हुकापातिको उज्यालोः झिलिमिलीको चमक

हुकापातिको उज्यालोः झिलिमिलीको चमक


समान्यतयाः जाडो आउनुअघिको यो मौसमसँग मिथिलाञ्चलमा एक विशेष सुगन्ध आउने गर्छ । ताजा माटोको गन्ध, भित्र्याउँदै गरेको धान र त्यसलाई कुटेर बनाएको चिउराको बास्ना, र लिपपोत गरिएर सिंगारिएको घरको उज्यालोको चमकले गाउँनै मनमोहक भएको हुन्छ । दशैं सकिँदै गर्दा गाउँका आँगनहरू फेरि ब्यूँझिन्छन्, मानौँ उनीहरू वर्षैपिच्छे यिनै तीन रातको प्रतीक्षामा निदाएका थिए । हो, कोजाग्रा (कोजाग्रत पुर्णिमा) को ठ्याक्कै पन्ध्रौ दिनमा औसीको रात अर्थात् उज्यालोको पर्व तिहार हुन्छ । हुकापातीको आगो, हुराहुरीको खेल र दिदीभाइको आत्मीयताले मिथिलाञ्चलको दिपावलीलाई विशेष बनाएको हुन्छ ।

तिहार मिथिलाञ्चलको मात्र पर्व होइन । नेपालीहरुको राष्ट्रिय पर्व हो, अझ सम्पुर्ण हिन्दुहरुको महान पर्व हो, तिहार । कागतिहार, कुकुरतिहार, गाईतिहार, गोरुतिहार र भाईतिहार गरि मनाईने यमपञ्चकका बारेमा थाहा नहुने कमै होला । पछिल्लो चरणमा शहरमा तिहारको अर्थ बदलिएको छ । त्यहाँ दशैं सकिँदा होटल र क्याफेहरूमा झिलिमिली लाइट टाँसिन्छ, सामाजिक सञ्जालमा “हाप्पी तिहार” ट्यागहरू भरिन्छन् । लक्ष्मी पूजाका लागि बिशेष रंगोली, आयातित कृतिम मालाहरु र बतिहरुले सजिजएका घरहरुमा धनतेरसको शपिङ्ग, तास र जुवाको रमाईलो अनि भाईटिकामा ड्राईफ्रुट्स र बजारिया मिठाइहरुले भरिएको चलन भित्रिएको छ ।

तर गाउँमा भने यही बेला महिलाहरू माटो छाम्दै भित्तामा रंग मिसाउँदै नाङ्गो हातले संस्कृति कोर्दै हुन्छन् । त्यो रंग र त्यो उज्यालोमा कुनै बिजुलीको बल्बले दिन नसक्ने आत्मा मिसिएको हुन्छ । गाँउघरमा पक्की घरहरु कमै हुन्थ्यो । बासको टाटी बनाएको भित्ताहरुमा माटोले लेपेर चिटिक्क बनाइएको हुन्छ । माटोमा भुस मिसाएर खुट्टाले कुल्चिर नरम बनाइन्छ । र त्यही माटोले भुइँ र टाटी लिपिन्छ, पहेँलो माटो घोलेर भित्तामा रंग लागाईन्छ । अनि त्यसमा परम्परागत मिथिला चित्रहरु बनाउने चलन अहिले पनि मधेशका गाउहरुमा भेटिन्छन् ।

हरेक घरको छानामा हुकापाति राख्नु र बेलुका यसलाई बालेर खेल्ने चलन मधेसको तिहारको मुख्य विशेषता मानिन्छ । यसको बनावटले मधेसको सभ्यता झल्काउँछ ।

