प्रथम उपराष्ट्रपति परमानन्द झा अहिले ‘रिटायर्ड’ जीवन ब्यथित गर्दैछन् । उपराष्ट्रपति हुनुअघि उनी न्यायाधीश थिए । उनले न्याय क्षेत्रमा समेत चार दशक विताएका थिए ।
‘रिटायर्ड’ जीवन कसरी वितिरहेको छ ? राष्ट्रपति हुने इच्छा छ कि छैन ? आदि उनको जीवनमा महत्वपूर्ण विषयमा उनै प्रथम उपराष्ट्रपति झासँग केन्द्रबिन्दु टिभी र केन्द्रबिन्दु डटकमकालागी एस. के. बैश्यले गरेको कुराकानीको सम्पादीत अंश ।
हिजोआज कसरी दिन वितिरहेका छन् ?
– दिनहरु हाँसी–खुसी नै बितिरहेका छन् । जाडोको मौसम भएकोले घरभन्दा बहिरा धेरै जाँदिन । घरमै कोई आएको बेला उहाँसँग कुराकानी गरेर बस्छु । तर, कुनै ठुला–ठुला नेताहरुसंग खासै सम्पर्क वा कुराकानी भएको छैन् । किनभने म पूर्व उपराष्ट्रपति भएको हुनाले भेटघाटकालागी त्यति मान्छेहरु पनि आउँदैनन् । तैपनि इच्छा राख्नेसँग भेटघाट गरिनै रहेको छु ।
मसँग सम्पर्क गर्ने ब्यक्तिहरुसँग कुराको केन्द्रबिन्दु एउटै मात्र हुँदैन । कोही आफ्नो कार्यक्रमको विषयमा, कोही सुझाव लिन र कोही अहिलेको राजनीतिको अवस्था बुझ्न आउनु हुन्छ । मधेशमा कस्तो राजनीति चालिरहेको छ ? लगायतको विषयमा समेत भेटघाट हुन्छ । यसैगरी दिन बितिरहेको छ ।
पहिला चर्चामा आइरहनुहुन्थ्यो, अहिले गुमनाम जस्तो हुनुभएको छ ?
– यसको दुईवटा कारण हुन सक्छ । जो चर्चामा आइराख्छन् यसको पछाडि कुनै पदको ‘ट्याग’ झुन्डिएको हुन्छ । अहिले जति पनि नेता हुनुहुन्छ चाहे बामपन्थी वा लोकतन्त्रिक नै, उहाँहरुको पछाडि कुनै न कुनै पदको ट्याग झुन्डिकै छ ।
कसैलाई चर्चामा ल्याउन वा राख्नको लागि सञ्चार माध्यमले ठुलो भूमिका खेल्दछ । सञ्चार माध्यम पनि जो हाईप्रोफाईल मान्छे हुन्छ उसैको पछाडि बढि जान्छ । त्यसैले कसैको नाम चल्नु वा गुमनाम हुनुमा सञ्चार माध्यमको ठुलो भूमिका हुन्छ ।
म गुमनाम भएको त छैन्, अहिलेको वर्तमान समयमा सञ्चार माध्यममा नदेखिदै गुमनाम त भईन्न । मलाई सञ्चार माध्यममा जानु पर्ने कुनै आवश्यकता पनि छैन् । किनकी म उपराष्ट्रपति भएदेखि सञ्चार माध्यमलाई राम्रो सँग चिन्दछु ।
सञ्चार माध्यम कसरी सञ्चालन हुन्छन् ? काम के हो ? कसैलाई उचाल्न के कस्तो गतिविधि गर्छन ? किन गर्छन ? यी कुराहरु मलाई राम्रो सँग थाहा छ । त्यसैले सञ्चार माध्यमदेखि मलाई ‘फ्रस्टेसन’ छ । म यसमा कुनै ध्यान दिन्न । कुनै सञ्चार माध्यम आएर मसँग कुरा गर्न खोज्छ भने म कुरा पनि गर्छु । सहजता पुर्वक जे सोध्नुहुन्छ त्यसको बारेमा केही न केही जानकारी पनि दिन्छु ।
अव ‘रिटायर्ड’ हुनुभएको हो ?
