अनमोल कि प्रदीप (भिडियो रिपोर्ट)

अनमोल कि प्रदीप (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

नेपाली फिल्म उद्योगमा सर्वाधिक ‘फेसभ्यालु’ भएको कलाकार को होला ? यो समय जवाफ दिंदा निश्चय नै अनमोल केसी र प्रदीप खड्का । यस जवाफमा सायदै कसैको विमती रहला । अनमोल र प्रदीपलाई फिल्म खेलाएका मात्र होइन, खेलाउन नपाएका वा नचाहेका जोकोही निर्माता/निर्देशक उनीहरुको लोभलाग्दो स्टारडमलाई नकार्दैनन् ।

लगातार चार सुपरहिट फिल्म दिइसकेका छन् अनमोलले । होस्टेलबाट सुरु भएको उनको सफल यात्रा जेरी, ड्रिम्स हुँदै गाजलुसम्म सुखद रहयो । यी फिल्मले अनमोललाई खासगरी सहरीया युवापुस्ताको ढुकढुकी बनाएको छ । उनीमाथिको लगानी पुरापुर सुरक्षित देखिन्छ आजको दिनसम्म । माघ २६ मा उनी अभिनीत कृ प्रदर्शन हुँदैछ । उनकै कारण कृलाई अहिलेसम्मकै सर्वाधिक ‘हाइप’ पाउने स्वदेशी फिल्मको रुपमा चित्रित गरिएको छ ।

अनमोलपछि स्टारडम भएको हिरो प्रदीप खड्का हो भन्नेमा पनि कसैको विमत्ति नहोला । कतिलाई त प्रदीप अझ ‘पावरफुल’ पनि लाग्ला । उनमा अनमोललाई आच्छुआच्छु पार्ने ल्याकतचाहीं छ । प्रदीपको पहिलो फिल्म इस्केप पत्तासाफ भएको थियो । उनलाई चम्काउने फिल्म हो, प्रेमगीत । यसको सिक्वेल प्रेमगीत २ ले त्यो क्रेजलाई अझ बलियो र गहिरो बनाईदियो । उनी पनि पुस्तामाझ नै प्रिय छन् । यतिबेला प्रदीप लिलीबिलीबाट हिटमा ‘ह्याट्रिक’ गर्ने दाउमा छन् । डायस्पोरामा अनमोलभन्दा उनको बढी ‘डिमान्ड’ छ भनिन्छ ।

आकर्षणको केन्द्रमा रहेका यी दुई स्टारबीच तीव्र प्रतिस्पर्धा हुनु त स्वभाविक भइहाल्यो । अचम्मचाहीं उनीहरुको दोहोरो चिनजान छैन । सम्भवत: प्रत्यक्ष भेटघाटसमेत भएको छैन । बरु जानी/नजानी ‘कोल्ड वार’ बढिरहेको छ । साँच्चै भन्दा ‘अनमोल भर्सेस प्रदीप’ माहौल बनिरहेको छ । आ–आफ्नै खेमा तयार हुँदैछ । फिल्ममेकरले मात्र होइन, सामान्य दर्शकले पनि एकअर्कासँग तुलना गरिदिन्छन् । दुवै चकलेटी लुक्स हुनुको नाताले पनि यो सब भइरहेको छ । नत्र अनमोल–प्रदीपलाई सौगात मल्ल र दयाहाङ राईसँग कस्ले दाँज्छ र ? तर अनमोल र प्रदीपको ‘जोन’ एउटै हो । त्यसैले फिल्म छनौट, पारिश्रमिकदेखी लाइफस्टाइलसम्म प्रतिस्पर्धा हुन्छ, कहिले स्वस्थ त कहिले देखासिखी टाइपले । कहिले हाकाहाक्की बोलेर त, कहिले रणनीतिक रुपमा । यहाँ हामी यी दुई चल्तीका स्टारका सबलता, दुर्बलता र समानतालाई नियाल्ने प्रयास गर्दैछौं ।

अनमोल
सबैलाई थाहा भएकै कुरा हो, अनमोल सदाबहार हिरो मानिने भुवन केसीका पुत्र हुन् । अर्थात उनी भुवनको ‘लिगेसी’लाई पछ्याइरहेका छन् । अनमोलको स्टारडमले बलिउडमा जस्तै हामीकहाँ पनि ‘स्टार किड’लाई दर्शकले रुचाउँछन् भन्ने प्रमाणित भएको छ । भलै सुरुमा अनमोललाई भुवनका छोराको रुपमा चिनिन्थ्यो ।

