एक पटक हेर्न जाँदा हुन्छ अमेरिका

एक पटक हेर्न जाँदा हुन्छ अमेरिका

केन्द्रबिन्दु
0
Shares

तीन साता अमेरिका बसेर फर्किइन् कलाकार संघकी महासचिव तथा अभिनेत्री सरिता लामिछाने । सानो पर्दाकि चर्चित र स्थापित यी अभिनेत्री किन फर्किइन् ? र, अरु किन फर्किदैनन् ? आखिरमा के छ अमेरिकामा ? र, के छैन ? प्रस्तुत छ, यिनै विषयमा केन्द्रीत रहेर गरिएको ५ प्रश्न –

१. तपाईं किन फर्किनु भयो ? र, अरु कलाकार किन फर्किदैनन् ?
– किनभने म फर्किने गरी नै गएकि थिएँ । मैले अमेरिका बस्ने वारे अहिलेसम्म एकपटक पनि सोचेकी छैन । बिसुद्ध पारिवारिक भेटघाटकोलागी गएकी थिएँ ।

अरु किन फर्किदैनन् भन्ने सम्बन्धमा मैले अड्कल मात्र गर्ने हो । कतिपय अमेरिका पुगेकाहरु फर्किनु भएको छैन । र, कतिपय केही समय र धेरै समय बसेर फर्किनु पनि भएको छ । संसारकै सवैभन्दा शक्तिशाली देश, सवैभन्दा विकशीत देश र सवैभन्दा राम्रो पद्धति भएको देश जाने र बस्ने रहर धेरैलाई हुन्छ जस्तो लाग्छ । समग्रमा भन्नुपर्दा आ–आफ्नो योजना, बाध्यता र रहरले बस्नु पर्ने हुन्छ होला ।

२. कस्तो रछ अमेरिका ? तपाईंले के देख्नु भयो र के देख्नु भएन ?
– बयानगरी नसक्नु रछ अमेरिका । ‘सिस्टम’ मा चलेको देश भनेर जसरी सुनेको थिएँ, त्यस्तै रछ । त्यहाँ पर्दा पछाडि पनि ‘सिस्टम’ छ । सभ्यताको उचाइ लिइसकेको रहेछ । नियम–कानुन त जनताको मन–मस्तिष्कमा सेट भइसकेको पाएँ ।
मैले त्यहाँ गरिवहरु देखिनँ । यहाँ जस्तो जनताकम र राजनीतिक पार्टीको झण्डामुनी बस्नेहरु पनि देखिनँ ।

३. अमेरिकामा नेपालीहरुको अवस्था चाहिं कस्तो रहेछ ?
– म जुन सोसाइटीमा पुगेँ त्यहाँ रैथाने अमेरिकनहरु जस्तै सानले बस्ने नेपालीहरु थिए । संस्कार र हाम्रो संस्कृतिलाई अक्षरस पालना गरिरहेको समाजमा पुगेँ म । स्वस्थानी ब्रत बसेका, बेलुका स्वस्थानी बाचन गर्ने, सत्सङ गर्ने आदि । मेरी जेठानीले सत्सङगर्दा एउटा ‘ग्रुप म्यासेज’को भरमा ५० जना नेपाली दाजु–भाइ, दिदी–वहिनी आइपुग्नु भएको थियो । म उहाँहरुको उच्चकोटीको सोच र देशप्रेम, संस्कारप्रेम देखेर छक्क परेँ ।

४. अमेरिकामा सवैकुरा राम्रो मात्र छ कि नराम्रो पनि ?
– यहाँ धेरै कुरामा हामी स्वतन्त्र छौं । आज अल्छी लाग्यो भनेर सिरक ओढेर सुतिदिन्छौं । घण्टौं गफिएर बसिदिन्छौं । त्यहाँ यो संभव छैन ।
यहाँ हामी मर्जीका मालिक हौं । यसलाई यदी तपाईं राम्रो मान्नुहुन्छ भने त्यो राम्रो हो । नराम्रो भन्नुहुन्छ भने नराम्रो हो । हेराई र भोगाई आ–आफ्नो हुन्छ ।

५. अमेरिका जान दाम्लो चुडाउनेहरुलाई के भन्नुहुन्छ ?
– एक पटक हेर्न र डुल्न जाँदा हुन्छ । त्यहाँको समृद्धि, विकास, चेतनाको स्तर र समग्रमा ‘सिस्टम’ हेर्न जान खोज्नु गलत होइन । तर दाम्लै चुडाएर जान चाहिं किन खोज्छन् ? यो चाहिं मलाई थाहा छैन । सायद अमेरिका अवसरहरुको खानी हो भन्ने कुरा भएर पनि होला ।

 

 

Logo