केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ८ मंसिर ।
काठमाडौं र सिन्धुपाल्चोकको सिमाना क्षेत्रमा दुई गाविस थिए, लप्सीफेँदी र नाङलाभारे । काठमाडांै मध्यशहरका धेरैका लागि यति विकटका बासिन्दा पनि आफ्नै जिल्लावासी हुन् भन्न कठिन लाग्थ्यो कुनै समय । तर के चाहिँ बिर्सनु हुँदैन भने एमाले नेता मदन भण्डारीले पार्टीको पाँचौं महाधिवेशन अघि बिताएको ठाउँ पनि हो यो । वामपन्थी विचारकहरूको मत के पनि हो भने भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) ड्राफ्ट गर्दा बसोबास गरेको स्थान पनि हो यो ।
ती दुवै गाविस अहिले शखरापुर नगरपालिकामा पर्दछन् ।
यही शखरापुर नगरपालिकासहित महानगरका ९ र ३२ नम्बर वडाका साथै मनोहरा कागेश्वरी नगरपालिकाका वडा नम्बर ४ देखि ९ नम्बर काठमाडौंको दुई नम्बर क्षेत्रमा समेटिएका छन् ।
विसं २०६४ को संविधान सभा निर्वाचनदेखि दुई नम्बर क्षेत्रमा रहेको यस क्षेत्रका सबै स्थान यसअघि एक नम्बर क्षेत्रमा थिए । २३ वर्ष लामो कम्युनिस्ट प्रभावलाई निस्तेज पार्दै नेपाली काँग्रेसका दीपक कुइँकेल यो क्षेत्रबाट निर्वाचित पछिल्ला विधायक बनेका थिए । कुइँकेलले त्यो प्रभाव यथावत् राख्लान् ? अथवा, वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एमाले नेता माधव कुमार नेपाल सुरक्षित रहनेछन्् ?
प्रस्तुत छ, आसन्न मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा काठमाडौं दुई नम्बर क्षेत्रको अवस्थाको सिंहावलोकन गर्दै यो रिपोर्ट ः
इतिहासका पन्ना फर्काउँदा, यस क्षेत्रमा २०६४ को सम्विधानसभा निर्वाचनमा खासै नाम नसुनिएका र अपत्यारिला जस्ता लाग्ने माओवादी उम्मेदवार झक्कु प्रसाद सुबेदीले सनसनी फैलाएका थिए । यसै क्षेत्रमा २०७० को निर्वाचनमा एमाले उम्मेदवार माधव नेपालले नेपाली कांग्रेस उम्मेदवार प्रतिमा गौतमलाई फराकिलो अन्तरले हराए । यसपछि रौतहट र काठमाडौमा गरी दुई स्थानमा जित हात पारेका नेपालले यो क्षेत्र छाडे । त्यसपछि भएको उप–निर्वाचनमा नेपाली कांग्रेस उम्मेदवार दीपक प्रसाद कुइँकेलले जित हात पारे ।
यसपटक उनै कुइँकेलको सामना एमाले नेता नेपालले गर्दैछन् ।
यो क्षेत्रको प्रदेश ‘ख’ मा शंखरापुर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाका वडा नम्बर ४ देखि ९ सम्म रहेका छन् । प्रदेश ‘क’मा काठमाडौ महानगरपालिकाको वडा नम्बर ९ र ३२ रहेका छन्् ।
यस पटक न त कुइँकेलको पक्षमा गत उप–निर्वाचनको झै सहज अवस्था छ, न नेपालको पक्षमा गत सम्विधान सभाको निर्वाचनको झंै लहर नै । चार वर्षअघि राष्ट्रिय स्तरका नेता भएका कारण नेपालप्रति कांग्रेस र राप्रपा समर्थितको पनि सद्भाव रहेको थियो भने उप–निर्वाचनमा त्यो सद्भावको त कुरै छाडौं, अर्का एमाले नेता कृष्णगोपाल श्रेष्ठलाई उम्मेदवार बनाए वापत आक्रोश पनि त्यत्तिकै थियो ।
विसं २०४८ मा तत्कालीन पार्टी महासचिव मदन भण्डारी र कृष्ण प्रसाद भट्टराईबीच चुनावी प्रतिस्पर्धा भएको यो क्षेत्रका बासिन्दाले बारम्बार उपनिर्वाचनमा सहभागिता जनाए पनि बीचमा एकपटक नारायण ढकालबाहेक आफ्नै क्षेत्रका विधायक पाएका थिएनन् । प्रायः हाइ प्रोफाइल नेता उठ्ने यस क्षेत्रमा क्षेत्रबाहिरका कृष्णगोपाल श्रेष्ठ उम्मेदवार भएपछि आक्रोश झनै बढेको होे । यसरी आक्रोशित हुनेमा एमाले कार्यकर्ता नै धेरै थिए । त्यही कारण हो जसले गर्दा कुइँकेलले सहजै श्रेष्ठलाई पराजित गरे । तर, स्थानीय निर्वाचनमा एमालेले शंखरापुर र मनोहरा कागेश्वरी नगरपालिका मात्र होइन, महानगरका दुईवटै वडाका वडाध्यक्षमा पनि जित हात पारेको हो ।
