काठमाडौँ । नेपालको राजनीति अहिले संक्रमणको अर्को निर्णायक मोडमा पुगेको छ। भदौ महिनामा भएको जेन जी आन्दोलनले नेपाली राजनीति र समाजमा एउटा नयाँ चेतना भित्र्याएको छ। राजनीतिक उत्तरदायित्व र नैतिकता प्रति युवाहरूको जागरण आन्दोलनले गराईएिको छ । यो आन्दोलनले पुरानो पुस्ताको ‘सत्ता–केन्द्रित’ राजनीतिक सोचलाई प्रश्न गरेको छ र नयाँ पुस्ताको ‘उत्तरदायित्व–केन्द्रित’ राजनीतिक सोचको बीउ रोपेको छ। तर दुर्भाग्यवश, पुराना दलहरू अझै पनि यो चेतनाको मर्म नबुझेको देखिन्छ।
जेन्जी आन्दोलन: चेतनाको बिस्फोट
जेन्जी आन्दोलन केवल सडक प्रदर्शन वा नाराबाजी मात्र थिएन। यो आन्दोलन विश्वसनीय नेतृत्व र पारदर्शी शासन को माग थियो। युवाहरूले भनिरहेका थिए “हामीलाई पुराना खोक्रा वाचा होइन, परिणाम चाहियो।” तर पुराना दलहरूले यसको सन्देश बुझ्नुभन्दा पनि, आन्दोलनलाई अवमूल्यन गरे, अपमानित गरे र केही अवस्थामा त तिनलाई ‘राजनीतिक एजेन्डा’को आरोप पनि लगाए। यसरी युवाहरूको आवाजलाई बेवास्ता गर्ने प्रवृत्तिले अहिलेको राजनीतिक भ्याकुमलाई अझ गहिरो बनाएको छ।
वर्तमान स्थिति : नेतृत्वको रिक्तता र जनताको मोहभंग
आजको नेपालमा नेतृत्वको रिक्तता स्पष्ट देखिन्छ। पुराना दलहरू आ–आफ्नै आन्तरिक कलहमा अल्झिएका छन्। नयाँ दलहरू उत्साह त देखाउँछन्, तर संगठनात्मक परिपक्वता र दीर्घदृष्टि अभाव छ। परिणामस्वरूप, देश एक प्रकारको ‘राजनीतिक मध्यविन्दु’मा आइपुगेको छ। जहाँ सबै कुरा चलिरहेको छ, तर केही पनि अगाडि बढिरहेको छैन। संसद निष्क्रिय छ, सरकार जनतासँग जोडिएको छैन, र विपक्षले विकल्प प्रस्तुत गर्न सकेको छैन। यस्तो अवस्थामा राजनीतिक भ्याकुमको समाधान जनमतमा फर्केर मात्र सम्भव छ।
निर्वाचन विरोधी एमालेको मूभ — लोकतान्त्रिक बाटोमा अवरोध
देशको प्रमुख विपक्षी दल एमालेले पछिल्ला दिनहरूमा जनमत लिने प्रक्रियालाई कमजोर पार्ने खालका अभिव्यक्ति र गतिविधि गर्दै आएको छ। निर्वाचनको समय, आयोगको अधिकार, र परिणामका वैधानिकतामाथि नै प्रश्न उठाउने प्रवृत्तिले लोकतन्त्रलाई नै जोखिममा पारिरहेको छ। एकातिर एमालेले आफूलाई ‘जनताको पार्टी’ भन्छ, अर्कोतर्फ जनतालाई मत दिनबाट रोक्ने वा प्रक्रियामाथि शंका उत्पन्न गर्ने यो द्वैध चरित्र लोकतन्त्रका लागि घातक छ। एमालेले बुझ्न जरुरी छ निर्वाचन अस्वीकार गर्नु भनेको जनताको अधिकार अस्वीकार गर्नु हो र जनतामाथि अविश्वास गर्नु भनेको अन्ततः राजनीतिक आत्मघात हो।
जेन्जी चेतना र नयाँ राजनीतिक दिशाले अब पुराना राजनीतिक नाटकहरू बुझिसकेको छ। उनीहरू राजनीतिक वचन होइन, उत्तरदायित्व र परिणाम खोज्छन्। सोसल मिडिया र वैकल्पिक प्लेटफर्महरूमा उनीहरूको आवाज तीव्र रूपमा फैलिँदैछ।
युवाहरूको यो जागरण नै नयाँ राजनीतिक चेतनाको बीउ हो — जसले पुरानो सत्ता–संस्कृतिलाई प्रतिस्थापन गर्न सक्छ। तर यो चेतनालाई मार्गदर्शन गर्ने संयम, संगठन र नीति जरुरी छ। त्यसका लागि निर्वाचन नै एक मात्र वैधानिक माध्यम हो, जहाँ नयाँ पुस्ताले पुरानो राजनीतिक संरचनालाई चुनौती दिन सक्छ।
जनताको मतभन्दा माथि कोही छैन
नेपालको वर्तमान राजनीतिक संकट कुनै दल वा व्यक्ति केन्द्रित समस्या होइन — यो प्रणाली र मानसिकताको समस्या हो। यसको समाधान संविधानसम्मत बाटो — अर्थात् स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनबाहेक अरू केही हुनै सक्दैन। एमालेसहित सबै दलले यो बुझ्न जरुरी छ जनताको मत नै लोकतन्त्रको मेरुदण्ड हो। त्यसको विरोध गर्ने हरेक चाल अन्ततः जनताको विश्वासमाथि हमला हो, जसको परिणाम देशका लागि विनाशकारी हुन सक्छ। अब समय आएको छ युवाको चेतनालाई मान्यता दिने, राजनीतिक भ्याकुम अन्त्य गर्ने, र जनमतमा फर्केर लोकतन्त्रलाई पुनर्जीवित गर्ने।
जेन्जी आन्दोलनले सिकाएको मुख्य पाठ यही हो ।जनताको आवाजमाथि कुनै पनि शक्ति ठुलो हुँदैन। त्यसैले, निर्वाचन नै निकास हो। त्यसको विरोध अत्यन्तै घातक हुन्छ र हुनेछ ।
( ध्रुव केसी पेशाले शिक्षक हुन्,उनी समसामयिक विषयमा कहिलेकाँही लेख लेख्ने गर्छन् )































प्रतिक्रिया