विस्तारै यस्तो जमात तयार हुँदैछ, जो भुवनलाई अनमोलको बुबाको रुपमा चिन्न थालेका छन् । अर्थात बाबु–छोरा एकअर्काको पहिचानको सहायक बन्दैछन् । यसरी पनि बुझ्न सकिन्छ, भुवनको ख्यातीलाई अनमोलको लोकप्रियताले छाँयामा पार्दैछ । र, यहाँ भन्नै पर्ने कुराचाहीं, भुवन छोरा अनमोलको करिअरमा निकै प्रभावी देखिन्छन् । अनमोलमाथि उनको ‘होल्ड’ छ । कस्तो फिल्म खेल्ने, कस्तो नखेल्ने भन्नेमा पनि । भुवनको यो अभिभावकत्व कतिको फलदायी हुन्छ ? त्यो समयले नै बताउँनेछ तर पक्का छ कि, अनमोलको सफलताको जस भुवनले पनि पाउनेछन् । कथमकदाचित अनमोलको करिअर धरमर भयो भने अपजसको भार भुवनको काँधमा पनि पर्नेछ । तर अनमोल निकटका फिल्मकर्मीका अनुसार पछिल्लो समय भुवनको दबदबाबाट भरसक बाहिर निस्कदैछन् अनमोल । हरेक प्रोजेक्टको अन्तिम निर्णय आफैं गर्न थालेका छन् । यसलाई सुखद मान्न सकिन्छ ।

प्रदीप
प्रदीपको परिवारको फिल्मसँग दुरदुरको सम्बन्ध छैन । उनका लागि फिल्मी दुनियाँ बिल्कुलै नौलो हो । जे गर्दैछन्, आफ्नै बलबुतामा । त्यतिमात्र होइन, उनको टिकाउ फिल्मी सर्कल पनि छैन । ‘अरुको कुरा नसुन्ने’ बानीले बेलाबेलामा उनलाई समस्यामा पार्ने गरेको छ । तैपनी उनको इच्छाशक्ति र फिल्मलाई हेर्ने दृष्टिकोणचाहीं साँच्चै सह्रानिय छ । जस्तो, फिल्मको प्रि–प्रोडक्सनदेखी रिलिजसम्म दीलोज्यान दिएर लाग्छन् ।

लियोनार्दो डिकाप्रियोलाई आदर्श मान्ने भएकाले पनि हुनुपर्छ, चरित्रप्रधान सिनेमा उनको रोजाईमा पर्छ । जहाँ ‘पर्फमेन्स’ देखाउन पाइयोस् भलै त्यस्तो भूमिका हात लागिसकेको छैन । र, पनि उनको ‘जुनुन’ पक्का पनि धाप मार्न लायकको छ । यसैले हुनुपर्छ, उनलाई रणवीर सिंह र अनमोललाई रणवीर कपुरसँग तुलना गरिन्छ । र, यस्ता फिल्ममेकर पनि छन्, जो अहिले बलिउडमा सिंहले कपुरलाई उछिनेजस्तै भोली हामीकहाँ पनि प्रदीप अगाडी आउँछन् भनेर दाबी गर्छन् ।

तुलना
हालको विडम्बनाचाहीं अहिले जति पनि फिल्मको प्रस्ताव प्रदीपलाई आउँछ, त्यो भन्दा पहिले अनमोलकहाँ पुगेको हुन्छ । लिलीबिली पनि अनमोलले ‘रिजेक्ट’ गरेको फिल्म हो । प्रदीपले अब खेल्ने भनिएको सुवास गिरीको भैरवी पनि सुरुमा अनमोललाई नै प्रस्ताव गरिएको थियो । अर्थात ‘सेकेन्ड च्वाइस’ हुन, प्रदीप । अनमोलको यस्तै दबदबा रहेकाले नै हुनुपर्छ, प्रदीप प्रत्यक्ष/अप्रत्यक्ष रुपमा अनमोललाई उछिन्न मरिमेटेर लाग्छन् । जस्तो, ड्रिम्स रिलिज हुँदा अनमोल बडिगार्डसहित हल पुगे । दर्शकको अचाक्ली हुलबाट जोगिनु पर्ने बाध्यता भएकाले यसलाई सकारात्मक रुपमा बुझियो । उनकै सिको गरेजस्तै, लिलीबिलीको प्रेसमिटमा प्रदीप बडिगार्डका साथ उपस्थित गराईयो । धेरैले यसलाई अनमोलको नक्कल भनेर बुझे । यसले प्रदीपलाई नै ‘ब्याक फायर’ गर्‍यो ।

अनमोलले कृबाट २० लाख पारिश्रमिक लिए, प्रदीप पनि के कम ? लिलीबिलीबाट उनले २२ लाख रुपियाँ लिए । अहिले अनमोललाई ५० लाख रुपियाँ टक्क्राउन सुनिल थापा, मनोज राठी, साकार ओझालगाएतका फिल्मकर्मी अनमोलको घरमै पुगेका छन् । यो खबरले फिल्मवृत्तमा तरंग पैदा गरेको छ । अब प्रदीपले कति डिमान्ड गर्लान ? ५० लाख भन्दा बढी दिएर उनलाई कुनै निर्माताले फिल्म खेलाउला त ?

