उजागर गरेकाे छ । राजनीतिक दलका जनसंगठनहरू र पार्टी कमिटी र कार्यकर्ताहरु अब जनताको संगठन होइन, सत्ता संरक्षित औजारमा सीमित हुँदै गएका छन्। एमालेका जनसंगठनहरू यसको ज्वलन्त उदाहरणका रुपमा प्रकट हुँदैछन् ।“जब जनता आक्रोशको ज्वालामुखी बनेर बर्सिन्छन्, तब तिनीहरूको चिच्याहट सुन्ने, पीडा बुझ्ने, र गहिरो संवादको पुल बन्नु पर्ने जन संगठन र नेता कार्यकर्ताहरु संगठनहरू जनताको विवेक र विश्वासका प्रतिनिधि हुनुपर्ने हो । तर जेनजी आन्दोलनको आन्तरिक विस्फोटमा, एमालेका जनसंगठनहरू न त त्यो पुल बने, न त विश्वासको पात्र नै । मात्र केवल इतिहासकै सर्वाधिक निर्णायक क्षणमा अदृश्य र निरुत्तरित देखिए, जसले कमिटी र जनसंगठनहरु नेता र पार्टी जस्तै सुध्रिनु र सच्चिनु जरुरी रहेको देखिन्छ ।































प्रतिक्रिया