– उपराष्ट्रपतिबाट म निवृत भएको हो । नेपाल सरकारको साढे ४१ बर्ष कानुनको क्षेत्रमा सेवा गरेँ । त्यसबाट ‘रिटायर्ड’ भएको हुँ ।
उपराष्ट्रपति बाट निवृत भएको अवस्थामा अहिले तपाईलाई कस्तो महसुस भई रहेको छ ?
– उपराष्ट्रपति बाट निवृत भए पछि राम्रो, आनन्द महसुस भईरहेको छ । पहिला उपराष्ट्रपतिहुँदा जुन एउटा बन्देजको जीवन थियो । त्यो बन्देजबाट उन्मुक्ति भएको जस्तो लाग्छ मलाई । त्यसैले अहिले मेरो जीवन सुखदायी बनेको छ ।
तपाईंले वर्तमान उपराष्ट्रपतिसँग आफूलाई तुलना गरेर हेर्नुभएको छ ?
– मैले तुलना गरेको छैन् र मलाई तुलना गर्न आवश्यक पनि छैन् । तुलना गर्नलाई कुनै एउटा विट हुनु पर्छ जस्तै शिक्षा, स्वास्थ्य लगायतको विषय । तर उपराष्ट्रपतिको हकमा मलाई तुलना गर्न आवश्यक छैन् । मेरो ब्याग्राउन्ड अलग थियो, उहाँको ब्याग्राउन्ड अलग छ । त्यसैले मलाई तुलना गर्न आवश्यक छैन् ।
एउटा तुलनात्मक कुरा चाहिं के हुन् सक्छ भने काम, कर्तब्य र अधिकारको विषयलाई लिएर । तर, उपराष्ट्रपतिको कुनै काम नै छैन् । उपराष्ट्रपतिको काम–कर्तब्य नभएको बेलामा तुलना गर्नुको अर्थ हुँदैन । त्यसकारण मैले धेरै राम्रो काम गरँे, उहाँले नराम्रो काम गर्नुभयो वा कामै गर्नुभएन् भन्नुको के अर्थ ?
उपराष्ट्रपति हुनुभयो, राष्ट्रपति हुने इच्छा छैन ?
– छैन । राष्ट्रपति बन्ने इच्छा छैन । कुनै चिजको पनि एउटा समय हुन्छ । यो मुलुकमा उपराष्ट्रपति पदको अनुभव गर्ने ब्यक्तिलाई राष्ट्रपति बनाउने कुरा यो मुलुकका राजनेता तथा नेताहरुले त्यतिखेर उठाई दिएको भए त हुन्थ्यो । तर अहिले जुन किसिमको राजनीतिक समीकरण बनिरहेको छ, त्यसमा संभव छैन । र, इच्छा पनि छैन ।
राष्ट्रपति बन्नु त राम्रो हो, किन इच्छा छैन ?
– इच्छा राखेर मात्र पनि त हुदैन । इच्छा राख्ने भन्ने कुरा के हुन्छ भन्दा खेरी त्यसको पछि– पछि दौडनु पर्छ । म दौड्ने पक्षमा छैन ।
प्रतिनिधिसभाको चुनावी परिणामलाई कसरी हेरिरहनु भएको छ ?
– यो परिणाम त के हो भन्दा खेरी निर्वाचन हो । निर्वाचनमा जनताले जसको पक्ष लिएर आफ्नो मत दिए । त्यसको नेताहरुले जीते । जसको कदर गर्नैपर्छ ।
कतैवाट कुनै ‘पोष्ट’ कोलागी ‘अफर’ आएको छैन ?
– त्यस्तो कुनै अफर आएको छैन । यो देशको उपराष्ट्रपतिको पदमा काम गरेर आई सकेको अवस्थामा मेरो अनुकुलता अनुसारको कतै बाट अफर आएको छैन । मैले बामपन्थीको सपोर्टरमा कुनै काम गरेको छैन । नत मैले लोकतान्त्रिक पार्टीहरुको सपोर्टमा कुनै काम गरेको छु । उपराष्ट्रपति खाइसकेको हुनाले अव त्योभन्दा माथिको ‘पोष्ट’ भनेको राष्ट्रपति मात्र हो । जसमा मेरो इच्छा मरिसक्यो ।





























प्रतिक्रिया