‘म सधैं ओखलढुंगेली जनताको गोठालो र एम्बुलेन्स भएर सेवा गरिरहनेछु ।’

‘म सधैं ओखलढुंगेली जनताको गोठालो र एम्बुलेन्स भएर सेवा गरिरहनेछु ।’

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २३ कात्तिक ।

सामाजिक रूपमा हरेक व्यक्तिसँग घुलमिल हुने र प्रस्ट विचार दिन सक्ने नेताका रूपमा रामहरि खतिवडालाई लिने गरिएको छ । यतिबेला पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाको चर्चा छ । एमाले–माओवादीको वाम गठबन्धनबाट उम्मेदवार बनेका यज्ञराज सुनुवारसित चुनावी प्रतिस्पर्धा गरिरहेका खतिवडा हाल आसन्न चुनावकै प्रचारप्रसारमा व्यस्त छन् । चुनावको मिति नजिकिँदै जाँदा सुनुवार र खतिवडाको प्रतिस्पर्धा पनि उत्कर्षमा पुगेको छ । यसै सेरोफेरोमा रहेर ओखलढुंगा जिल्लालाई फोकस गर्दै नेता खतिवडासँग गरिएको कुराकानी :

चुनावको मिति नजिकिँदै जाँदै छ, प्रचारप्रसारको अवस्था कस्तो छ ?
वास्तवमा मैले चुनाव प्रचारप्रसारको काम पश्चिमी क्षेत्रबाट सुरु गरेँ । ओखलढुंगाको पश्चिमी क्षेत्र अलिकति पिछडिएको क्षेत्र पनि हो । त्यसैले मैले गाम्नाङ, टारकेराबारी, पोकली, नर्मदेश्वर, यसम हुँदै रगनी खिजीचण्डेश्वरी, खिजीफलाटे, खिजीकाति, रावादोलु, भुसिङ्गा सकेर म आज घोराखोरी आइपुगेको छु रानीवन हुँदै । जनमत असाध्यै उत्साहजनक पाएँ । मैले २०७० सालमा पनि यत्ति उत्साह मेरो पक्षमा देखेको थिइँन । झन खिजीफलाटे पुगेपछि एउटा ऊर्जा मिल्यो ।

हिजो केही साथी जनजातिका नाममा मैले सुनुवार भएर सुनुवारलाई भोट हाले भन्ने साथीहरु पनि पाएको थिएँ र म जाने बित्तिकै रगनी साल्पुका मानबहादुर सुनुवारले भन्नुभयो– बाबु मैले अघिल्लो चोटी यज्ञराज सुनुवारलाई भोट हालेको थिएँ सुनुवार भनेर, यस चोटी तिमीलाई हाल्ने निर्णय गरेँ । तिमीले राहत हेलिकप्टरमा ल्याएर पनि हामीलाई खुवायौं, नागरिकता घरमै दियौं, पासपोर्टको सिफारिस विवरण बनाई दियौं, जग्गाको रजिष्ट्रेशन पास विवरण भरि दियौं, अपाङ्ग परिचय–पत्र बनाई दियौं । यस्तो गर्ने नेता आजसम्म भोट हालेर पाएको थिइँन, यस्तो मान्छे भेट्न पाउँछु कि पाउँदिन भन्ने थियो, पाएँ । मेरो भोट यसपटक तिमीलाई भनेर उत्साह बढाईदिनुभयो ।

त्यसपछि कातिमा चाहि त्यत्तिकै ठूलो संख्यामा माओवादी कार्यकर्तालगायत वडाध्यक्ष्मा उठेका साथीहरु नेपाली कांग्रेसमा प्रवेश गर्नुभयो । त्यसपछि फेरि रावादोलु गएँ । त्यहाँ भिमबहादुर बस्नेतलगायतका साथी नेपाली कांग्रेसमा प्रवेश गर्नुभयो । त्यसपछि भुसिङ्गा गएँ, त्यहाँ त्यत्तिकै उत्साहजनक थियो । खिजीफलाटेमा नयाँ शक्तिका अध्यक्षसहित नेपाली कांग्रेसमा प्रवेश गर्नुभयो । त्यसले गर्दाखेरी मलाई उत्साहपूर्ण र सारै उत्साहित भएर अहिले म २ नम्बरको फेदीगुठ हुँदै ओखलढुंगा पुग्दै छु ।