दियावाती तथा हुकापाती

हुनत यमपञ्चक पाँच दिनको भएपनि मधेशमा कागतिहार र कुकुर तिहारमा खासै विशेष हुँदैन । आजभोलि लक्ष्मीपूजाको अघिल्लो दिन धनतेरश भनेर किनमेल गर्ने चलन बढेको छ । तर गाँउघरमा अझै यसले ठुलो अवसर बनेको छैन । तर तेस्रोदिन अर्थात लक्ष्मीपूजादेखि चाँहि रौनक फरक हुन्छ । लक्ष्मीपूजाका दिन बिहान गोवरले आगन पोत्ने, सफा गर्ने र शुद्ध बनाउने चलन छ । साँझ हुनु अगाडि नै आँगनमा पहेलो माटो घोलेर थरीथरीका रंगोली बनाउने, काचो माटोको दियोहरु बनाएर बाल्ने, मुलुकको अन्य भागमा जस्तै गाईलाई लक्ष्मी मानेर पूजा गर्ने, र दियो, बति तथा मैनवतीहरु बालेर घरहरू झकिझकाउ गर्ने गरिन्छ । यसबाहेक यसै साझ मधेशमा परिवारका सदस्यहरुले हुकापाती (पश्चिम तिर ‘उकालोली’ भनिन्छ) खेलिन्छ ।

पछिल्लो चरणमा शहरतिर हुकापाती खेल्ने न त स्थान छ, न त हुकापाती बनाउन जानेका छन् । त्यसैले यो खेलिनेक्रम घट्दो भए पनि मधेशका धेरै स्थानमा यो परम्परा अझै पनि जिवितै छ । यसमा सन्ठी (पाटबाट जुट निकाले पछि रहेको, चाँडै बल्ने) र खर मिसाएर हुकापाति (उक) बनाउँछन् । हरेक घरको छानामा हुकापाति राख्नु र बेलुका यसलाई बालेर खेल्ने चलन मधेसको तिहारको मुख्य विशेषता मानिन्छ । यसको बनावटले मधेसको सभ्यता झल्काउँछ ।

शहरतिर हुकापाती खेल्ने न त स्थान छ, न त हुकापाती बनाउन जानेका छन् ।

घरको मुल पुरुषले पूजाकोठामा बालिएको दियोबाट आफ्नो हुकापातिमा आगो सल्काउँदै लान्छन् र उनीसंगै घरका केटाकेटी, बिशेषतः अन्य पुरुषहरु आ–आफ्ना हुकापाति बाल्दै फराकिलो ठाउमा टोलका अन्य घरका सदस्यहरुसंग संयुक्त रुपमा खेल्ने गर्छन । र खेलिसके पछि सबै डढ्न लागेको हुकापातिहरु एकै ठाउँमा राखेर पाँचपटक नाघेर (तर्पण गरेर) निभाइन्छ । यसरी खेल्नाले घरबाट रोग–व्याधि, दुःखकष्ट भाग्ने, यो मौसममा आएका किराफटेङ्गरा डढ्ने र देवी लक्ष्मीको बास हुने जनविश्वास रहिआएको छ । घरको छानामा राखिएको हुकापाति चाहि सामाचकेवा पर्वमा वा अन्न भित्रयाईने पर्व ‘नेमान’ मा त्यसैलाई बालेर धानको लाबा बनाउदा प्रयोग गरिन्छ ।

गोबर्धन पूजा तथा हुराहुरी

दोस्रो दिन अर्थात् गोबर्धन पूजा । गाउँका गोठहरूमा जीवन चलायमान हुन्छ । महिलाहरू गोठ सफा गर्छन्, गोवरबाट गोवर्धनको प्रतीक बनाउँछन्, त्यसमा घिराैलाको फूलले सजाउँछन् । पुरुषहरू गाईभैंसीको सिङमा तेल घस्छन्, डोरी र गल्दामीहरुमा रङ्ग लगाउँछन् । गाईवस्तुलाई सिँगारेर मात्र छाड्दैनन्, मीठो र पोष्टिक खानेकुराहरु (बरबकाईन) पनि खुवाइन्छ । यस दिन गाईवस्तु तथा हलोजोत्ने हरुवाहरुको बिशेषदिनका रुपमा मनाइन्छ । अझै पनि कतैकतै दिउँसोतिर गाउँभरिको गोरु, भैसीहरुको प्रर्दशनी तथा जुधाउने खेलहरु हुन्छन् । कतै–कतै बलियो भैंसी छानेर हुराहुरीमा जुधाउने चलन पनि छ । सुँगुरको कलिलो बच्चालाई बाँधेर ढोल बजाउँदै भैंसीबाट मार्न लगाउने खेललाई हुराहुरी भनिन्छ । बालबालिकाको आँखामा त्यो दृश्य मेला जस्तो लाग्छ । तर शहरका गोठहरू त पहिले नै हराइसकेका छन् । त्यहाँ हुराहुरी केवल कुनै फेसबुक पोस्टमा देखिने पुरानो परम्परा बनिसकेको छ ।