प्रदेश ‘ख’ मा पर्ने शंखरापुर नगरपालिकामा लम्सीफेदी, नाङलाभारे र सुनटोल जस्ता स्थान यसै नगरपालिकामा रहेका छन् । यसैगरी, राप्रपाको प्रभाव रहेको बज्रयोगिनी पनि यसै नगरपालिकामा रहेको छ । बामगठन्धनका कारण यो नगरपालिकामा नेपाल स्वभाविक बलिया उम्मेदवारको रुपमा रहेका छन् ।
गत स्थानीय निर्वाचनमा मेयर पदमा एमाले उम्मेदवारले ४८७९ मत पाइ विजयी हुँदा कांग्रेसका उम्मेदवारले २९४७ मत पाएका थिए । गठबन्धनका अन्य दल माओवादी र राप्रपाको प्रभाव भने बराबर रहेको छ । स्थानीय निर्वाचनमा माओवादी उम्मेदवारले २४३६ तथा राप्रपा उम्मेदवारले २४६१ मत पाएका थिए ।
मनोहरा कागेश्वरी नगपालिकामा वडा नम्बर ४ देखि ६ नम्बर वडा डाँछीदेखि साँखुबीचका क्षेत्र हुन् । यहाँ काग्रेस र एमाले हाराहारीको अवस्थामा रहेका छन् । माओवादीभन्दा राप्रपाको प्रभाव रहेको यो ठाउँ काग्रेस उम्म्मेदवार दीपक कुइँकलेको पनि राम्रो प्रभाव भएको ठाउँ हो । उनी यहाँका स्थानीय पनि हुन् । यस कारण यी तीन वडामा नेपाललाई कुइँकेलले पछि पार्ने सम्भावना नै प्रबल मानीन्छ । यसै नगरपालिका वडा नम्बर ७ देखि ९ का बीचमा एमाले र कांग्रेस हाराहारी भए पनि वाम गठबन्धनका कारण नेपाल बलियो मानिँदैछन्् । पुरानो गोठाटार गाविस वामपन्थीको प्रभाव क्षेत्रका रूपमा रहेको बिर्सनु हुँदैन ।
प्रदेश ‘क’ मा रहेको महानगरको वडा नम्बर ९ कांग्रेसको परम्परागत बलियो स्थान भए पनि गत स्थानीय निर्वाचनमा यस्तो देखिएन । तथापि आसन्न प्रतिनिधि सभा निर्वाचनमा कुइँकेलले यो अवस्थामा फरक ल्याउन सक्ने सम्भावना भने छ । एउटा तथ्य के हो भने वर्तमान मेयर विद्यासुन्दर शाक्यको कार्यप्रति काठमाडौवासी सन्तुष्ट छैनन् । यसैकारण महानगरमा स्थानीय निर्वाचनभन्दा यो राष्ट्रिय निर्वाचनमा एमालेको प्रभाव कम हुने सम्भावनालाई नकार्न मिल्दैन ।
वडा नम्बर ३२ (कोटेश्वर क्षेत्र) वामपन्थीको प्रभावमा रहेको कारण यही वडा नेपालका लागि निर्णायक साबित हुने देखिन्छ । गत स्थानीय निर्वाचनमा यो वडामा एमाले उम्मेदवार १८०० भन्दा बढी मत अन्तरमा विजयी भएका थिए । यहाँ पनि माओवादी केन्द्र र राप्रपाको प्रभाव बराबर रहेको छ । सधैँ अन्य क्षेत्रका व्यक्तिलाई अवसर दिएको आक्रोश स्थानीय निर्वाचनका कारण कम भएको छ । सांसदका आकांक्षी केही एमाले कार्यकर्ता स्थानीय नेतृत्व सम्हालेर बसेका छन् ।
प्रदेश उम्मेदवार
प्रदेश ‘क’ मा वामपन्थी गठबन्धनबाट एमालेका सानु कुमार श्रेष्ठ उम्मेदवार छन् ।
यसैगरी, प्रदेश ‘ख’ मा मणिराम फुयाँल उम्मेदवार छन् । नेपाली काँग्रेसबाट ‘क’ मा लोकेश ढकाल तथा ‘ख’ मा मनहरि खड्का उम्मेदवार रहेका छन् । विक्रम संवत् ५० को दशकमा कांग्रेसको एक नम्बर क्षेत्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्दै यस क्षेत्रका बारे धेरै जानकारी राख्ने ढकालको उम्मेदवारीले कुइँकेललाई केही फाइदा भने पु¥याउने देखिन्छ । यसैगरी, एमालेले ‘ख’ प्रदेशमा उम्मेदवार बनाएका फुयाँल कुइँकेलको क्षेत्रमा उनको प्रभाव रोक्न उपयोगी हुने अपेक्षा एमालेले गरेको छ ।
माधव नेपालका आधार
पूर्व प्रधानमन्त्री
राष्ट्रिय स्तरका प्रभावशाली नेता
वाम गठबन्धन
कोटेश्वर र उत्तरी काठमाडौंमा रहेको वामपन्थी प्रभाव
ड्र ब्याक
गत निर्वाचनमा जितेर त्यो स्थान छाडेपछि क्षेत्रबाहिरका (कृष्णगोपाल श्रेष्ठ) उम्मेदवार उठाएकाले स्थानीय जनमा पलाएको निराशा
दीपक कुइँकेल
स्थानीय स्तरमा सक्रियता
साँखुदेखि डाँछीसम्मको लोकप्रियता
लोकतान्त्रिक गठबन्धन
ड्र ब्याक
राष्ट्रिय राजनीतिमा कम चर्चित





























प्रतिक्रिया