ओखलढुंगाका मतदाताले तपाईंलाई किन भोट दिने ?
ओखलढुंगा जिल्ला प्रजातन्त्र पार्टीको किल्ला हो । हामीले धेरै न्याय गर्न सकेनौं होला । म निर्वाचित भइसकेपछि सुनकोशीको पुल जोड्ने काम गरेर यसैको पदमा आज ओखलढुंगामा सुनकोशीको पुल तरेर दुई दिन लाग्ने बाटोमा ७-८ घण्टामा पुग्न सक्ने भयौं । त्यति मात्र हैन लिखु–देम्बा बहुवर्षीय आयोजना सुरुवात गरेर नवलपुरदेखि साँघुटारसम्म १७ किलोमिटरमा १५ किलोमीटरमा सिरिसे पुग्ने भयौं । सिरिसेको पुल निर्माण सम्पन्न गर्दैछौं । त्यतिमात्रै हैन, तपाईंलाई म अनुरोध गर्दछु– सिरिसे, ढाँडे, रगनी, फलाटे हुँदै रावादोलुसम्म जोड्ने बाटाका लागि मैले तत्काल ५० लाख डिपिआर तयार गरेर २५ करोड रुपैयाँ छुट्याइएको छ । अहिले दुधकोशी ‘एक्वायर’को बाटो सुरुवात गरेको छु । मोलुङ ‘एक्वायर’ को बाटो सुरुवात गरेको छु । रम्बुवा हाइड्रोपावर बन्दैछ । नवलपुरमा झण्डै २५ करोडको पुल बन्दैछ । त्यहाँदेखि पलापु हुँदै ककनी जाने बाटोका लागि २५ करोड रकम छुटिइसकेको छ ।

त्यसैगरी साँघुटार–घोडाखरी–ओखलढुङगाको सडक (पक्की) पीच गर्नका लागि ७५ करोड छुट्याइएको छ । आज म गाडी लिएर ओखलढुंगा आउँदा डाइरेक्ट साँघुटारसम्म आउने सपुरको व्यवस्था भइसकेको छ । सायद मैले मेहनत नगरेको भए आउँदैनथ्यो । त्यस्तै घोडाखरी–बिलन्दु–श्रीचौर सडक निर्माणका लागि ५० लाख छुट्याएर डीपीआर भएर दसौं करोड रकम त्यहाँ जाँदैछ । समग्रमा भन्दा ओखलढुंगाको जिल्लाको विकास निर्माण र ओखलढुंगाको उन्नति प्रगतिका लागि ओखलढुंगेली जनताले मलाई भोट हाल्नेछन् ।

मैले आजसम्म पाँचवर्षको अवधिसम्म संसदको तलबभत्ता बिना गाउँमा पुगेँ । जनताको हकहितका लागि सधैं पुगेँ । अप्ठ्यारो परेको बेला हेलिकप्टरबाट राहत लगेर घरघरमा दिएँ । भुकम्पग्रस्त जिल्ला बनाईँ दिएँ । त्यतिमात्र हैन अप्ठ्यारो परेका बेला मलाई ओखलढुंगाको एम्बुलेन्स भनेर जनताले चिनेका छन् । र, जनताले पनि मैले गरेको कामको मुल्याङ्कन गर्नु हुनेछ भन्नेमा विस्वस्त छु ।

तपाईं के वस्तुस्थितिलाई आफ्नो जितको आधार देख्नुहुन्छ ?
जनता हो । जनमत हो । जनता मेरो पक्षमा उर्लिएको छ । जनताले अरुबेला राजनीतिक पार्टी हेर्छन्, जाति हेर्छन् र चुनावको बेला काम गर्न सक्ने मान्छे हेर्छन् । अहिले ओखलढुंगेली जनताले जहाँ जाउँ रामहरि खतिवडा, जहाँ जाउँ रामहरि खतिवडा भनेर भनेका छन् । त्यसै पनि मैले जित्ने आधार भनेको जनताको हो । जसको सेवा मैले गरेको छु र मलाई जनताले मत प्रदान गर्नेछन् ।