भाइटिका तथा भरदुतिया

तेस्रो दिन भरदुतिया उल्लासपूर्वक मनाइन्छ । यस पर्वलाई भाइ दुज, भरदुतिया, भातृद्वितीया, भाइटीकाका नामले मनाइन्छ । दिदिबहिनी र दाजुभाई एकै ठाउमा जम्मा भएर भाइटिका मनाउने चलन मधेशमा छैन । अलिक फरक छ, तर आस्था फरक चाहि होइन । रक्षाबन्धनमा दिदिबहिनी दाजुभाईको घर गए जस्तै यस दिन दाजुभाइ नै दिदीबहिनीको घरमा पुग्छन् ।

भार (मिठो पकवानहरु सहितका सनेस तथा लुगा) लिएर चेलीहरुको घरमा पुग्ने गर्छन् । भरदुतीयामा दिदीबहिनीले घरआँगन लिपेर चोख्याउँछन् । आँगनमा पिर्का राखेर त्यसमाथि अरिपन (माटो घोलेर बनाइने मिथिला चित्र) बनाएर सिन्दूरको थोपा पनि लगाउँछन् । दिदीबहिनीले दाजुभाइलाई अरिपन दिइएको पिर्कामा बसाउँछन् । त्यसपछि दाजुभाईको अञ्जुलीमा पानको पात, सुपारी, ओखर, फलफूल राखेर यमुनाले भाई यमराजलाई पूजा गरे जस्तै लामो आयुका लागि ‘न्यौत’ लिन्छन् । त्यसपछि दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका र माला लगाइदिएर दीर्घायुको कामना गर्छन् । धेरै दिदिबहिनी भएको दाजुभाइहरुले सबै कहाँ पुग्नुपर्ने भएकाले त्यसैदिन पनि दिदीबहिनीहरुले आफ्ना दाजुभाइहरुलाई खुवाएर गच्छेअनुसार सुपारी, फलफूल, लुगा आदि दिएर विदाई गर्ने हुन सक्छ ।

हुकापाती केवल खरको टुक्रा होइन— त्यो मिथिला भूमिको आत्मा हो । त्यो उज्यालोले कहिल्यै मोबाइलको फ्ल्यासमा अटाउँदैन ।

म कहिलेकाहीँ सम्झन्छु, बाल्यकालमा हुकापाती बाल्दा आकाशतिर हेर्दा कुनै अदृश्य आत्मीयता महसुस हुन्थ्यो । त्यो उज्यालोमा बुबाको अनुहार देखिन्थ्यो, आमाको हातको स्पर्श महसुस हुन्थ्यो, टोलका साथीहरूको हाँसो घन्किन्थ्यो । आज शहरमा त्यो आगो हराएको छ, तर गाउँमा अझै कतै त्यो उज्यालो बलिरहेको छ । हुकापाती केवल खरको टुक्रा होइन— त्यो मिथिला भूमिको आत्मा हो । त्यो उज्यालोले कहिल्यै मोबाइलको फ्ल्यासमा अटाउँदैन ।

समयले धेरै कुरा बदलिसकेको छ । शहरका छतमा हुकापाती बाल्न जान्ने हातहरु घटेका छन् । खरको गन्ध चिन्दा–चिन्दै नचिन्ने पुस्ता बढ्दै गएको छ । झिलिमिली बल्बले उज्यालो त दिएको छ, तर त्यो उज्यालोमा ‘घर’ भन्ने भाव छैन, परम्परा भन्ने गन्ध छैन । अहिले तिहार एउटा सेलिब्रेसन बन्दै गएको छ । तर फरक तरिकाले गोरु पूजा गर्नु, भाइटिकामा दाजुभाईलाई स्वागत गर्नुसँगै हुकापाती खेल्नु, हुराहुरीको रमाईलो हेर्न पाउनुले मधेशमा तिहारलाई अझ रमाईलो बनाएको हुन्छ ।

Logo