प्रदीपको साख धुमिल्याउने कारण अर्को पनि छ । जस्तो, मिडियामा आएका गसिपको पनि प्रतिक्रिया दिन्छन् उनी । कहिले कसको बारेमा के भन्छन्, कहिले कस्को ? पोखराको एउटा एफएममा अनमोलको बारेमा नकारात्मक टिप्पणी गरेपछि भुवनले ‘एक्सन’ लिएका थिए । लिलीबिलीको गीत रिलिज कार्यक्रममा आफूसँग यस अघि काम गरेका हिरोइनका बारेमा टिप्पणी गर्दा पनि उनी विवादमा फसे । खासमा अपरिपक्वता झल्कन्छ उनको व्यवहारमा । उनलाई स्थापित गर्ने फिल्म प्रेमगीतका निर्देशक सुदर्शन थापा र को–स्टार पुजा शर्मासँग बोलचाल समेत छैन । दीपेन्द्र सरकार फिल्म घोषणा कार्यक्रममा उनी युवराजकै पहिरनमा प्रेसमिटमा उपस्थित भए । तर यो फिल्म बन्ने कुनै छाँटकाँट छैन । अर्थात हल्का पब्लिसिटी र प्रतिक्रियामा अल्झिरहेका छन् उनी । जुन काम उनीजस्ता स्टारलाई शोभा दिदैन तर अनमोल ज्यादै तौलिएर मात्र बोल्छन् । न मिडियासँग उनको सम्बन्ध बिग्रिएको छ, न फिल्मकर्मीसँग । आर्यन सिग्देल ओझेलमा परेसँगै ‘चकलेटी लुक्स’वाला हिरो र तीनले खेल्ने फिल्मको अस्तित्व नै संकटमा परेको थियो । अनमोलले त्यसलाई ‘रिभाइभ’ गरे । तैपनी कुनै घमण्ड देखाउदैनन् । बरु कार्यक्रममै भनिदिन्छन्, “मजस्ता अरु धेरै चकलेटी हिरोहरु आउनुपर्छ । जसले नयाँ पुस्तालाई हलमा तान्न सक्छन् ।” यस्ता अभिव्यक्तिले उनीप्रतिको नजर सम्मानजनक बनाउन भूमिका खेलेको छ ।

निश्कर्ष
तर अनमोल र प्रदीपमा सबथोक भिन्नतामात्र छ भन्ने होइन । केही सकारात्मक समानता पनि छ । जस्तो, दुवैको यतिविघ्न क्रेज छ । चाहे भने महिनैंपिच्छे नयाँ फिल्म खेल्न सक्छन् तर दुवैको ध्यान यतातिर छैन । दुवै सकेसम्म कम तर स्तरिय फिल्म खेल्ने प्रयास गरिरहेका छन् । ‘होमवर्क’ गर्न खासै अल्छि गर्दैनन् । प्रेमगीत २ मा प्रदीपले केही मिनेटको एक्सन सिक्वेन्सका लागि सुगठिलो ज्यान बनाए, महिनौं लगाएर । जसले प्रसंशा पनि पायो । कृका लागि त अनमोलले आफ्नो ‘लुक्स’ नै परिवर्तन गरे । यो फिल्ममा उनको रोमान्स मात्र होइन, एक्सन पनि देख्न पाइनेछ । त्यस्तै, दुवैले पैसाको लागि म्युजिक भिडियो खेलेर आफ्नो ‘फेसभ्यालु’ घटाएका छैनन् । विज्ञापन पनि निकै ‘चुज’ गरेर मात्र खेल्छन् ।

शंकै छैन, अनमोल र प्रदीप दुवै आफ्नो करिअरप्रति संवेदनशिल र सर्तक छन् । उनीहरु लामो रेसको घोडा हुने दाउमा छन् । तर डर भनेको उही, उस्तै भूमिका र सिमित घेरामा रमाउलान् भन्ने हो । अनमोललाई भुवनको अनावश्यक हस्तक्षेप अनि प्रदीपलाई आफ्नै आलोकाचो व्यवहार घातक नबन्ला भन्न सकिन्न ।

अन्यथा उनीहरु ‘साइनिङ स्टार’ नै हुन् ।

 

 

Logo