देउवा भर्सेज प्रकाशमान

देउवा भर्सेज प्रकाशमान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं– कांग्रेस विभाजन गरेर कांग्रेस (प्रजातान्त्रिक) नामक नयाँ पार्टी बनाउँदा शेरबहादुर देउवा सभापति र प्रकाशमान सिंह महामन्त्री थिए । कोइरालाले ‘हेपेको’ भन्दै कांग्रेस पार्टी फुटाएका देउवा र सिंह कालान्तरमा पार्टीमा त फर्किए तर अलग गुटमा बसे ।

देउवाले आफू नेतृत्वको गुटलाई निरन्तरता दिए भने सिंह तत्कालिन महामन्त्री सुशील कोइरालाको गुटमा पसे । देउवाले तिनै कोइरालासँग चुनाव हार्दा सिंह भने देउवा गुटका विमलेन्द्र निधिलाई हराउँदै महामन्त्री निर्वाचित भए ।

देउवालाई सभापति बनाउन अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, फरमुल्लाह मन्सुरलगायतका नेताहरुले गुट परिवर्तन गर्दा कोइराला समूहमै रहे । देउवाका प्रतिस्पर्धी रामचन्द्र पौडेललाई जिताउन हात धोएर लागे ।

कुनै समय एकै गुटमा रहेका देउवा र सिंहबीच कटुतापूर्व अवस्था सिर्जना भएको छ । कांग्रेस संसदीय दलको निर्वाचनमा सभापति देउवासँग पूर्वमहामन्त्री प्रकाशमान सिंह भिड्ने करिव करिव पक्का भएको छ । दुई दिनअघिको केन्द्रीय समितिको बैठकमा देउवाप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका सिंहले संसदीय दलको नेतामा देउवालाई चुनौति दिन लागेका हुन् ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसले २३ सिट जितेको छ । ४० सिट समानुपातिकतर्फ पाउनेछ । ६३ सदस्यीय संसदीय दलको नेता निर्वाचित हुन कम्तीमा ३२ मत आवश्यक पर्छ ।

समानुपातिक सांसद देउवा समूहबाटै बढी हुने निश्चित भएपछि संसदीय दलको निर्वाचनमा संस्थापन पक्ष नै हाबी हुने छ । प्रत्यक्ष निर्वाचनमा नेता रामचन्द्र पौडेल समूहका धेरै नेता विजयी भएका छन् । पौडेलसहित कृष्णप्रसाद सिटौला, शेखर कोइरालालगायतका नेताहरु पराजित भएकाले उनीहरु निकट नेताको निर्णायक मत रहन्छ । तर, बन्द सूचीको प्राथमिकताका आधारमा सांसद् छनोट भएमा देउवाको पक्षमा ३७ र पौडेलको पक्षमा २२ सांसद् हुनेछन् ।

प्रत्यक्षतर्फ जितेका २३ मध्ये सभापति देउवा पक्षका ९ जनामात्रै सांसद छन् ।

नेता कृष्णप्रसाद सिटौला पक्षका तीन सांसद प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । पौडेल प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनको खेमाबाट महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादव संसदीय दलको दाबेदार रहे पनि सिंहलाई पौडेलले नै ‘ग्रीन सिग्नल’ दिइसकेका छन् ।

 

Logo