स्वामी आनन्द अरुणको सन्यास दिक्षा

स्वामी आनन्द अरुणको सन्यास दिक्षा

केन्द्रबिन्दु
168
Shares

-स्वामी ध्यान आशिष

२०औँ शताब्दीको मध्यतिर भारतमा उदाएका एक महान रहस्यदर्शी ओशोले २६ सेप्टेम्बर १९७० मा भारतको मनालीमा भएको ध्यानशिविरमा पहिलोपटक सन्यास दिक्षा दिन प्रारम्भ गर्नुभएको थियो। ब्यास नदिको नजिक हिमालको काखमा रहेको मनालीमा त्यस ताका आचार्य रजनिशको नामले प्रख्यात ओशोले त्यहा भएको ध्यान शिविरमा दश जना अन्तरंग शिष्यहरुलाई दिक्षा दिनुभएको थियो।

त्यसपछि ओशोले नवसन्यासको श्रृङ्खला जारी राख्नुभयो । उहाँले सेप्टेम्बर १९७० मा नै ५० जना ब्यक्तिहरुको सन्यास नाम तयार गरिसक्नुभएको थियो। ति ५० जना मध्ये स्वामी आनन्द अरुण पनि एक हुनुहुन्थ्यो। उहाँलाई पनि उक्त ध्यान शिविरमा निमन्त्रणा गरिएको थियो तर उहाँको इन्जिनियरिङको पढाई र दिक्षाको तयारी नपुगेको हुदाँ उहाँ त्यहाँ जान सक्नु भएन। उहाँको सन्यास नाम भने त्यसैबेला तय भईसकेको कुरा स्वामी अरुणले सतसङ्गमा पटक पटक बताउनु हुन्छ।

यसरी ओशोको नवसन्यास दिक्षा ४ वर्ष अघि नै प्रारम्भ भैसकेको पृष्ठभूमी थियो। स्वामी आनन्द अरुणले इन्जिनियरिङमा स्नातक तहको शिक्षा पुरा गरी सरकारी जागिर शुरु गरी एउटा सानो घर (जहाँ अहिले ओशो आशिष ध्यान केन्द्र रहेको छ) काठमाडाैंको ताहाचलमा बनाएपछि उहाँ श्री रजनिश आश्रम पुना जानुभयो। त्यसपछि ११ अक्टोबर १९७४ मा श्री रजनिश आश्रम पुनामा उहाँलाई ओशोले विधिवत रुपमा सन्यास दिक्षा दिनुभयो।

स्वामी आनन्द अरुणज्यूको नवसन्यास दिक्षा नेपालको ओशो मुभमेन्टमा एउटा अभुतपूर्व कोशेढुङ्गा हो। उहाँको दिक्षासँगै नेपालको ओशो अभियानले उडान भर्न थाल्यो। नेपालमा ओशोको देशनाले उचाई प्राप्त गर्न थाल्यो। सन्यास दिक्षा पछि करिब ४ महिना गुरुको चरणमा बिताएका स्वामी अरुणलाई ति महान गुरुले नेपालमा गई आफ्नो देशना फैलाउन आदेश दिनुभयो। यद्धपी स्वामी आनन्द अरुण त्यसको लागि मन्जुर हुनु भएको थिएन। ति महान गुरुले २१ डिसेम्बर १९७४ मा श्री आशिष रजनिश ध्यान केन्द्र, काठमाण्डौँ नेपालको प्रमाणपत्र उहाँको हातमा थमाई भन्नु भयो। ” तिम्रो कार्यक्षेत्र नेपाल हो। तिमी नेपाल फर्क र मेरो संदेश नेपालमा फैलाउ। ” गुरुको आदेश भएपछि गुरुसँगै बस्ने तीब्र इच्छा भएपनि उहाँ नेपाल आई ओशोको प्रचार र आफ्नो अर्न्तसाधनामा लाग्नु भयो।

स्वामी आनन्द अरुणज्यूको सन्यास सँगै नेपालमा ओशोको पहिलो ध्यान केन्द्र आशिष बन्यो। नागार्जुन हिल्सको सुन्दर प्रकृतिमा विश्वकै उत्कृष्ट आश्रमहरु मध्ये मानिएको ओशोको अर्न्तराष्ट्रिय कम्युन ओशो तपोवन बन्यो। नेपालको सुन्दर शहर पोखरामा ओशो उपबन बन्यो। बुद्धको जन्मस्थल लुम्बिनीमा बहुत सुन्दर कम्युन ओशो जेतबन बन्यो। नेपाल भरि करिब १२ वटा ओशोका कम्युनहरु बनेका छन। अनि १४० भन्दा बढि ओशो आश्रम र ध्यान केन्द्रहरु बनेका छन। यि सम्पूर्ण आश्रमहरु संचालनमा प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा स्वामी आनन्द अरुणज्यूको ओशोको देशना संसारभर फैलाउने मनोविज्ञान अर्न्तनिहित छ।

११ अक्टोबर १९७४ मा पुनामा सन्यास लिएपछि उहाँ अपार आनन्दमा डुब्नु भयो। उहाँले अनेक पटक सतोरी जस्लाई सविकल्प समाधी पनि भनिन्छ को अनुभव गर्नुभयो। स्वामी आनन्द अरुणज्यूको सन्यास भित्र लुकेका अनेक रहस्यहरु विस्तारै उजागर हुदैँ गएका छन। पछिल्लो समय यसै वर्ष जब उहाँ एक बौद्ध सम्मेलनमा विशेष अतिथिको रुपमा भुटान जानुभयो। त्यहाँ उहाँले भुटानि राजकुमार बिरोचन रिम्पोचेलाई भेटेपछि उहाँको सन्यास भित्र लुकेका पुर्व जन्मका रहस्यहरु अझै उजागर भए। विज्ञान र धर्मको समन्वयको दर्शन विश्व जगतमा प्रस्तुत गर्नुभएका महान गुरु ओशोको नवसन्यास यो जगतमा अनौठो र नविन प्रस्तुती थियो।

ओशोको सन्यास परम्पराबादी सन्यास जुन वर्षौ देखि चलि आएको थियो त्यस प्रति एक प्रकारको बिद्रोह थियो। ओशोको नवसन्यास भौतिक दुनिया र अध्यात्मिक साधनाको समन्वयको पृष्ठभूमीमा खडा हुन्छ। विज्ञान र प्रविधिको विकासलाई ओशोले जोड दिदैँ ओशोको सन्यासी भौतिक दुनियामा पनि समृद्ध र अध्यात्मिक साधनामा पनि उचाई हासिल गरेको जोर्वा दि बुद्धको दर्शनलाई ओशोले पहिलो पटक यो धर्तीमा प्रस्तुत गर्नु भयो। ति महान गुरुको यो शताब्दी सुहाउदो सन्देशलाई स्वामी आनन्द अरुणज्यूले अहिले विश्व जगतलाई बाढिरहनु भएको छ। उहाँको सन्यास दिवसको उपलक्ष्यमा उहाँलाई हार्दिक शुभकामना र उहाँको चरण कमलमा नमन !

जय ओशो ! जय भगवान !

(लेखक आशिष ओशो शिष्य हुन्)

Logo