चुनाव जित्नुभयो भने ओखलढुंगेली जनताले तपाईंबाट के पाउँछन् ?
म पूर्वको हुम्ला भनेर चिनिएको ओखलढुंगा जिल्लालाई अब ओखलढुंगा जिल्ला पूर्वको मात्रै होइन, ४-५ वर्षको अवधिमा देशको एउटा नमुना जिल्ला बनाउने छु । मलाई योजना कहाँबाट राख्नुपर्छ र कहाँबाट पु¥याउनुपर्छ गाउँमा भन्ने कुरा राम्ररी थाहा छ । मलाई कर्मचारीतन्त्र, यहाँका पुलिस प्रशासन र समग्र जिल्लाको बारेमा धेरै थाहा भएकोले यी कामहरु म गर्न सक्छु भन्ने विश्वास छ । भोलि ओखलढुंगालाई उज्यालो बनाउन, लिखु–४ सञ्चालन गर्न, रम्बुवामा विद्यतु उत्पादन गर्न र समग्र ओखलढुंगाको उन्नति, प्रगतिका ज्ञाता युवाहरुलाई स्वदेशमै रोजगारीको सृजना गर्नका लागि मेरा आधार हुन, मेरो जित्ने आधार पनि त्यही हो र मैले काम पनि त्यही नै हो ।

प्रतिस्पर्धी त हेभिवेट नै पाउनुभएको छ, यो प्रतिस्पर्धालाई कसरी मूल्यांकन गर्नुभएको छ ?
म सँग चुनाव लड्दाखेरी उहाँको पनि एउटा ठूलो इज्जत रह्यो । म उहाँलाई धन्यवाद दिन चाहन्छु । तर म ओखलढुंगा जिल्लाको विकास निर्माणका काममा जनताका घरघरमा हेलिकप्टर लिएर हिँडिरहँदा उहाँ ट्वाइलेट उद्घाटन गर्दै हिँड्नुहुन्थ्यो । म तपाईंलाई अनुरोध गर्दछु, संविधान सभामा सबभन्दा पहिला संविधान निर्माण गएका मान्छेहरु रेष्टुरेन्ट उद्घाटन गर्न पुग्नुभो । मैले प्रतिस्पर्धीलाई त कमजोर सम्झेको छैन तर जनताको नजरमा ९० प्रतिशत जनता मेरो पक्षमा छन् भने उहाँको पक्षमा ५÷७ प्रतिशत, त्यसैले ठूलो प्रतिस्पर्धी भनेर सम्झिएको छैन ।

दोस्रो संविधान सभा निर्वाचनका बेला तपाईंले ओखलढुंगेली जनतामाझ गरेका वाचा कति पूरा गर्नुभयो त ?
झन्डै झन्डै ९० प्रतिशत पूरा गरेको छु । तलब भत्ता सबै गाउँमा पुर्याइदिन्छु भनेको थिएँ । सबै गाउँमा पु¥याउन सकेको छैन । तर भूकम्पको बेला घरघरमा चामलका बोरासमेत पुर्याइदिएको छु । सुनकोशीको पुल बनाउन भनेको थिएँ, बनाइदिएँ । नवलपुरमा पुल बनाएँ । मैले आफ्ना बाचा पूरा गरेको छु ।

अन्तमा, थप केही भन्न चाहनुहुन्छ कि ?
समग्र ओखलढुंगाको उन्नति, प्रगति मेरो लक्ष्य हो । सबैले जाति र पार्टीभन्दा माथि उठेर काम गर्न सक्ने व्यक्तिलाई मतदान गर्नुस् । म सधैं ओखलढुंगेली जनताको गोठालो र एम्बुलेन्स भएर सेवा गरिरहनेछु ।

Skip This
Skip This
Logo